पालिखेचोक सडक अब ‘वान वे’
29-December-2016

रञ्जन अधिकारी पोखरा, १४ पुस / पोखराको केन्द्र भाग महेन्द्रपुल नजिकै पालिखेचोक क्षेत्रको सडक पोखराकै सबैभन्दा साँघुरो व्यस्त सडक हो । महेन्द्रपुलबाट नदिपुर र तेर्सापट्टी छिर्न पालिखेचोकमा प्रायः जाममा फसेको अनुभव यहाँका सवारी चालक सबैलाई छ । महेन्द्रपुल, गैह्रापाटन, तेर्सापट्टी र नदिपुर चार तिरबाट आउजाउ हुने सवारी साँघुरो चोकबाट घुमाउनुपर्ने बाध्यताले दुर्घटनाको जोखिम पनि उत्तिकै छ ।

गत मंसिर ९ गते मात्रै तेर्सापट्टीमा अटो स्कुटर दुर्घटनामा पोखरा सराङकोटका नारायण सुवेदीले ज्यान गुमाए । साँघुरो बाटो त्यसमाथि दुईतर्फी सवारी चल्दा यस्तो दुर्घटनाको जोखिम बढि छ । अब भने पालिखेचोक क्षेत्रमा एकतर्फी रुपमा सवारी सञ्चालन हुने भएको छ । बढिमा १५ दिनभित्र नै यो क्षेत्र ‘वान वे’ बन्दै छ। जिल्ला  ट्राफिक प्रहरी कार्यालय कास्कीले सडकको अवस्थालाई मध्येनजर गर्दै सो सडक क्ष्ँेत्र वान वे बनाउने प्रक्रिया लगभग अन्तिम चरणमा पुगेको जानकारी दिएको छ ।

कार्यालय प्रमुख प्रहरी निरीक्षक विश्वराज अधिकारीले स्थानीयको सहमति र पोखरा उपमहानगरपालिकाको सहयोगमा एकतर्फी सवारी सञ्चालन गर्ने कार्य लगभग पूरा भएको जनाए । ‘योजना धेरै पहिलेदेखिकै हो । पूर्वाधार बनाउन समय लाग्यो । अब पोखरा उपमहानगरपालिका, जिल्ला प्रहरी कार्यालयको सहयोग तथा स्थानीयको सहमतिमा योजनाले मूर्तरुप लिँदैछ ।’ –अधिकारीले भने । तेर्सापट्टी स्थित गिरिजाचोकलाई फराकिलो पारी ढलान गरिएको र तयार हुनासाथ एकतर्फी नियम लागू गरिने अधिकारीले जनाए । पोखरा उपमहानगरपालिका कार्यालयले जिल्ला ट्राफिक कार्यालयको अनुरोधमा गिरिजाचोक फराकिलो पार्दै एक साताअघि सिमेन्टको ढलान गरेको पोउमनपा कार्यालयका ईञ्जिनियर सुरेन्द्र पौडेलले जानकारी दिए । ढलान गर्न करीब ५ लाख लागेको पौडेलले जनाए ।

ढलान सुक्न अब कम्तिमा एक हप्ता लाग्ने र त्यसपछि सूचना बोर्ड टाँस गरी कडाईका साथ नियम लागू गरिने प्रहरी निरीक्षक अधिकारीले बनाए । ‘चोकमा अनिवार्य रुपमा ट्राफिक नराखे त गाडी क्रस हुन नै समस्या छ ।’ – उनले भने – ‘ठूला गाडीहरु बढे । गाडी पास हुने स्थान अत्यन्तै साँघुरो छ । अहिलेको परिस्थितिलाई सहज बनाउन अहिलेलाई बिकल्प यही हो ।’

