रुपन्देहीमा मतदाता परिचयपत्रमा फोटो खिच्नेको संख्यामा बृद्धि
17-January-2017

आचार्य प्रदीप/ माघ ४, बुटवल । जिल्ला निर्वाचन कार्यालय रुपन्देहीले पुस १७ गतेदेखि फोटो खिच्ने अभियान शुरु गरेको छ । अभियानको पहिलो १५ दिन ७ हजार बढिले फोटो खिचाएका छन् । गत वर्ष जम्मा ५ हजार जनाले मतदाता परिचय पत्रका लागि फोटो खिचाएका थिए । ‘जिल्ला निर्वाचन अधिकारी होमनाथ गौतमले भने–‘यो वर्ष १५÷१६ हजार जनाको फोटो खिचिन्छ ।’


फोटो खिच्नका लागि अहिले निर्वाचन कार्यालयले गाविस र नगरपालिकामा टोली खटाएको छ । जिल्लाका १२ स्थानमा एक दिनमा फोटो खिचिन्छ । नगरपालिकाका वडा कार्यालय र गाविसको कार्यालयमा २÷२ दिन टोली बसेर सेवा दिएको छ ।

०७० सालको संविधानसभा निर्वाचनमा जिल्लामा ४ लाख ३६ हजार मतदाता रहेका छन् । यो वर्षको पुससम्म ४ लाख ६० हजार २ सय ७० जनाले फोटो खिचाएका छन् । जिल्लामा २२ हजार जति मतदाताको सूचिमा समावेश छैनन् । ती मध्ये १५ हजारको फोटो खिचिने निर्वाचन कार्यालयले जनाएको छ ।

निर्वाचन हुनेमा शंकाका कारण उमेर पुगेका नागरिकहरुले पनि मतदाता परिचय पत्रका लागि फोटो खिचाउन नआउने गरेको निर्वाचन अधिकारी गौतमले बताए । निर्वाचन कार्यालयले १६ वर्ष पुगेकाको फोटो खिचेर राखेको छ । तर मतदान गर्नका लागि १८ वर्ष पुगेको हुनुपर्छ । मतदाता परिचय पत्रका लागि फाटो खिच्ने अभियानसंगै रुपन्देहीमा मतदाता शिक्षा दिने अभियान पनि चलाइएको छ ।

जिल्लाका माध्यमिक विद्यालयका कक्षा ९ देखि १२ सम्मका विद्यार्थीलाई मतदाता शिक्षा दिइएको छ । जिल्लामा फोटो खिच्ने काम माघ १८ गतेसम्म जारी रहेने निर्वाचन कार्यालयले जनाएको छ ।

 

Write a Comment

Events
Random Picks