सामान्य लगानीबाट करोडौँ कारोबार
16-October-2016

सन्तोष गौतम

बेनी– पर्वतकी एक महिला उद्यमीले सामान्य लगानीबाट सुरु गरेको उद्योगबाट वार्षिक करोडौको कारोबार हुने गरेको छ ।

मल्लाज माझफाँटकी अनीता मल्ल केसीले डेढ दशकअघि सुरु गरेको कालीगण्डकी चाउचाउ उद्योगले उनलाई करोडौ सम्पत्तीको मालीकका साथै सफल उद्यमीको रुपमा चिनाएको हो ।
पर्वत बेनीमा वि.स २०६१ मा साढे दुई लाख रुपैयाको लगानीमा सुरु गरेको उद्योगबाट भएको आम्दानीले केसीले धाईरीङ ५ मिलनचोकमा घर सहित तिन वटा घडेरी किनेकी छन् ।

भाडाको घरबाट उद्योग सुरु गरेकी केसीले अहिले आफ्नै जग्गामा सञ्चालन गरेको उद्योगबाट घरपरिवार बाहेक चार जनालाई रोजगारी पनि दिएकी छन् । हाल पचास लाख रुपैया लगानी रहेको उद्योगबाट वार्षिक एक करोड रुपैया बराबरको कारोबार हुने गरेको केसीले बताइन् ।

‘आफ्नै ब्यवसाय गर्ने सोचले सामान्य लगानीमा अरुबाट उद्योग किनेको थिए । छोराछोरी साना थिए । घरायसीसंगै उद्योगको काम गर्न निकै दुख भएको थियो’ केसीले भनिन् ‘अहिले उद्योगमा मात्र पचास लाख लगानी छ । एक करोडको कारोबार हुन्छ । परिवारले साथ दिनुभएको छ । सन्तुष्ट छु ।’

उद्योगमा उत्पादन हुने दैनिक तिन सय किलो चाउमिन म्याग्दीको बेनी, दरवाङ, गलेश्वर, भुरुङतातोपानी, उत्तरी पर्वतको साथै कुश्मा र बागलुङमा बिक्री हुने गरेको छ । आफ्नै गाडीमा चाउमीनको साथै सस बिक्री गर्न बजार पु¥याउने गरेकी छन् ।

उद्योगको काममा दैनिक १७ घण्टा सम्म खटिने केसीलाई दुई छोराछोरी र सासु आमाले पनि सघाएका छन् । बिदेशमा राम्रै आम्दानी हुने कम्पनीमा काम गरिरहेका श्रीमान तेजेन्द्रको पनि उनलाई साथ छ । उनका छोराछोरी बेनीको निजी विद्यालयमा पढ्छन् ।
सामुदायीक विद्यालयमा निजी स्रोतको शिक्षक र लघुवित्त संस्थाको जागीर छोडेर उद्यममा हात हालेकी केसीले निरन्तर संघर्ष, परिवारको साथ, ईमान्दारीता र मेहनत गर्न सकेमा सफल हुन सकिने बताउँछन् ।

उद्योगलाई थप व्यवस्थित र क्षमत्ता विस्तार गर्ने लक्ष्य राख्नुभएकी केसीले संगै कुखुरापालन पनि गरेकी छन् । घरायसी र उद्योगसंगै उनले सामाजिक संघ संस्थामा समय दिदै आएकी छन् ।

घरेलु महासंघकी केन्द्रिय सदस्य रहनुभएकी केसी महिला उद्यम समिति म्याग्दीको कार्यसमिति र महिला सुधार आमा समूहको सदस्यको रुपमा सामाजिक काममा सक्रिय छन् । उद्यम ब्यवसाय गर्ने हो भने महिलाहरु आर्थिक रुपमा सम्पन्न, आत्मनिर्भर र सक्षम बन्न सक्छन भन्ने उदाहरण केसीले प्रस्तुत गर्नुभएको उनकी छिमेकी जमुना आचार्यले बताइन् ।

राटोपाटी बाट 

Write a Comment

Events
Random Picks