भोलि देखि सिक्लेस माघे सक्रान्ति मेला : नेपाली काँग्रेसका सभापति देउवाले उद्घाटन गर्ने
13-January-2017

हुम तमु

तमु जातिको ऐतिहासिक र पर्यटकीय गाँउ सिक्लेसमा यही माघ १ गतेदेखि ४ गतेसम्म हुने सिक्लेस युवा क्लवको २२ औं वार्षिकोत्सव तथा सिक्लेस माघे संक्रान्ति मेला २०७३ को तयारी अन्तिम चरणमा पुगेको छ । बार्षिकोत्सव तथा मेलोको जानकारी गराउन मंगलवार पोखरामा सिक्लेस युवा क्लवद्धारा आयोजित पत्रकार सम्मेलनमा उक्त जानकारी गराएको हो ।

सिक्लेसको परम्परागत एवं मौलिकता, ऐतिहासिकताको प्रचारप्रसार, पर्यटन प्रवद्र्धन, खेल प्रतिभालाई अवसर प्रदान गर्न आयोजना गरिने मेलाको माघ १ गते पुर्व प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले उद्घाटन गर्नुहुने पत्रकार सम्मेलनमा क्लवका पुर्व सचिव देविजंग तमुले जानकारी दिनुभयो । करिब ७ लाख ६५ हजार खर्च लाग्ने अनुमान गरिएको मेलामा यस वर्ष गाँउस्तरीय नृत्य प्रतियोगिता थप गरिएको पत्रकार सम्मेलनमा बताइएको थियो ।

नृत्यमा प्रथम हुनेले ४० हजार, दोश्रोले ३० र तेश्रोले २० हजार रुपैयासहित प्राप्त गर्ने भएको छ । यसरी नै विगतका वर्षहरुमा झै पुरुष भलिबल, महिला भलिबल, पुरुष बास्केटबल प्रतियोगिता हुने आयोजकले जनाएको छ । पुरुष भलिलवमा प्रथम हुनेले ४० हजार, दोश्रोले ३० हजार, महिला भलिबलमा पहिलोले १५ हजार, दोश्रोले १० हजार, पुरुष बास्केटबल विजेताले ४० हजार, दोश्रोले ३० हजार रुपैयासहित ट्रफी, मेडल र प्रमाणपत्रबाट पुरस्कृत हुने भएकाछन् ।

सातसय सिक्लेसमा सय वर्ष भन्दा अघि देखि परम्परागत रुपमा सञ्चालन हुदै आएको छेलो प्रतियोगिता, स्थानिय तिर्थस्थलहरु म्हउदु र फैमक्यु जात्रा मेलाको ऐतिहासिक आकर्षक रहेको चिउली पार्चे तमु समाजका अध्यक्ष कप्तान गुमानधोज तमुले जानकारी दिनुभयो । मेलामा लोपोन्मुख घुर्रा घुमाई खेल प्रतियोगिता, आमा समुहको ह्याकुचे खेल प्रतियोगिता, बालबालिकाका विविध खेलहरु र विविध साँस्कृतिक प्रस्तुति हुने बताइएको छ ।

मेलाको अवसरमा करिब २० हजार आन्तरिक तथा बाह्य पर्यटक सिक्लेस भित्रने अनुमान गरिएको छ भने मेलाकै अवसरमा करिब डेढ घण्टा लाग्ने तातोपानी हाइकिङ, एक घण्टा लाग्ने रिसिधुँ डाडा हाइकिङ, करिब ६ घण्टा लाग्ने क्हफुचे हिमताल हाइकिङ गर्न सकिने प्रवन्ध मिलाइएको पुर्व सचिव देविजंग तमुले बताउनुभयो । सिक्लेसमा पर्यटकहरुका लागि व्यवस्थित होटलसहित घरघरमा व्यवस्थित होमस्टे सञ्चालन गरिएको क्लवका सचिव मिलन तमुले जानकारी दिनुभयो ।

मेलामा आयोजित विभिन्न प्रतियोगिताका लागि युके, हङकङ, इण्डोनेशिया, अमेरिका, ब्रुनाई र स्वदेशका सहयोगदाताहरुको पुरस्कार प्रायोजन गरी सघाएको सचिव मिलन तमुले जानकारी दिनुभयो । मेलाकै लागि तमु धिं युेका संस्थापक अध्यक्ष मिनप्रसाद तमुको संयोजनमा तमु धिं युकेका नवनिर्वाचित अध्यक्ष ज्ञाम तमु सहितको टोली सिक्लेस मेला अवलोकनका गर्ने आयोजकले जनाएको छ । यस वर्ष थप आकर्षणको रुपमा रहेको गाँउस्तरीय नृत्य प्रतियोगितको माघ २ गते तमु धिं युकेका अध्यक्ष ज्ञाम तमुले उद्घाटन गर्नुहुने कार्यक्रम रहेको पत्रकार समेत रहनु भएको क्लवका पुर्व सचिव देविजंग तमुले जानकारी दिनुभयो । क्लवका सचिव मिलन तमुको अध्यक्षतामा पोखरामा पत्रकार सम्मेलन सम्पन्न भएको थियो ।

Write a Comment