दुर्लभ रेडपान्डा संरक्षण अभियान जटिल बन्दै
10-August-2016

साउन २६–हिमाली जिल्ला ताप्लेजुङ र पहाडी जिल्ला पाँचथर तथा इलामका हिमाली तथा उच्च पहाडी क्षेत्रमा पाइने रेडपान्डा संरक्षणमा विभिन्न चुनौती थपिएपछि रेडपान्डा संरक्षण अभियान जटिल बन्दै गएको छ ।  विश्वमै दुर्लभ मानिएको रेडपान्डा बिस्तारै बिस्तारै लोप हुदै गयको छ। समुद्री सतहको दुई हजार २०० मिटरदेखि चार हजार मिटरसम्मको उचाइमा पाइने रेडपान्डा खुला सिमाना, चोरी सिकारी, डढेलो, अनियन्त्रित वन फँडानीका कारण लोप हुने अवस्थामा पुगेको छ ।

लजालु र सोझो स्वभावको यो जीव  हलुका रातो, सेतो र कालो रङ्गको हुन्छ । विकास निर्माणसँगै बासस्थान लोप हुनु, कुकुरको आक्रमण, आहाराको विनाश, अन्य जनावरका लागि थापिने पासो, अवैध व्यापारजस्ता गतिविधिले लोप हुने अवस्थामा पुगेको विभिन्न अध्ययनले देखाएको छ । रेड पान्डा पाँचथर, इलाम र ताप्लेजुङका हिमाली तथा उच्च पहाडी क्षेत्रमा पाइएपनि सरकारी तवरबाट यसको संरक्षणमा पहल हुन नसकेको रेड पान्डा नेटवर्क कन्जरभेसन कोअर्डिनेटर पेमा लामाले बताए ।

विभिन्न स्थानमा ट्रयापिङ क्यामरा राखेपछि तस्करीमा केही कमी आएपनि भारतसँगको खुल्ला सिमानाका कारण रेडपान्डाको सङ्ख्या दिनानुदिन घट्दै गइरहेको लामाले बताए । महिलाले बोक्ने झोला, टोपी तथा विलाशीताका सामग्री निर्माणमा रेडपान्डाको छाला प्रयोग हुने भएकाले नेपालबाट रेडपान्डाको चोरी तस्करी हुने गरेको छ । 

Write a Comment

Events
Random Picks