त्रिपालमा सुत्केरीको बिजोग
11-June-2015

लङ्गरचेत (धादिङ), जेष्ठ २८ - दुर्गम गाउँ री ९ किचेतका १९ वर्षीय उमेश तामाङ सुत्केरी पत्नी स्याहार्नुपरेपछि अलमल्ल परेका छन् । १८ वर्षीया पत्नी अनितालाई सुत्केरी बेथा लागेपछि शुक्रबार साँझ डोकोमा बोकेर ३ घन्टा टाढाको री २ गाङनाम पुर्‍याए । त्यहाँ सञ्चालित गणेश हिमाल हेल्थ सेन्टरमा शिशु जन्मिएपछि शनिबार बिहान पुन: डोकामै बोकेर विस्थापितहरूको त्रिपालबस्तीमा पुर्‍याए । उनलाई भूकम्पबाट विस्थापित किचेतका बासिन्दा बसिरहेको लङ्गरचेत पुग्न उकालोमा ५ घन्टा लाग्यो ।

बिहे गरेर २ वर्षअघि नै आमाबाबुबाट भिन्न बसेका उनलाई सुत्केरीको आहार र खानपिनबारे केही थाहा छैन, सेनाले राहतस्वरूप दिएको चाउचाउको झोल र चामल पकाएर खान दिएका छन् । ‘सुत्केरीलाई खुवाउनु पर्ने ज्वानो र घस्ने तेल पनि छैन, पोकाको डाल्डातेल घस्न खोजेको छिमेकी दिदीले दिनुभएन,’ उनले भने । दिदी सुत्केरी हुँदा भेडा र ८ वटा कुखुरा लिएर भेट्न गएका थिए । भाइ नाता पर्नेलाई छिमेकीगाउँ तावल पठाएर १ हजार ७ सयमा डेढ किलोको लोकल कुखुरा ल्याए । त्यसबाट ६ छाक टर्‍यो । तातो दूध त टाढाको कुरा, तातोपानीसम्म दिने अवस्था छैन । ‘संस्थाले दिएको टेन्टमा सेनाको हेलिकप्टरमा आएको राहतले कति दिन धान्ने । वर्षातमा हेलिकप्टर पनि आउने हो कि होइन,’ स्थानीय प्रेम तामाङले भने ।

लङ्गरचेतको त्रिपालबस्तीमा गत चैतदेखि जेठ तेस्रो सातासम्म जन्मेका २३ बालबालिका र सुत्केरी छन् । ९ महिला त महाभूकम्पयता सुत्केरी भएका हुन् । ३ साताअघि समस्यामा परेका २ महिलालाई सुत्केरी गराउन हेलिकप्टरमै राजधानी पुर्‍याइयो । अन्य महिला भने त्रिपालबस्तीमै बिजोग अवस्थामा छन् ।

गाउँ नै विस्थापित भएकाले छिमेकी र आफन्तजनले न्वारानका दिन ल्याउने ‘सुत्केरीखर्च’ को चलन यसपाला हराएको छ । कोदाको ३२ मसला हालेको पुवा, तेल र ज्वानो हालेको ढकनी भात र मासु दिएर शुद्ध हुने दिन आफन्तहरू ‘नौरानी’ (न्वारानमा) जाने प्रचलन थियो । आफन्तजनले ल्याएको खानपिनले सुत्केरीहरू टन्न हुन्थे । ‘आफ्नै बेहाल रहेकाले अर्को घरको सुत्केरीको रेखदेख गर्न सक्ने अवस्था छैन,’ पूर्वगाविस उपाध्यक्ष दीपक तामाङले भने ।

री ३ गाम्नाङकी १९ वर्षीया विष्णुमायाको स्याहार गर्न धिरज तामाङ व्यस्त थिए । री २ की सुनमायालाई स्याहार्न ससुरा दया लामा तामाङलाई हम्मेहम्मे परेको छ ।

री २ र ३ मा पर्ने कुताल गाउँका १ सय ५० परिवार स्कुलडाँडामा त्रिपालमुनि बसिरहेका छन् । ४, ७ र ९ का बासिन्दा पूरै गाउँ खाली गरेर किमीचेतमा बसेका छन् । सबै बस्तीमा गत चैतयता सुत्केरी भएकाहरूको संख्या उल्लेख्य छ । सबै सुत्केरीले उचित स्याहार र पौष्टिक खाना पाएका छैनन् । टेन्टभित्र गर्मीका कारण ५ वर्षमुनिका बालबालिकालाई छाला चिलाउने समस्या देखिएको छ । विद्यालय अभावमा विद्यार्थी बरालिएका छन् ।

७ हजार फिट उचाइमा साँझबिहान गणेश हिमालको सिरेटोले काँप छुटाउँछ । त्रिपालबस्तीका सबैलाई खाद्यान्न पुर्‍याउने ढुवानीको एक मात्र साधन हेलिकप्टर हो ।

 

source:http://www.ekantipur.com/np/2072/2/28/full-story/410673.html

Write a Comment

Events
Random Picks