ताप्लेजुङ्गको पहिरोमा परि मृत्यु हुनेको संख्या २८ पुग्यो
11-June-2015

ताप्लेजुङ, २८ जेठ । वुधबार साझदेखि परेको बर्षा संगै ताप्लेजुङको विकट पश्चिमी क्षेत्रका बिभिन्न गाउं विकास समितिमा गएको पहिरोमा परी हालसम्म २८ जनाको मृत्यु भएको छ ।

आठ जना गम्भिर घाइते भएका छन् । मृतकमध्ये लिङतेपका चमेली लिम्बू र मनमाया लिम्बु, लिवाङका देबेन्द्र लिवाङ, खोक्लिङका सबिन मादेन र बसन्त बिकको मात्र सनाखत भएको छ ।

ताप्लेजुङका लिबाङ, थोक्लिङ, थिङलाबु र लिङकेत गाविसको सबै वडामा एकै चोटी भिषण पहिरो जांदा उनिहरुको मृत्यु भएको हो । यि गाविसबाट अझै केही स्थानिय सम्पर्कमा नआइसकेकाले मृतकको संख्या अझै बढ्न सक्ने प्रहरीले जनाएको छ ।

खामलुङ गाविसका केही वडामा पनि पहिरो गएको छ । मृत्यु भएकाहरुमध्ये लिबाङ–१ बाट १२ जनाको शव, लिवाङ–३ बाट चार जनाको शव, लिङकेतबाट तीन जनाको शव, थिङलावुबाट पांच जनाको शव, खोक्लिङबाट २ जनाको शव र सान्थाक्राबाट दुई जनाको शव निकालिएको प्रहरीले जनाएको छ ।

पश्चिमी ताप्लेजुङका ६ गाविसका खोला आसपास र डांडामा रहेका दुई दर्जन बढी घर पहिरोले बगाएको हो । पहिरोले लिङतेप, खोक्लिङ, लिवाङ र थिङलावु गाविस सबैभन्दा बढी प्रभावित भएका छन् ।

बर्षा भईरहेको र खोल्सा तथा खोला बढेका कारण उद्धारमा समेत कठीनाई भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । उद्धारको लागि काठमाडौंबाट समेत सेनाको हेलिकप्टर ताप्लेजुङ गएपनि खराव मौसमको कारण घटनास्थल पुग्न सकेको छैन ।

स्थानिय प्रहरी र स्थानीय सर्वसाधारण अहिले प्रभावित स्थानमा उद्धारमा खटिएका छन् । उता, गएराती नै ताप्लेजुङको म्याङखामा पनि पहिरो जांदा मेची राजमार्ग अवरुद्ध बनेको छ ।

Write a Comment

Events
Random Picks