एकीकृत बस्ती निर्माणको शुभारम्भ
20-January-2017

काठमाडौं, माघ ८ । गोरखाको बगुवा–४ लामाचौरमा एकीकृत बस्ती निर्माणको शुभारम्भ गरिएको छ । ‘मिलन बस्ती, एकीकृत बस्ती’को शुक्रबार एक कार्यक्रमका बिच सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री हितराज पाण्डेले शिलान्यास गर्नुभयो । यो एकीकृत बस्तीमा बगुवा गाविसका चार गाउँलाई स्थानान्तरण गरिने छ ।

बगुवा गाविसको ४ र ५ नम्बर वडाका रिठ्ठेपानी, धारापानी, नयाँगाउँ र पाण्डेगाउँका १५६ घरधुरीलाई एकीकृत बस्तीमा स्थानान्तरण गरिने बताइएको छ । 

यो ठाउँमा केही निजी र केही सरकारी जग्गा एकीकरण गरेर एकीकृत बस्ती बसाउन लागिएको हो । झन्डै २०० रोपनी क्षेत्रफलमा उक्त बस्ती निर्माण गरिनेछ । हरेक घरधुरीलाई झण्डै ६ आना जग्गा छुट्टयाइएको छ । एकीकृत बस्तीमा निर्माण गरिने सबै घरहरू एकै प्रकृतिका र भूकम्पप्रतिरोधी हुने स्थानीयबासी हरिनारायण श्रेष्ठले जानकारी दिनुभयो । 

निजी आवास निर्माण गर्न सरकारले उपलब्ध गराएको अनुदान र स्थानीयको लगानीमा बस्ती विकास गरिने बताइएको छ । विभिन्न ६ वटा मार्ग रहेको उक्त एकीकृत बस्तीभित्र बालउद्यान, पौडी पोखरी र सभाहलसमेत निर्माण गरिने छ । 

एकीकृत बस्तीलाई पर्यटकीय गन्तव्यका रुपमा समेत विकास गरिने उहाँको भनाइ छ । गत वर्षको ‘गोरखा भूकम्प’बाट बगुवा गाविसका शतप्रतिशत घर ध्वस्त भएका थिए । रासस

Write a Comment