भोलिदेखि बसबाट फोहोर फाल्न नपाइने ; फाल्नेलाई तत्काल टिपेर डस्टबीनमा हाल्न लगाईने नत्र हजार रुपैयाँसम्म जरिवाना
14-December-2016


सार्वजनिक सवारीसाधनमा यात्रा गर्नेले शुक्रबारदेखि सडकमा फोहोर फाल्न नपाउने भएका छन् । सरकारले पुस १ गतेदेखि सार्वजनिक यातायात प्रयोगकर्तालाई बाटोमा फोहार फाल्न नपाउने नियम लागू गर्न लागेको हो । सडकमा फोहोर फाल्न नदिने र फाले जरिवाना गर्ने नियम पुरानो भए पनि सार्वजनिक सवारीसाधनमा सवार यात्रुले सडकमा फोहोर फाल्न नपाइने नियम यो पहिलोपटक हो ।

राजधानी र राजधानी बाहिर चल्ने सबै सार्वजनिक यातायातका साधनमा शुक्रबारदेखि सवारी छुट्ने बेलामा प्रस्थान विन्दुमा सवारी चालकले यात्रुलाई झ्यालबाट फोहोर नफाल्न सूचना गर्नेछन् । यात्रुले आफू चढ्ने सवारी साधनमा राखिने डस्टबीनमा मात्र फोहोर फाल्नुपर्नेछ ।

लामो दूरीमा चल्ने सार्वजनिक सवारी साधनमा भने पहिलो पटक सूचना जारी गरेपछि हरेक तीन घन्टामा सोही सूचना वा जानकारीलाई चालक वा सहचालकले दोहोर्‍याउने छन् । रात्रिकालीन सेवाका बसमा भने राति खाना खाने समयमा यो सूचना भनेर यात्रुलाई सम्झाउने छन् । सार्वजनिक सवारी साधनले झ्याल वा सबैले देख्ने ढोका आदि ठाउँमा बाहिर बाटोमा फोहोर फाल्न नहुने जानकारी सहितको सूचना पनि टाँस गर्नेछन् ।

मुलुकभर चल्ने तीन लाखभन्दा बढी सार्वजनिक यातायातमा दैनिक लाखौं यात्रुले झ्यालबाट फोहोर फाल्दा सडक सौन्र्दय बिगारेको भन्दै सरकारले शुक्रबारदेखि फोहोर फाल्न रोक लगाएको हो । 

चिया वा खाना खाने बेलामा यात्रु ओर्लनुअघि फोहोरलाई निश्चित ठाउँमा फाल्न सूचना दिने व्यवस्था पनि मिलाउनेछन् । त्यस्ता सार्वजनिक यातायातले यात्राका क्रममा संकलन गरेका फोहोरलाई आफ्नो अन्तिम स्थान वा बिसर्जन विन्दुमा फाल्ने व्यवस्था गर्नेगरी सम्बन्धित नगरपालिकाले व्यवस्थापनको जिम्मा लिनेछन् ।
त्यो स्थानमा हुने नगरपालिकाले बसपार्कमा बसमा भेला हुने फोहोर बिसर्जन गर्ने स्थान तोक्ने र त्यहाँ फालिएका फोहोर संकलन गर्ने व्यवस्था पनि मिलाउने गरी तयारी भएको छ । सार्वजनिक सवारीहरु बस, मिनिबस, माइक्रोबस, टेम्पो लगायतमा सवार यात्रुका लागि फोहोर फाल्न डस्टबीन वा सरकारले तोकेको गुणस्तर पोलिथिन थैलोको अनिवार्य व्यवस्था गर्न लागिएको हो ।

यात्राका क्रममा पानीका बोतल, प्लाष्टिक र फास्टफुडका खोल लगायत यात्रुले खाएर उब्रिएका खाना आदि फोहोर यात्रुले सवारी साधनबाट सडकमा फाल्ने गर्दा सडकका साथै नालीसमेत थुनिने अवस्था भएको र त्यसले सहरी साथै सडकको सौन्दर्यमा समेत खलल आएको भन्दै संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले यो अभियान सुरु गरेको हो ।

मन्त्रालयले नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघसँगको सहकार्यमा यस्तो काम गर्न लागेको हो । मुलुकभरकै सार्वजनिक सवारी साधनमा यो नियम लागू गर्न मन्त्रालयका सचिव केदारबहादुर अधिकारी र महासंघका वरिष्ठ उपाध्यक्ष विजयबहादुर स्वाँरबीच दुई साताअघि सम्झौता भइसकेको छ । दुई पक्षबीच ११ बुँदे सम्झौता भएको थियो ।

मन्त्रालयका सचिव अधिकारीले यात्रु तथा यातायात मजदुर समेतले प्रयोग गर्ने पानीका बोतल, खानेकुराका अवशेष, प्लाष्टिकका झोला आदि यात्रा गर्ने क्रममा झ्यालबाट फ्याँक्ने गर्दा जताततै फोहोर हुन गएको जानकारी दिँदै यस्तो अवस्थालाई नियन्त्रण तथा व्यवस्थापन गर्न सामाजिक उत्तरदायित्वअन्तर्गत फोहोर फाल्न नपाइने नियम लागू गर्न लागिएको जानकारी दिए ।

उनले भने, ‘मुलुकभर तीन लाखभन्दा बढी सार्वजनिक यातायात सञ्चालनमा रहेको र तिनमा सवार गर्ने दैनिक लाखौं यात्रुले चेतना हुँदाहुँदै पनि सडकमा फोहोर फाल्ने गरेको पाएका छौं । त्यसरी फाल्ने फोहोरले स्वास्थ्य र स्वाभावमा प्रत्यक्ष रुपमा नराम्रो असर पर्ने र सहरीका साथै सडक सौन्दर्यमा कुरुपता ल्याउने भएकाले शुक्रबारदेखि रोक्न लागेका हौं ।'

महासंघका उपाध्यक्ष स्वाँरले प्राप्त सूचनालाई अटेर गरी सडकमा फाले सहचालकले फाल्नेलाई तत्काल फोहोर टिपेर डस्टबीनमा हाल्न लगाउने बताए । उनले भने, ‘एक महिनासम्म अभ्यासका लागि छुट दिइनेछ तर त्यसपछि पनि अटेर गरी फाल्नेलाई फोहोरमैला व्यवस्थापन सम्बन्धी ऐन २०६८ बमोजिम कसुर हेरी यात्रु वा सवारी चालकलाई पाँच सयदेखि पाँच हजार रुपैयाँसम्म तिर्नेगरिको कारबाही गरिनेछ ।'

अन्नपूर्ण पोस्ट बाट 

Write a Comment

Events
Random Picks