मनकामना मन्दिरको गजुर झिकियो,जिर्णेद्धार शूरु
9-June-2015

जक्सन डटकम,२६ जेठ / प्रसिद्घ धार्मिकस्थल मनकामना मन्दिर जीर्णोद्धारका लागि भत्काउन सुरु गरिएको छ । मन्दिरको सोमबार गजुर झिकिएको छ ।
धार्मिक विधिअनुसार सोमबार बिहान साढे ११ बजे मन्दिरको गजुर निकालिएपछि औपचारिक रूपमा मन्दिर भत्काउन सुरु भएको मनकामना मन्दिर जीर्णोद्घार समितिका संयोजक नरेन्द्रबाबु श्रेष्ठले बताए ।

‘सुनको जलप लगाइएको गजुर मन्दिरनजिकै भजन मण्डलीमा भल्डभित्र सुरक्षित तवरले राखेका छौँ,’ श्रेष्ठले भने, ‘पाँचवटा ताल्चा लगाएर भल्डभित्र गजुर राखेका छौँ, त्यसको सुरक्षाको जिम्मा नेपाल प्रहरीलाई दिएका छौँ ।’

पाँच साँचोमध्ये गजुर राखिएको भल्डको पहिलो र अन्तिम साँचोको जिम्मा प्रहरीलाई दिइएको हो । जीर्णोद्घार समिति, पुरातत्त्व विभाग र पुजारीले एक/एकवटा साँचो राखेका छन् ।

चार सय वर्ष पुरानो मन्दिरको गजुर निकालिएसँगै अब मन्दिर भत्काउन सुरु हुने अध्यक्ष श्रेष्ठले जानकारी दिए । ‘अब मन्दिरको छाना र टुँडाल झिक्ने काम हुन्छ,’ अध्यक्ष श्रेष्ठले भने, ‘सयम र परिस्थितिले साथ दियो भने दुई वर्षभित्र मन्दिर बनिसक्छ ।’

वैशाख अन्तिम साता मन्दिर भत्काउन सुरु गर्ने तयारी भए पनि भूकम्पका कारण रोकिएको थियो । मन्दिर जीर्णोद्घार गर्न भक्तपुरबाट आएका नौजना कालिगढ खटिएका छन् । आवश्यक परे कामदार स्थानीयस्तरबाटै परिचालन गर्ने जीर्णोद्घार समितिको तयारी छ ।

भूकम्प जानुअघि दक्षिण–पश्चिम ६ इन्च ढल्किएको मन्दिर भूकम्प गएपछि थप ६ इन्च ढल्किएको छ । ‘लगातार आइरहेको परकम्पले मन्दिरलाई असर गर्छ कि भनेर बाँसको टेका दिएर राखेका थियौँ,’ श्रेष्ठले भने । भूकम्पका कारण मन्दिरको पश्चिमपट्टिको माथिल्लो तलाको गारो झरेको छ ।

यसको लगत स्टमेटअनुसार मन्दिर जीर्णोद्घारका लागि साढे आठ करोड लाग्ने अनुमान गरिए पनि अब सो रकमले जीर्णोद्घार सम्भव नदेखिएको श्रेष्ठको भनाइ छ । ‘सामानको मूल्य पनि बढेको छ, एक वर्षअघि गरेको स्टेमेटमा साँढे आठ करोड लाग्ने भनेका थियौँ, अब त १५ करोडसम्म लाग्ने हाम्रो अनुमान छ,’ श्रेष्ठले भने, ‘पश्चिमपट्टिको भागको त स्टमेट नै भएको थिएन, पश्चिमपट्टि रिटेनिङ वाल बनाउनुपर्छ, त्यो रकमसमेत जोड्दा १५ करोड अनुमान गरेका हौँ ।’

मन्दिर जीर्णोद्घारका लागि एक लाख इँटा खरिद भइसकेको छ भने ४० हजार इँटा केही दिनभित्रै ल्याउने जीर्णोद्घार समितिका संयोजक श्रेष्ठले बताए । मन्दिरका लागि चाहिने आवश्यक काठ जीर्णोद्घार समितिले हेटौँडाबाट ल्याएको छ । भूकम्पले मन्दिरमा क्षति पुर्‍याएपछि अहिले नित्य पूजाबाहेक अन्य पूजा भएको छैन ।

Events
Random Picks