सङ्ग्रहालय सम्बन्धी सम्मेलन सुरु
18-January-2017

माघ ५, काठमाडौँ । सङ्ग्रहालयको पुनःनिर्माण सम्बन्धी चार दिने अन्तर्राष्ट्रिय सम्मेलन आजदेखि काठमाडाँैमा सुरु भएको छ । 

अन्तर्राष्ट्रिय सङ्ग्रहालय सङ्घ नेपालले आयोजना गरेको सम्मेलनको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनबहादुर शाहीले उद्घाटन गर्नुभयो । मन्त्री शाहीले २०७२ सालको भूकम्पले क्षति पुगेका सङ्ग्रहालयको पुनःनिर्माणमा सम्मेलनले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । 
“नेपालमा रहेका सङ्ग्रहालयको संरक्षण गर्न नयाँ नीति नियम आवश्यक छ,” उहाँले भन्नुभयो । भूकम्पले क्षति पुगेको सङ्ग्रहालयको पुनःनिर्माण र व्यवस्थापनका लागि सरकार लागिपरेको र आफू सदैव सम्पदा संरक्षण र विकासमा प्रतिवद्ध रहेको बताउनुभयो । 

नेपाल सङ्ग्रहालय सङ्घका अध्यक्ष प्रेमसिंह बस्न्यातले उपत्यकामा मात्र नभएर अन्य ठाउँका पुराना सम्पदाको संरक्षणमा ध्यान दिनुपर्नेमा जोड दिनुभयो । सम्मेलनमा युनेस्को नेपालका प्रतिनिधि क्रिश्चियन मानहार्टले आफूहरुले भूकम्पबाट क्षति पुगेको सङ्ग्रहालयको मर्मत सम्भार गर्दै आएको बताउनुभयो । 

सङ्ग्रहालय सङ्घ नेपालका अध्यक्ष विजयकुमार शाहीले भूकम्पबाट क्षति पुगेका सङ्ग्रहालयको पुनःनिर्माणमा समुदायबाट सहयोग जुटाउने उद्देश्यले सम्मेलन आयोजना गरिएको जानकारी दिनुभयो । सम्मेलनमा नेपाल, चीन, जापान, ताइवान, स्लोभियालगायत देशका १६ जना प्रतिनिधिले सङ्ग्रहालय पुनःनिर्माण सम्बन्धी कार्यपत्र प्रस्तुत गर्ने छन् । सम्मेलनमा प्रस्तुत गरिएका कार्यपत्रमाथि छलफल र त्यसपछि भूकम्पबाट क्षति पुगेका उपत्यकाका विभिन्न सङ्ग्रालयको अवलोकन गरिने छ । रासस 

Write a Comment

Events