कतारद्धारा विश्वकपको प्रोजेक्टमा कुनै पनि कामदारको मृत्यु नभएको दाबी
4-June-2015

जक्सन डटकम, जेष्ठ २१ - कतार सरकारले विश्वकप २०२२ को लागि पूर्वाधार निर्माणको क्रममा कुनै विदेशी कामदारको मृत्यु नभएको दाबी गरेको छ ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुमा बिश्वकपको लागि पूर्वाधार निर्माणको क्रममा नेपालीसहित विदेशी कामदारको मृत्यु भएको भन्दै श्रृंखलावद्धरुपमा समाचार आउन थालेपछि कतारको सञ्चार मन्त्रालयको यस्तो प्रष्टीकरण सार्वजनिक भएको हो ।

‘एकदमै असत्य तथ्य सार्वजनिक भइरहेको छ । अहिलेसम्म विश्वकपको प्रोजेक्टका लागि ५ मिलियन (५० लाख) घण्टा काम भएका छन् । त्यस समयमा एक जना कामदारको पनि जीवन गुमेको छैन’, मन्त्रालयद्धारा जारी विज्ञप्तीमा भनिएको छ ।

कतारले विश्वकपका लागि १२ वटा रंगशाला बनाइरहेको छ । त्यससँग सम्बन्धीत अरु तयारी पनि भइरहेको छ । रेलको ट्र्याक बनाउने काम पनि धमाधम भइरहेको छ ।

कतारले यि प्रोजेक्टका लागि ७० बिलियन अमेरिकी डलर लाग्ने जनाएको छ । जसमध्ये सन् २०१६ सम्म २० मिलियन अमेरिकी डलर बराबरको काम सक्ने योजना बनाएको छ । त्यसका लागि आवश्यक पर्ने कामदारको प्रमुख श्रोतमा नेपाली रहेका छन् ।

कतारस्थित नेपाली दुताबासका अनुसार सन् २०१४ मा एक सय ४९ जना कामदारको कतारमा मुत्यु भएको छ । त्यसमा  ६० प्रतिशत मुटुरोग, २० प्रतिशत सडक दुर्घटना, १० प्रतिशत कार्यस्थल दुर्घटना र १० प्रतिशत अन्य कारणले मृत्यु भएको दुताबासको रेकर्ड छ । ‘रंगशाला बनाउने काममा मृत्यु हुने कामदारको सूचना हामीसँग छैन’, दुताबासका एक अधिकारीले भने ।

अन्तर्राष्ट्रिय ट्रेड युनियन महासंघले कामदारको लागि कार्यस्थल असुरक्षित रहेको बताउँदै कतार सरकारको ध्यानाकर्षण गराउदै आएको छ ।