वृद्धद्वारा चौतारी निर्माण
8-March-2017

रामपुर (पाल्पा), फागुन २५। चौतारीको संरक्षण र अस्तित्व जोगाउने उद्देश्यले रामपुरका स्थानीयवासी ७० वर्षीय जयनारायण न्यौपानेले चौतारी निर्माण गर्नुभएको छ ।

रामपुर नगरपालिका–९ तातोपानी, शालिकरामघाटमा न्यौपानेले आफ्नै लगानीमा लक्ष्मीनारायण चौतारी निर्माण गर्नुभएको हो । उहाँले झन्डै रु ८० हजारको लागतमा पक्की चौतारी निर्माण गर्नुभएको छ । आजभन्दा १० वर्षअगाडि आफैँले वरपिपल र स्वामीका बिरुवा रोपण गरेको चौतारीको संरक्षणका लागि पक्की चौतारी निर्माण गरेको न्यौपानेले बताउनुभयो ।

उहाँले चौतारी नजिकै आँपका बोटसमेत रोपण गर्नुभएको छ । तातोपानीघाट नजिकै निर्माण गरिएको यस चौतारीमा घामलाग्दा गर्मीबाट बच्न, गोठालो जानेलाई बस्न तथा कालीगण्डकी स्नान गर्न आउनेका लागि आराम गर्न सहज होस् भनेर चौतारी निर्माण गरेको उहाँले बताउनुभयो । रासस

Write a Comment