जुत्ता सिउने जुँगे दाई भन्छन् ‘काम गर्ने सबै कामी’
30-May-2015

madhav-bhusal

– माधव भुसाल

पोखराको महेन्द्रपुलस्थित घरका अधिकांश सटरहरु औषधी पसलहरुले भरिएका छन् । नेपाल टेलिकम ग्राहक सेवा केन्द्रको २ तले भवन पनि त्यही छ । त्यही टेलिकमको पर्खालमा आड लिएर दिनहु जुत्ता सिउनेहरु जुत्ताको पर्खाइमा हुन्छन् । सधैंजसो बिहानको समयमा, लामो जुँगा अनि मोटो जिउडाल भएका उमेर छिप्पीएका जुत्ता सिउने व्यक्तीे घाम छल्नका लागी छाता मिलाउँदै हुन्छन् । उनलाई जुत्ता सिउन आउनेदेखी प्रायः सबैले जुँगे दाईको उपनाम दिएका छन् ।

काभ्रे घर भई हाल पोखरा सिद्धार्थ चोकमा बस्दै आएका मिन बहादुर रोकाया यसरी नै महेन्द्रपुलमा जुत्ता सिउँदै आएको २६ बर्ष बितिसक्यो ।

एक छोरा, एक छारी, श्रीमती र आफु गरी चार जानाको परिवारलाइ मिनबहादुर २६ बर्ष देखी यही पेशाबाट पालिरहेका छन् । तर पछिल्लो समय महंगी ह्वात्तै बढेकाले पहिले भन्दा परिवार चलाउन अलिक गाह्रो पर्ने गरेको उनि बताउँछन् । ‘महंगी पनि ह्वात्तै बढ्यो, एक कप चियाको पनि २० रुपैया पर्छ, एक मूठो सागको ५० रुपैयाँ’ उनले भने ‘यस्तो महंगीमा त गाह्रै पर्छ नि’।

min-bahadur3काम गर्ने सबै कामी
समाजमा दलितहरु र उनिहरुले गर्ने काम प्रति हेर्ने दृष्टीकोण साँघुरो भएको भन्दै उनले जात कामी नभएर काम गर्ने मान्छे जति सबै कामी हुने बताए ।
‘कामी जात रे, त्यस्तो पनि हुन्छ ? काम गर्ने जती सबै कामी हो’ उनले भने । सबै मान्छे एउटै भएकोले तल्लो जात उपल्लो जात केही पनि नहुने उनको बुझाई छ । नेपाली दाजुभाइ सबै एक भएर काम गर्नुपर्ने उनी बताउँछन् ।

पानी साह्रै बेइमानी
घाम छेक्न त छाता भइहाल्छ तर पानी पर्दा भने सामान नै पोको पारेर हिँड्नुपर्ने बाध्यता छ उनको ।
‘यो पानी त साह्रै बेइमानी भन्या, कति बेला पर्ने हो पत्तै हुँदैन’ उनले थपे– ‘बिहान घाम लाग्यो भनेर सामान लिएर आयो, दिउँसो दरररर पानी पर्छ अनि सबै सामान पोको पार्नुपर्छ ।’ पानी परेको दिन कमाई पनि नहुने उनले बताए ।

अल्छीहरु राजनीति गरेर कमाउँछन्
उनको नजरमा काम गर्न अल्छी मान्नेहरु राजनीति गर्छन् । ‘काम गर्न जाँगर गर्नेहरु त आफ्नो व्यवसाय गर्छन् र कामउछन् ’ उनले आक्रोश पोख्दै भने– ‘तर व्यवसाय केही पनि नभएकाहरु राजनीतिलाई नै आफ्नो व्यवसाय बनाउँछन् । भ्रष्टाचार गर्छन् अनि त्यही भ्रष्टाचार गरेको पैसाले छोरा छोरी विदेश पठाउँछन् ।’

 

 

जिन्दगी कर्कलाको पानी

min-bahadur2
जीवनको ५६ औ वसन्त पार गरिसकेका उनले कर्कलाको पातको पानी सँग जिवनको परिभाषा झल्काउँछन् । उनि भन्छन्– ‘कर्कलाको पातको पानी जस्तै हो जिन्दगी त, कैले अस्ताउने हो थाहा छैन । काम गर्न सकुन्जेल जिन्दगी छ, काम गर्न छाडे पछि छैन ।’

कहिले चर्को घाममा छाता ओढ्दै जुत्ता सिउने त कहीले दर्केको पानीमा आफ्नो सामान पोको पारेरै भए पनि उनले आफ्नो र परिवारको जिवन धानेकै छन् । उनलाई कुनै पनि काम सानो र ठूलो भन्ने छैन । सबै काम समान छन् उनको बुझाईमा । त्यसैले त उनी भन्ने गर्छन् ‘काम गर्ने जती सबै कामी’ ।

Write a Comment

Events
Random Picks