भारतले गोर्खा सैनिकको योगदानलाई भुल्दैनः मुखर्जी
4-November-2016

१९ कात्तिक, पोखरा । भारतका राष्ट्रपति प्रणव मुखर्जीले नेपाल-भारत सम्बन्ध मजबुत बनाउनका लागि भारतीय पूर्वगोर्खा सैनिकहरुलाई आहृवान गरेका छन् ।

भारतीय भू.पू.गोर्खा सैनिक संघले शुक्रबार पोखरामा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै भारतीय राष्ट्रपति मुखर्जीले भने, ‘नेपाल शान्ति र स्थिरताको दिशामा अघि बढिरहेको छ । र, यसमा हाम्रो साथ छ ।’

उनले भने, ‘म आहृवान गर्छु कि तपाईहरु सबै आफ्नो राष्ट्र निर्माण र भारत नेपाल सम्वन्धलाई थप मजबुत बनाउने दिशामा सकारात्मक भूकिका खेल्नुस् ।’

तीन दिने राजकीय भ्रमणका क्रममा पोखरा आएका उनले भारतीय पूर्वगोर्खा सैनिक नेपाल भारत सम्बन्धको आधार स्तम्भ भएको बताए । उनले वीर गोर्खा सैनिकप्रति भारत सरकार र भारतीय सेनाले गर्व गर्ने बताए ।

भारतीय सेनाका प्रमुख सुपि्रम कमाण्डर समेत रहेका भारतीय राष्ट्रपति मुखर्जीले पूर्व गोर्खा सैनिकको कल्याणका लागि हरसम्भव प्रयत्न गर्न कहिल्यै पछि नहट्ने दृढता व्यक्त गरे ।

पूर्व गोर्खा सैनिकले पुर्‍याएको योगदानलाई भारत सरकारले नभुलेको र आगामी दिनमा पनि नभुल्ने बाचा गर्दै उनले पूर्व गोर्खा सैनिकको हित र कल्याणका लागि भारत सरकारले काम गरिरहने बताए ।

भारतीय भूपूगोर्खा सैनिकको कार्यक्रममा सहभागि हुन आएका मुखर्जी करीब २ घण्टा पोखरा बसेर फर्किएका छन् । पोखरा आएलगत्तै उनी पोखरा-१७ बिरौटास्थित पाँचतारे होटल पोखरा ग्राण्ड गएका थिए । उनले त्यहाँ दिवा भोज गरेर केहीबेर आराम समेत गरेका थिए । त्यसपछि भू.पू.गोर्खा सैनिकको कार्यक्रममा सहभागी भए ।

फोटो : अरुण गिरी र निकोलस गुरुङ / जक्सन डट कम 
शब्द : अनलाईन खबर 
सम्पूर्ण तस्बिरहरु हेर्न यो लिंक क्लिक गर्नुहोस http://jukson.com/event/538/mr-pranab-mukherjee-in-pokhara-nepal

Write a Comment

Events
Random Picks