आँबुखैरेनीमा पहिरो खस्यो, पृथ्वी राजमार्ग अवरुद्ध
5-October-2016

१९ असोज, गोरखा । तनहुँको आँबुखैरेनी नगरपालिकास्थित ऐनापहरा नजिक पहिरो खसेपछि पृथ्वी राजमार्गको आँबुखैरेनी–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ ।

गएराति परेको वर्षाका कारण बिहान ८ बजेतिर पहिरो झरेको हो । पहिरोमा यात्रुवाहक, मालवाहक गाडी परे-नपरेको यकिन भइसकेको छैन ।

इलाका प्रहरी कार्यालय आँबुखैरेनीका प्रहरी निरीक्षक रमेश श्रेष्ठका अनुसार अहिले पहिरो हटाउने काम भइरहेको छ । ‘सडकमा ठूलो पहिरो झरेको छ’ उनले भने, पहिरो हटाउन तीनवटा डोजर परिचालन गरेका छौँ ।’

स्काभेटरको अभावले गर्दा पहिरो हटाउन समस्या भएको श्रेष्ठले बताए । पहिरोले सडक अवरुद्ध भएपछि पृथ्वी राजमार्गको आँबुखैरेनी–मुग्लिन खण्डमा लामो सवारी चाप परेको छ ।

पहिरोले पोखरा र गोरखा क्षेत्रको आवतजावत ठप्प हुँदा यात्रु अलपत्र भएका छन् । पहिरो खुलाउन कम्तीमा चार घन्टा लाग्ने श्रेष्ठले बताए ।

पहिरोले करिब २०० मिटर सडक अवरुद्ध बनाएको हो । रासस

Write a Comment