सरकारी सहयोग बिनै तयार भयो भूकम्पबाट क्षतिग्रस्त बौद्धनाथ स्तुपा
14-November-2016

गत वर्षको भूकम्पबाट क्षतिग्रस्त बौद्धनाथ महाचैत्यको पुनर्निर्माण सकिएको छ।  विश्व सम्पदा सूचीमा सूचीकृत यो  सम्पदा भूकम्पपछि पुनर्निर्माण सम्पन्न हुने मुलुककै पहिलो पुरातात्त्विक सम्पदासमेत बनेको छ ।

बौद्धनाथ महाचैत्यको डोमदेखि त्रयोदश भुवन (तेह्रवटा खुडकिला) सम्मका भाग, मण्डला र छ्यार्तेनहरू पूर्ण रूपमा भत्काएको थियो। बौद्धनाथ क्षेत्र विकास समितिले सरकारी सहयोगबिनै २०७२ जेठ १० गते नै पुनर्निर्माण थालेको थियो । समितिका अनुसार विभिन्न दातृ संस्था र व्यक्तिबाट उठेको २३ करोड रुपैयाँ लागतमा महाचैत्यको पुनर्निर्माण सम्पन्न भएको हो।

बौद्ध परम्पराअनुसार देवातरण दिवस (लभव दुइछेन) को अवसर पारी मंसिर ७ गते प्रधानमन्त्री पुष्पकमल दाहालले पुनर्निर्माणपछिको महाचैत्य उद्घाटन गर्ने कार्यक्रम रहेको छ।

त्यसअघि मंसिर ३ र ४ गते ङिङमा, गेलुक, काग्यु, शाक्य, बज्रयान र थेरबादी गरी सबै बौद्ध सम्प्रदायका गुरुहरूको उपस्थितिमा शुद्धीकरण पूजा (डुस्याक) र ५ गते प्राण प्रतिष्ठा गरिने छ।

पाँचौं शताब्दीमा निर्माण भएको मानिने यो विश्व सम्पदा पुनर्निर्माणका लागि ३० किलो सुन जनस्तरबाटै संकलन गरिएको थियो। पुरातत्त्व विभागका प्राविधिकहरूको प्रत्यक्ष निगरानीमा सम्पन्न पुनर्निर्माण पुरानै मौलिक शैलीबाट गरिएको छ ।

महाचैत्यको पुनर्निर्माणमा पुरानैपन झल्काउन सिमेन्टको सट्टा बज्र प्लास्टर प्रयोग गरिएको छ। यो सिमेन्ट जत्तिकै बलियो हुने परम्परागत प्रविधि हो। काँचो चुन, सुर्खी (इँटाको धूलो) र बालुवा प्रयोग गरी बज्र प्लास्टर निर्माण गरिन्छ ।

बौद्धको पुरानो नाम झ्यारुङ खस्योर हो । बुद्धले निर्वाण प्राप्त गरेको केही समयपछि नै झ्याझिमा नामक एक महिलाले राजाको अनुमति लिई महाचैत्य निर्माण गरिएको बौद्ध किम्बदन्ती छ । डानियल राइटद्वारा सम्पादित उन्नाइसौं शताब्दीको एक वंशावलीअनुसार भने यो महाचैत्य राजा मानदेव प्रथमले सन् ४६४-५०५ मा निर्माण गर्न लगाएका थिए ।

सेतोपाटि बाट

Events
Random Picks