एनसेलमा अब फेसबुक पनि निःशुल्क
14-February-2017

काठमाडौ । एनसेलका ग्राहकहरुले अब मोबाइल डेटा सपोर्ट गर्ने मोबाइलबाट लोकप्रिय सामाजिक सञ्जाल फेसबुक निःशुल्क चलाउन पाउने भएका छन् । ‘इन्टरनेट सबैका लागि’ थिमअन्तर्गत देशको अग्रणी मोबाइल सेवाप्रदायक कम्पनी एनसेलले फेसबुकसँगको सहकार्यमा आकर्षक योजना ‘फेसबुक फ्रि’ सार्वजनिक गरेको छ ।

यो योजनाअन्तर्गत एनसेलका सबै प्रिपेड तथा पोस्टपेड ग्राहकले एन्ड्रोइड मोबाइल एप र ब्राउजर (प्रोक्सीबाहेक)बाट फेसबुकमा निःशुल्क आफ्ना स्टाटस पोस्ट गर्न, फोटो अपलोड गर्न, अरुको स्टाटस हेर्न, लाइक, सेयर तथा कमेन्ट गर्न सक्नेछन् । एनसेलको यो अफर लागू भएपछि फेसबुक पेजमा ‘गो टु फ्रि’  बटन स्वतः देखिनेछ । यो बटन क्लिक गर्नेबितिकै एनसेलका ग्राहकले फेसबुकको निःशुल्क संस्करणबाट फेसबुक ब्राउज गर्न सक्नेछन् ।

“फेसबुकसँगको सहकार्यमा आफ्ना ग्राहकका लागि यो लोकप्रिय सामाजिक सञ्जाल निःशुल्क चलाउन पाउने योजना ल्याउन पाउँदा हामी निकै हर्षित छौं । यसले ग्राहकलाई सामाजिक सञ्जालमार्फत देश विदेशमा रहनुभएका आफन्त, साथीभाइ र परिवारजनसँग सजिलै सम्पर्कमा रहन र इन्टरनेट सेवाको जनघनत्व बढाउन  मद्दत पु¥याउनेछ,” एनसेलका प्रबन्ध निर्देशक साइमन पर्किन्सले भने ।

विभिन्न अन्तर्राष्ट्रिय अध्ययनले इन्टरनेटको पहुँच र आर्थिक वृद्धिबीच स्पष्ट सम्बन्ध देखाएको परिप्रेक्ष्यमा एनसेल सरकारसँग सहकार्य गर्दै सन् २०२० भित्र सबै गाउँ विकास समितिमा इन्टरनेट पु¥याउने जस्ता राष्ट्रिय लक्ष्य प्राप्तिमा योगदान पुर्‍याउन कटिबद्ध रहेको पर्किन्सले बताए । “इन्टरनेट कभरेजमा वृद्धि गर्दै सुलभ दर तथा नवीनतम सेवामार्फत हामीले यस्ता राष्ट्रिय लक्ष्यमा योगदान पुर्‍याउन काम गरिरहेका छौं । प्रविधि तटस्थताले कभरेज विस्तारलाई थप गति प्रदान गर्नेछ,” ‘फेसबुक फ्रि’ योजना सार्वजनिक गर्दै पर्किन्सले मंगलबार भने ।

पर्किन्स र फेसबुकको एसिया प्यासेफिक क्षेत्रकी प्रमुख प्रतिनिधि तथा ग्रोथ पार्टनरसिपकी प्रमुख आन्ना नाइग्रेनले संयुक्तरूपमा ‘फेसबुक फ्रि’ सार्वजनिक गरेका थिए ।

‘फेसबुक फ्रि’ अफर बुधबार (फागुन ४) बाट लागू भई ९० दिनका लागि रहनेछ । यो अफर फेसबुकसँग विश्वव्यापी रूपमा उसको आन्तरिक प्रणालीसँग मिलाइएको हुनाले निःशुल्क संस्करणका लागि ग्राहकले कुनै छुट्टै सेवा सुचारु गर्नुपर्ने छैन ।

अफरमा फेसबुकका अधिकांश फिचर निःशुल्क उपलब्ध छन् । फेसबुकमा अरुले अपलोड गरेका फोटो तथा भिडियो हेर्न भने विद्यमान डेटा शुल्क लाग्नेछ । आफूले ब्राउज गरिरहेको फेसबुक पेजको माथि दायाँतिर रहने ‘सि फोटोज’ बटन क्लिक गरी सशुल्क संस्करणमा फोटो तथा भिडियो हेर्न सक्नेछन् । फेसबुकको फ्रि संस्करणबाट सशुल्क संस्करणमा जानुभन्दा अगावै ग्राहकलाई सूचित पनि गराइन्छ ।

फेसबुकको पेड संस्करणमा फोटो तथा भिडियो हेर्न ग्राहकले फेसबुक पेजबाटै आफ्नो आवश्यकताअनुसारका डेटा प्याक खरिद गर्न पनि सक्नेछन् । त्यसैगरी *१२३# डायल गरी प्राप्त निर्देशनअनुसार पनि ग्राहकले आफूलाई चाहिएको डेटा प्याक खरिद गर्न सक्नेछन् ।
फेसबुकका अनुसार हाल नेपालबाट ८० लाखभन्दा बढी मानिसहरू फेसबुक जोडिएका छन् ।

‘फेसबुक फ्रि’ सुविधा प्रोक्सी ब्राउजरमा भने उपलब्ध हुनेछैन ।

Write a Comment

Events