दुर्घटनाले लुट्यो दशैँ खुशि
3-October-2016

पोखरा, १७ असोज । रेम बि. क  एकाविहानै घर पुगेर खाना खाऊँला र ईष्टमित्र साथीभाईसँग भेटघाट गरौँला भनेर काठमाण्डौदेखि करिब ६ बजे बसमा परिवारसहित चढेका थिए गुल्मी नेटाका नारायण अर्याल । काठमाण्डौबाट २ बजे हिँड्ने बसको टिकट काटेपनि बसले ढिलो गर्दा ६ बजे बल्ल बुर्तिबाङको गाडी हिँडेको थियो ।

तर उनलाई यो दशैँमा घर आउँदा यति ठुलो सँकट आईपर्ला भन्ने हेक्का समेत थिएन । सोमबार विहानै ५ बजेतिर बस अनियन्त्रित भएर याम्दीमा दुर्घटना हुँदा उनी घाईते भए भने परिवारका दुई सदस्य उनले गुमाउनुप¥यो । आफ्नी आमा मनरुवा अर्याल र साढे २ वर्षे भतिजा अर्चित अर्यालको ज्यान दुर्घटनास्थलमै गुमिसकेको थियो । उनी यतिबेला मनिपाल अस्पतालको बेडमा छन् ।

‘मलाई यस्तो होला भन्ने थाहा नै थिएन । लौन कस्तो दशैँको बेलामा दशा लाग्यो ।’ उनले रुँदै भने–‘मैले घरमा गएर आमा र भतिजाको बारेमा कसरी भन्ने होला ?’

गुल्मीको भएपनि जानलाई सजिलो र नजिक हुने भएपछि बागलुङको बसमा चढेका उनीहरुसँगै बागलुङ बोँगादोभान गाविसका २० जनाभन्दा बढि विद्यार्थीहरु दशैँ विदामा घर फर्किँदै थिए । काठमाण्डौमा बसेर अध्ययन गरिरहेका उनीहरु एकै ठाऊँका भएपछि एकैचोटी घर जाने भनेर योजनाबद्ध रुपमा एउटै गाडीमा चढेका थिए । बागलुङ बोंगादोभानका नबिन घर्तीमगर भन्छन्-‘सबैजना रमाईलो गर्दै, गीत गाउँदै आएका थियौँ ।’ उनले भने–‘विहानपख भने सबैजना सुतेकै थिए । तर एक्कासी नराम्रोसँग ब्रेक लाग्यो । बस तीन÷चार बल्ड्याङ खायो । र, मेरो त होशहवासै उड्यो ।’

बसमा सवार ३६ यात्रुमध्ये ३ जना शकुसल छन् भने बाँकी ३१ जना घाईते भएका छन् । घाईते मध्ये एकको अवस्था चिन्ताजनक रहेको कास्की प्रहरीले जनाएको छ ।

दुर्घटना कास्की जिल्लाको याम्दी पुल नजिक सोमबार बिहान पौने ६ बजे भएको स्थानीयले बताएका छन्। बागलुङ तर्फ तिब्र गतिमा गइरहेको बस अनियन्त्रित भइ घुम्तिमा दुर्घटना भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा घाइते भएका यात्रुहरुलाई उपचारका लागि मणिपाल शिक्षण अस्पताल र पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा राखिएको छ ।

गाडी दुर्घटना हुँदा यात्रुहरु सबै सुतेकै थिए । तिव्र गतिमा आएको बसलाई याम्दी पुल नजिकैको घुम्तीमा ड्राईभरले नियन्त्रण गर्न सकेनन् । र, बस गुल्टियो । गाडी दुर्घटनाको भयावह दृश्य घाईते बोंगादोभानकै विश्वास घर्तीमगरले यसरी सुनाए । ‘गाडीमै सुतेको थिएँ । निन्द्रा खुल्दा त हल्लाखल्ला भैराखेको थियो । टाउको नराम्ररी दुख्यो । म भुँईमा पल्टिराखेको थिएँ । मै माथि कुल्चिँदै मान्छेहरु यताउता गरिराखेको थिए । त्यसपछि मलाई एउटा जीपमा राखेर लगियो । हस्पिटल आएपछि बल्ल म घाईते भएको रहेछु भन्ने चाल पाएँ ।’

दशैँ नजिकिँदै गर्दा दुर्घटनाको खबरहरु पनि दिनप्रतिदिन आउन थालेको छ । चाडवाडको बेलामा सँधै यस्तै खाले दुर्घटनाहरु हुने गर्छन् । यात्रुहरुलाई कसरी चाँडो घर पुग्ने र यातायात व्यवसायीहरुलाई कसरी धेरै कमाउने भन्ने चटारो हुने भएकैले यस्ता घटनाहरु घट्ने गरेका छन् ।

Events
Random Picks