एक प्रहरीको दसैं
5-October-2016

अनिल २०६३ सालमा नेपाल प्रहरीमा भर्ना भएको हो। जागिर खाएर अलिअलि पैसा जम्मा गरेपछि गत वैशाखमा उसले विवाह गर्यो। प्रहरीको जागिर, मज्जाले हनिमुन मनाउने विदा कहाँ पाउनु। स्याङ्जाको एक विकट गाउँमा बुढी आमा र श्रीमती छोडेर बिहेको केही दिनमै उ फर्कियो ड्युटीमा। अचेल ऊ राजधानीमा अहोरात्र खटिरहेको छ ।

विवाहपछिको पहिलो दसैं पहिलेका दसैंभन्दा पक्कै राम्रो हुन्छ भन्ने सोचेको थियो।

घटस्थापनाको दिनदेखि नै उसलाई घरबाट बारम्बार फोन आउन थाल्यो। फोनमा उसकी दुलही सोध्थिन्, हजुर घरमा कहिले आउनी?

अनिल प्रश्नको उत्तर दिन सक्दैनथ्यो किनकी घटनास्थापनाको १० दिन अगाडि नै प्रहरी प्रधान कार्यालयबाट दसैं तिहारलाई मध्यनजर गर्दै सबै प्रहरी कर्मचारीलाई चुस्त र दुरुस्त रहन र दसैं तिहारमा अपराधका घटना बढी नै हुने भएकाले किरिया बिदा बाहेक अन्य बिदा नछोडी शान्ति सुरक्षा अमन चयनमा ध्यान दिनुहुन भनी परीपत्र आएको छ।

घटस्थापनाको दिनमा आमाले फोन गरेर भन्नुभयो– बाबु पोहोर सालझंै आउँछु भनी यसपालि पनि नढाँट्नु है। यसपालि त जसरी पनि आउनु पर्छ विवाहपछिको पहिलो दसैं हो, ससुरालीतिर जानुपर्छ।

आमाको कुराले अनिललाई के गरूँ, के गरूँ भयो। विदाको लागि हाकिमसँग भनूँ भने पनि विदा पाउने होइन। ‘भो जान्न हाकिमको अगाडि पाँच मिनेट खम्बाझैं उभिएर बेकारमा रामायण सुन्नुपर्छ।’ उसले सोच्यो र दिनभरि अनिल मोबाइल स्वीच अफ गरेर ड्युटीमा गयो ।

चोकमा ऊ ड्युटीमा थियो। नजिकैको मोबाइल पसलमा ‘नमुछे आमा दहीमा टीका नछरे जमरा’ भन्ने गीत बजिरहेको थियो। गीतसँगै अनिल पनि भावुक बन्यो। स्वीच अफ गरेको मोबाइल अन गरेर आमालाई फोन गर्यो‍। फोन श्रीमतीले उठाइन्। उनले दंग पर्दै सोधिन्– बिदा पाउनु भयो हो?

‘बिदाको कुरा नगर आमालाई कस्तो छ’ अनिलले भन्यो । श्रीमतीले झर्किदै भनिन् –तपाईँको चिन्ताले आमा बिरामी हुनुहुन्छ। प्रेसर कम भएर होला टाउको दुख्यो भनेर सुत्नु भएको छ ।

अनिलले फोन काटिदियो । उसको मन उकुसमुकुस भयो आफ्नो पीडा कसलाई पोखूँ भयो। सँगै ड्यटीमा रहेका हवल्दारसाबलाई आफ्नो कुरा सबै बतायो।

हवल्दारले भने– बाबै हाम्रा लागि चाडवाड भनेका त आकाशको फल आँखा तरी मर भनेझैं हो। यी सबै चाडवाड रिटायर्ड भएपछि मनाउँला। तैपनि एक पटक हाकिमसँग कुरा राखे हुन्छ नि। हाकिमको मुडको कुरा हो मन परेकालाई बिदा छाड्छन् कोही कोही हाकीमले।

हवल्दारसाबको कुरा सुनेर अनिलले हाकिमको सामू जाने आँट गर्यो। अनिल हाकिमको ढोकामा मात्रै के पुगेको थियो हतारहतारमा बाहिर निस्कँदै हाकिमले भने– हवल्दारसाब, मेजर टोली तयार पार्नुस् त आगलागी भयो रे। हाकिमसँगै अनिल पनि टोलीमा आगलागी भएको ठाउँमा खटियो। त्यतिबेला उसको मोबाइल धेरै पटक बजिसकेको थियो। साँझ उसले श्रीमतीलाई सम्झाउँदै भन्यो – के गर्नु सरकारको नुन खाएको छु। नुनको सोझो त गर्नै पर्छ तैपनि घर आउने प्रयासमा छु।

भोलिपल्ट ऊ फेरि हाकिमको कोठामा गयो र भन्यो–जय नेपाल सर।

हाकिमले जय नेपाल फर्काउँदै भने– भन, तिम्रो समस्या अनिल?

‘सर बिदा जान पाए हुन्थ्यो घरमा ७० कटेकी बुढी आमाले साह्रै पीर गर्नुभएको छ। जागिर खाएको १० वर्ष भयो एउटा दसैं पनि घरमा मान्न पाएको छैन। यसपालि बिहे पनि गरेको।

अनिलका यी कुरा सुनेपछि हाकिमले भने– मैले सबै कुरा सुने यस्तो समस्या तिम्रो मात्र होइन हामी सबैको हो मेरो पनि खोटाङमा बुढा बा आमा छन।् मेरो हालत पनि यस्तै हो। बिहान मात्र कान्छी छोरीले बाबा कहिले आउनुहुन्छ भन्दै थिई। पीर नगर, हामी एकै ठाउँमा बसेर रमाइलो गरी दशै मनाउँला।

यति भन्न नपाउँदै हाकिमको मोबाइलमा फोन आयो चावहिलमा सवारी दुर्घटना भयो भनेर। बाहिर निस्कँदै हाकिमले भने –हवल्दार मेजर टोली तयार पार्नुस् त सवारी दुर्घटना भयो रे । हाकिमसँगै अनिल पनि टोलीमा सवारी दुर्घटना भएको ठाउँमा खटियो।

सास छउन्जेल आश भनेझैं अनिलकी श्रीमती र आमाले टीकाको दिनसम्म भए पनि अनिल आउँछ भन्ने आशमा बसे। अनिल राति १२ बजे कार्यालयको पेरीमिटरको एक पोष्टमा राइफल लिएर ड्युटी बसेको थियो। तन उसको ड्युटीमा थियोे मन चङ्गासरी कता पुगेको थियो कता।

एक मनले सोच्यो– एउटा गोली मेरै लागि खर्च गरूँ कि त भन्दै फेरि अर्को मनले सोच्यो, धत् यस्तो काम त नामर्दले मात्र सोच्छ।

ऊ फेरि राइफल काखमा राखी उसैसँग कुरा गर्न थाल्यो– हेर राइफल, मलाई घरकाले घर आइजा भन्छन्। हाकिमले बिदा दिदैनन्। म के गरूँ के तिमी मलाई बिदा दिन तयार छौ? अनिलले यो कुरा गरेपछि कतैबाट आवाज आएजस्तो भयो। अनिलले त्यो आवाजलाई ध्यानपूर्वक सुन्यो– अनिल गल्ली गल्लीमा चोरहरू दसैंको मौका छोप्न कुरिबसेका छन्।

आवाज सुन्नासाथ अनिलले श्रीमतीलाई मोबाइलमा म्यासेज पठायो –दसैंपछि मिलाएर घर बिदा आउँछु।

 

 

 

Write a Comment