बेनी–जोमसोम सडक खुल्न एक महिना लाग्ने
31-May-2015

पोखरा, जेठ १४–पहिरो र कालीगण्डकीले बनाएको कृत्रिम तालले बेनी–जोमसोम सडक खण्ड भत्काएपछि बाटो खुल्न एक महिनाको समय लाग्ने भएको छ । त्यहाँको स्थानीय प्रशासनले भनेको छ, ‘भूकम्प पछि आएको पहिरो र कालिगण्डकीले क्षतिग्रस्त बनाएको बेनी–जोमसोम सडक खण्ड खुलाउन एक महिना लाग्नेछ । कृत्रिम तालको पानी अझै पनि २० प्रतिशत बाँकी रहेकाले बाटोको काम सुरु हुन नसकेको म्याग्दीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले बताए । कृत्रिम ताल खुलाउन बुधबार नेपाली सेनाको इन्द्रबक्स गणको नेतृत्वमा बम ब्लाष्टिङ गरिएको प्रजिअ केसीले बताए । ‘पहिला पानी खोलेर नफालेसम्म बाटोको काम हुन सकेन, काठमाडौंबाट आएको प्राविधिकको टोलीको सहयोगमा बुधबारबाट ब्लाष्टिङ गरेपनि पानीको बहाव भने सोचेअनुसार हुन सकेको छैन, प्रजिअ केसीले भने । माथिबाट सुख्खा पहिरो झर्न रोकिएपछि काम थालिएको प्रजिअको भनाइ छ । स्थानीय स्तरमा भएका लोडर र डोजर तयारी अवस्थामा रहेको र बाँकी मेसिन गोरखाको बारपाकतिर भएकाले सडक डिभिजन कार्यालय पोखरासँग समन्वय गरेर काम थाल्ने उनले बताए । पहिरो र पानीले गर्दा बाटो नै देखिदैन, पूरै भक्एिको कारण विकल्प खोज्नुपर्ने सल्लाह प्राविधिकले दिएको छ । उनले भने, ‘पुरै पहरो फोरेर बाटो खुलाउनुपर्ने भएकाले समय लाग्ने लाग्छ । ’ मुक्तिनाथ र अन्नपूर्ण भ्रमणमा जाने तिर्थालू एबं पर्यटक बाटोको कारण प्रभावित भएका छन् । यसलाई सकेसम्म छिटो सडक खुलाउन आफूहरु प्रयासरत रहेको उनले बताए । पहिरोबाट प्रभावितहरुलाई जिल्ला दैवी प्रकोप उद्धार समितिले अन्य संघसंस्थाको सहयोगमा मंगलबारबाट बेनी जोमसोम सडक खण्डको घुमाउने ताल नजिकैको खुल्ला स्थानमा अस्थायी बस्ती बनाएर राखिएको छ । मुक्तिनाथ जानेआउने भक्तजन र पर्यटकहरु बासबस्न तथा खान खान बैसेरी प्रख्यात थियो । आसपासका गाविसको किनमेलको केन्द्रसमेत रहेको बैसेरी बजार अहिले पहिरोले पुरेकोले छैन । जेठ १० गते बिहानपख २ बजेबाट पहिरोको कारण थुनिएको कालिगण्डकी सोही दिन बेलुका सवा पाँच बजेमात्र बग्न थालेको थियो । त्यतिबेला डेढ सय मिटर गहिरो र तीन किलोमिटर लामो ताल बनेकोमा अहिले २० प्रतिशत पानी मात्र तालमा छ । 

source:http://www.ratopati.com/2015/05/28/236659.html

Write a Comment