पोखरा नगरमा ठूला बस गुडेसँगै व्यस्त हुने समयमा पालिखेचोकबाट नदिपुर क्षेत्रमा ठूला गाडी प्रवेशमा रोक लागिसकेको छ । अहिले एकतर्फी गरिएपनि दीर्घकालीन समाधान भने होईन । पालिखेचोकमै पुराना घरहरु छन् । आगलागीका कारण बस्नै नमिल्ने भएर भत्केको घर समेत व्यवस्थापन गर्न नसकेको उदाहरण हामीसामु छ । पुरानो घरले चोकको मुख साँघुरिँदा यो समस्या आएको हो ।

ट्राफिक प्रहरी नायव निरिक्षक शिव थापाले पालिखेचोकबाट गिरीजाचोक, मणिपाल जाने चोक हुँद  त्यहाँबाट पालिखेचोकसम्म एकतर्फी बाटो सञ्चालन हुने भएकाले सवारी चालक र स्थानीयले ध्यान दिनुपर्ने बताए । अब प्रतिभा उच्च मावि जान पालिखेचोकबाट सिधै माथि उक्लन पाउँदैन । यसका लागि तेर्सापट्टी, गिरिजाचोक हुँदै सिनेमाहलहरुलाई बीच पारेर मणिपाल जाने चोकबाट नदिपुरतर्फ झर्नुपर्नेछ ।

यस्तै, बगरतर्फबाट विन्ध्यवासिनी  हलतर्फ छिर्नुपरेमा गिरिजाचोकबाट हलतर्फ छिर्न पाईंदैन । मणिपाल जाने चोकतर्फ नै मोड्नुपर्ने हुन्छ । यसले स्थानीय क्षेत्रमा केहि असर देखापरेपनि समग्र सडकको अवस्थामा भने सुधार आउने थापाले बताए ।

सृजनाचोकदेखि सिद्धार्थचोक हुँदै विन्ध्यवासिनी मन्दिरसम्मको बाटो पनि अत्यन्त साँघुरो रहेकाले यसबारे पनि अध्ययन भईरहेको प्रहरी निरीक्षक अधिकारीले बताए । ‘बाटो साँघुरो भएको ठाउँमा कुना फराकिलो पारेर भएपनि सानो प्रयासले केहि व्यवस्थित गर्न सकिन्छ भने ढिला गर्दैनौं ।’ – अधिकारीले भने— ‘यसमा सबैको साथ सद्भावको आवश्यकता छ । सवारी साधनको व्यापक वृद्धिले सडकमा चुनौति थपिएको छ ।’

अब पृथ्वीचोक क्षेत्रको आईल्याण्डका साथै अन्य ठूलो चोकमा आईल्याण्ड व्यवस्थापन गरिने जनाउँदै जनशक्तिको अभावले यो अपरिहार्य रहेको बताए । ‘पृथ्वीचोकमै चार जना खटाउनुपर्ने अवस्था हुन्छ । एकापट्टी उभिए अर्को पट्टी देखिन्न । त्यहाँमाथि आवश्यकताको आधा समेत जनशक्ति छैन ।’ अधिकारीले भने ।

अहिले कास्कीमा ६३ जना मात्रै ट्राफिक प्रहरी छन् । यसमा दरबन्दी भने २८ जना मात्रै हो । क्षेत्रीय प्रहरी कार्यालयले आवश्यकताका आधारमा अन्य ठाउँबाट काजमा खटाएको हो । कास्कीमा विभिन्न स्थानमा ६ वटा पोष्ट स्थापना गरिएको छ । पृथ्वी राजमार्ग अन्तर्गत पोखरादेखि तनहुँ सिमाना कोत्रेसम्म, सिद्धार्थ राजमार्ग अन्तर्गत स्याङ्जा सिमाना कुविण्डेसम्म, भूपी शेरचन राजमार्ग अन्तर्गत पोखरादेखि पर्वत सिमाना नयाँपुलसम्म गरी ८४ किलोमिटर क्षेत्र कास्की ट्राफिकले हेर्नुपर्दछ । पोखरा, लेखनाथ सहित विभिन्न भित्री सडकखण्ड गरी करीब ५०० किमि सडक क्षेत्र हेर्ने जिम्मा कास्की ट्राफिकलाई छ ।

Write a Comment

Events
Random Picks