सुरक्षाको माग गर्दै एम्बुलेन्स चालकद्वारा एम्बुलेन्स सहित बुटवलमा प्रदर्शन
18-December-2016

​कपिल ज्ञवाली/बुटवल, ३ पुस ।अत्याबश्यक सेवाको रुपमा लिइने एम्बुलेन्सलाइ पनि बन्दको क्रममा तोडफोड गरिएको भन्दै बुटवलमा एम्बुलेन्स चालकहरु सडकमा उत्रिएका छन् ।उनीहरुले सुरक्षाको माग गर्दै एम्बुलेन्स सहित प्रदर्शन गरेका हुन् ।हड्तालका क्रममा शनिवार साझं बुटवलको राजमार्ग चौराहामा एम्बुलेन्समा तोडफोड भएपछि आज एम्बुलेन्स चालकहरुले सुरक्षाको माग गर्दै प्रदर्शन गरेका हुन् ।
संयुक्त एम्बुलेन्स चालक संघ लुम्बिनी अञ्चल शाखाले एम्बुलेन्स सञ्चालनकालागि सुरक्षित वातावरण बनाईदिन माग गर्दै आज दिउसो १२ देखि १ बजेसम्म बुटवलको लुम्बिनी अञ्चल अस्पताल अगाडी एकैठांउमा एम्बुलेन्स सहित प्रदर्शन गरेको हो ।
बिरामी लिन जाने र पु¥याउने क्रममा बन्दकर्ताले एम्बुलेन्स चालक माथि अभद्र व्यबहार गर्ने, हातपात गर्ने तथा एम्बुलेन्स नै तोडफोड गर्ने काम भएपछि एम्बुलेन्स सञ्चालन गर्न समस्या भएको संयुक्त एम्बुलेन्स चालक संघ लुम्बिनीका अध्यक्ष यदुनाथ भण्डारीले बताए ।

बन्दका क्रममा शुक्रबार बुटवलको चादबारी चोक र शनिबार राजमार्ग चौराहामा बन्द कर्ताले एम्बुलेन्स तोडफोड र चालक माथि दुव्र्यबहार गरेका थिए ।
‘हामी ज्यानको बाजी राखेर एम्बुलेन्स चलाउन सक्दैनौं ,यस्को जिम्मेबारी  कस्ले लिन्छ ’ संयुक्त एम्बुलेन्स चालक संघ नेपालका महासचिव मुक्ति काफ्लेले भने ।
एमाले नेता तथा पूर्व सांसद नेत्र पन्थीले एम्बुलेन्समाथि आक्रमण तथा तोडफोड गर्ने काम राम्रो नभएको बताउदै तोडफोडमा संलग्न हुने आफ्नै कार्यकर्ता भएपनि कारवाही हुनुपर्ने बताए ।
सरकारले पाच नम्बर प्रदेशका पहाडी जिल्लालाई तराईसंग छुट्याउने गरी संसदमा दर्ता गरेको संशोधन विधेयक बिरुद्ध संयुक्त संघर्ष समिति रुपन्देहीले आज तोश्रो दिनपनि हड्ताल कायमै राखेको छ ।
बुटवलमा बिहानैदेखि फरकफरक प्रकृतीका बिरोध सभाहरु भैरहेका छन् ।

Write a Comment