सरकारी वकिलले खुकुलो बनाए लागुऔषध मुद्दा
2-March-2017

काठमाडौः औषधी बनाउन आयात गरिएको प्रिकर्सर रसायन (स्युडोएफेड्रिन) बिक्री गरेको घटनामा मुछिएका एसआर फर्मास्युटिकल्स कम्पनीका सञ्चालक मधुसुदन अग्रवाल उन्मुक्तिको घटनामा प्रहरी आश्चर्य चकित बनेको छ ।

पूर्व सभासद् समेत रहेका अग्रवालविरुद्ध लागूऔषध नियन्त्रण ब्यूरो (एनसीबी) ले प्रमाणसहितको विवरण सरकारी वकिल कार्यालयमा बुझाएको थियो ।

एसआरले गृह मन्त्रालय र औषधी व्यवस्था विभागको स्वीकृतिमा आयात गरेको स्युडोएफेड्रिनमध्ये एक हजार ६ सय ६२ किलो ८० ग्राम औषधि नबनाएको पाइएपछि प्रहरीले अनुसन्धानको दायरामा ल्याएको थियो । स्युडोएफेड्रिनबाट अन्तराष्ट्रिय लागूऔषधका गिरोहले महँगो लागूऔषध एम्फेटामाईन बनाउँदै आएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

अग्रवाल सञ्चालक रहेको एसआरले पनि लागूऔषधका अन्तराष्ट्रिय गिरोहसँग मिलेर स्युडोएफेड्रिन तस्करी गरेको आरोप प्रहरीको थियो । एनसीबीले सरकारी वकिल कार्यालयमा मिसिल बुझाउँदा लागूऔषध निवारण ऐन २०३२ अनुसार हदैसम्मको कारबाहीका लागि राय पेश गरेको थियो ।

जसअनुसार दुई वर्षदेखि १० वर्षसम्मको कैद सँजाय र बिगोअनुसारको जरिवाना कायम गरिने उल्लेख गरिएको थियो ।

अग्रवालकै साझेदारीमा अर्को औषधी कम्पनी टौरस फर्मा ल्यावले समेत एक हजार चार सय ३७ किलो ३५ ग्राम स्युडोएफेड्रिन औषधी नबनाई कन बाहिर तस्करी गरेको आरोप थियो,

जसमा प्रतिवादी थिए अग्रवाल खडानन्द शर्मा, आशिष अग्रवाल र सञ्जय शर्मा । तर, सरकारी वकील कार्यालयले भने प्रहरीको रायलाई उल्ट्याउँदै अग्रवालसहित अमित अग्रवाल आशिष अग्रवाललाई मुद्दा नचलाई संजय कुमार गुप्ता र खडानन्द शर्मा विरुद्धमात्रै मुद्दा चलाएको छ ।

ब्यूरोले पाँचै जनालाई संगठित अपराधमा समेत मुद्दा चलाउन मिल्ने भन्दै सरकारी वकिल कार्यालयलाई सिफारिस गरेको थियो । उनीहरुले संगठीत रुपमा अवैध सम्पत्ति आर्जन गरेको आशंका पछि ब्यूरोले सम्पत्ति छानविन गर्न सम्पत्ति शुद्धिकरण विभागमा समेत पत्र पठाएको पाईएको छ ।

ब्यूरोका एक अनुसन्धान अधिकृतले भने, ‘एक जनालाई मात्रै उन्मुक्ति दिएको भएपनि आश्चर्य मान्नुपर्ने थिएन, पाँच जनालाई उन्मुक्ति दिनुमा सरकारी वकिल कार्यालयको सेटिङ अभियुक्तसँग छ भन्ने प्रष्ट हुन्छ ।' उनले अग्रवाल आफैं सञ्चालक रहेको औषधी कम्पनीमा स्युडोएफेड्रिन गायब भएको बारेमा थाहा नहुने सम्भावना नरहेको दावी गरे ।

स्रोतका अनुसार पूर्व सभासद् अग्रवाल सञ्चालक रहेको एसआर फर्माका अर्का कर्मचारी हरिशंकर शर्मा अझै फरार छन् । स्युडोएफेड्रिन तस्करीका लागि उनै शर्माको मिलेमतो हुनसक्ने आशंका प्रहरीको छ । शर्मालाई फेलापरेका बखतमा बयान लिएर अभियुक्तको रुपमा पेश गर्ने राय समेत ब्यूरोले सरकारी वकिल कार्यालयलाई बुझाएको छ ।

भारतीय नागरिक रहेका शर्माले अग्रवालसँगको मिलेमतोमा स्युडोएफेड्रिन भारतीय बाटो हुँदै चीनतर्फ तस्करी गर्दै आएको दावी प्रहरीको छ । ब्यूरोका एसएसपी धिरु बस्नेतले अग्रवालको उन्मुक्तिमा आफू आश्चर्यमा परेको बताए ।

उनले भने, ‘हामीले स्युडोएफेड्रिन तस्करीको प्रमाणसहित सरकारी वकिल कार्यालयमा फाईल बुझाएका थियौं, उनले कसरी उन्मुक्ति पाए आश्चर्यमा छौं, सरकारी वकिल कार्यालयसँग समेत छलफल गर्ने तयारीमा छौं ।'

ब्यूरोले सरकारी वकिल कार्यालयलाई पठाएको मिसिलमा आर्या र टौरस दुवैले कम्पनीबाहिर गाडीमा लैजाँदाको गाडीको गेट पास समेत राखेको थियो ।

‘झण्डै ३१ सय किलो स्युडोएफेड्रिन गायब भएको छ तर सञ्चालकले थाहा पाएनन् भन्ने हुँदैन, स्रोतले भन्यो, ‘हाल कारबाहीमा पर्न लागेका सरकारी वकील कार्यालय प्रमुख टेकबहादुर घिमिरेले यो घटनामा धेरै महत्व दिएर हेरेका थिए, पहिला अर्के वकीलले हेरेको केश घिमिरेले पछि आफैं तानेर हेरेका थिए ।'

दुई वटा गाडी नम्बर र गेट पाससहित प्रमाण पेश गर्दा समेत सरकारी वकिल कार्यालयले गाडी कारबाहीको लागि तान्न कुनै ताकेता नगरेको ब्यूरोको दावी छ ।

ब्यूरोका अनुसार दुई वटा औषधी कम्पनीले तस्करी गरेको स्युडोएफेड्रिनबाट अन्तराष्ट्रिय लागूऔषधका गिरोहले एक हजार आठ सय किलो एम्फेटामाईन बनाउन सक्छन् ।

अग्रवालसहित पाँच जनालाई उन्मुक्ति दिएको विषयमा महान्यायाधिबक्ताको कार्यालयले जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका प्रमुख घिमिरेलाई कारबाहीको लागि कानुन मन्त्रालयमा पत्र पठाएको थियो ।

 

Write a Comment

Events