विमानस्थल भन्सार कार्यालयका सबै कर्मचारी फेरेर भन्सार सुधार्न अर्थमन्त्री महराको निर्देशन
19-January-2017

माघ ६, काठमाडौं । उपप्रधानमन्त्री तथा अर्थमन्त्री कृष्णबहादुर महराले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका सम्पूर्ण कर्मचारी फेरेर पनि त्यहाँको अवस्था सुधार्न निर्देशन दिए का छन्  । 

भन्सार विभागका महानिर्देशक शिशिर ढुङ्गानालाई मन्त्रालयमै बोलाएर उनले भने ‘एयरपोर्ट भन्सारमा एउटै कर्मचारी वर्षौंदेखि बसेको भन्ने मैले सुनेको छु, त्यसो हुनुभएन ।’ अर्थमन्त्री महराले भन्सार सुधारका लागि जोड दिँदै भने – ‘एउटै कर्मचारी एक वर्षभन्दा बढी त्यहाँ राख्न भएन ।’ 

वर्षौंदेखि एउटै कर्मचारी बसेर तस्करीको सेटिङ गरिरहेको गुनासो आएपछि, अर्थमन्त्री महराले यस्तो निर्देशन दिएकाे उनका सञ्चार विज्ञ त्रिभुवन पौडेलले जानकारी दिए । 

आधुनिक उपकरणसहित सुरक्षाका सबै कुरा अवलम्बन गरेर भन्सारलाई चुस्त, दुरुस्त र पारदर्शी बनाउन अर्थमन्त्री महराले विशेष निर्देशन दिएका हुन्  । 

विभागका महानिर्देशक ढुङ्गानाले अहिले कार्यरत कर्मचारीलाई कारबाहीको प्रक्रिया सुरु भएको र अरुका बारेमा पनि अनुसन्धान भइरहेको जानकारी गराए । उनले त्यहाँ भएका अनावश्यक धेरै कर्मचारी हटाएर थोरै कर्मचारीबाट नै चुस्त दुरुस्त सेवा दिन योजना बनाइरहेको बताए ।

– रासस