२०७३ साललाई फर्केर हेर्दा…
13-April-2017

२०७३ साल पनि विगतका बर्षहरु जस्तै उत्तरचढाव पुर्ण रह्यो । राजनीतिक आर्थिक सामाजिक , सास्कृतिक रुपमा पनि ७३ साल धेरै नकारात्मक नभएपनि त्यति धेरै उत्साहपुर्ण भने बन्न सकेन ।

सरकार परिवर्तन, संविधानविरोधी आन्दोलन, सर्वोच्च अदालतबाट मुख्य दुई नियुक्तिको बदर, राजदुत नियुक्तिमा विवाद लगायतका घटना २०७३ सालका सम्झनयोग्य घटनाका रुपमा रहे ।

सरकार परिवर्तन

२०७३ सालमा नेपालमा दुईवटा सरकार बने । यी दुवै सरकार कम्युनिष्ट पार्टी एमाले र माओवादी नेतृत्वमा बने । नौ महिना अघि कांग्रेसको समर्थनमा प्रधानमन्त्री बनेका एमाले अध्यक्ष केपी ओलीलाई कांग्रेस माओवादी सहितका दलले अविश्वासको प्रस्ताव पेश गरेपछि ओलीले गत २०७३ साल साउन ९ गते पदबाट राजिनामा दिए ।

ओलीको राजिनामापछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल साउन १९ गते प्रधानमन्त्रीमा निर्वाचित भए । नयाँ सरकार बनाउदा प्रचण्डले ३६३ मत ल्याएर नेपालको ३९ औं प्रधानमन्त्रीमा निर्वाचित भए भने उनको विपक्षमा २१० मत परेको थियो ।

संविधान संशोधन दर्ता र फिर्ता

२०७३ सालभर संविधानको विरोध भइरह्यो । खासगरी मधेसी, जनजाती, दलित, थारु लगायतले संविधानको अपनत्व ग्रहण गर्न सकेनन् । संविधानको विरोधमा मधेसका जिल्लाहरुमा आन्दोलन चर्किरह्यो । मधेसबादी दलहरुले संविधान संशोधन गर्नुपर्ने अडान राखिरहे भने एमाले लगायतले त्यसको विरोध गर्यो । सरकारले मधेसीलाई मनाउन मंसिर १४ गते संसदमा संशोधन प्रस्ताव दर्ता भयो । मधेसी मोर्चालाई मनाउन दर्ता भएको संसोधन प्रस्ताव पारित गर्न सांसद नपुगेपछि सरकारले चैत २९ दोस्रो संशोधन प्रस्ताव फिर्ता लिएर त्यहि दिन अर्को नयाँ ११ बुँदे संशोधन दर्ता गरायो ।

लोकमान र जयबहादुरको विपक्षामा सर्वोच्च

यो बर्षको चर्चित घटना मध्येकै अर्को घटना हो, लोकमानसिंह प्रकरण । यहि बर्ष अख्तियार प्रमुख लोकमान सिंह कार्कीको नियुक्ति बदर भयो । सर्वोच्च अदालतले पुस २४ गते लोकमासिंह कार्कीलाई अख्तियार प्रमुखमा नियुक्ति गर्ने तत्कालिन सरकारको निर्णय बदर गर्यो । तत्कालिन अख्तियार प्रमुख लोकमानले सरकारको कार्यकारी अधिकारमाथि हस्तक्षेप गरेको भन्दै व्यापक गुनासोसँगै कार्कीको योग्यतामाथि नै प्रश्न उठेपछि सर्वोच्चले उनीमाथि छानविन गरेको थियो । उनीमाथि अदालत परिसरमा नै कालोमोसो दलिएको थियो यो घटना नेपालको इतिहासमा सम्झनलायकमात्र छैन, उनी अदालतको आदेशपछि देश नै छाडेर हिडेका छन् । कार्कीको नियुक्ति बदरपछि अखितयारमा अझै प्रमुख आयुक्त नियुक्त हुन सकेको छैन । न्यायाधीश ईश्वर खतिवडा, आनन्दमोहन भट्टराई र अनिल सिन्हाको पूर्णइजलासले अख्तियारमा लोकमान नियुक्तिको बदर गरेको थियो ।

लोकमानलाई २०७० साल वैशाख २२ गते बसेको संवैधानिक परिषद्ले अख्तियार प्रमुखमा सिफारिस गरेको थियो । यसैगरी सरकारले तेस्रो वरियताका जयबहादुर चन्दलाई वरियता क्रममा दोस्रो स्थानमा रहेका एआईजी नवराज सिलवालको पालो मिचेर प्रहरी महानिरीक्षकमा नियुक्त गर्ने निर्णय गरेपछि सर्वोच्चले बदर गरिदियो । यो घटनाले पनि नेपाली राजनीतिमा ठूलै विवाद निम्त्यायो । पछि सरकारले प्रकाश अर्याललाई आइजीपीमा नियुक्त गर्यो ।

भारतीय राष्ट्रपतिको भ्रमण

झण्डै दुइ दशकदेखि हुन नसकेको भारतीय राष्ट्रपतिको नेपाल भ्रमण पनि ०७३ सालमै भयो । भारतीय राष्ट्रपति प्रणव मुखर्जीले गत कार्तिक १७ गतेबाट तीन दिने नेपाल भ्रमण गरेका थिए । जुन भ्रमणलाई निकै महत्वका साथ हेरिएको थियो । त्यसवेला मुखर्जीलाई स्वागत गर्न नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेकी थिइन् । भ्रमणका क्रममा राष्ट्रपतिको जनकपुरमा नागरिक अभिनन्दन समेत भएको थियो ।

प्रधानमन्त्रीको चीन र भारत भ्रमण

यसैवर्ष प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले छिमेकी मुलुक चीनको तीन दिने भ्रमण गरेका छन् । चैत १० गतेदेखि १३ गतेसम्म भएको उक्त भ्रमणका अवसरमारमा प्रधानमन्त्री प्रचण्डले बोआओ फोरम फर एसिया सम्मेलनमा सम्बोधन गरेका थिए । यो भ्रमणका अवसरमा प्रधानमन्त्री प्रचण्डले चिनियाँ राष्ट्रपति सि जिनपिङ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटबार्ता गरेका थिए ।

त्यस्तै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले यसैवर्ष भारतको चारदिने औपचारिक भ्रमणमा समेत गरेका छन् । भदौ ३० गतेदेखि असोज २ गतेसम्म प्रधानमन्त्रीले भारत भ्रमण गरेका हुन् । दोस्रोपटक प्रधानमन्त्री बनेपछि प्रचण्डको यो पहिलो विदेश भ्रमण हो ।

दुई राप्रपा एकीकरण

२०७३ सालमै अर्को एक महत्वपुर्ण घट्नाक्रम पनि भयो । त्यो हो राजतन्त्रको एजेन्डालाई थाती राख्दै दुई राप्रपा (राप्रपा र राप्रपा नेपाल) बीचको एकीकरण । मंसिर ६ गते भएको सो एकीकरणपछि राप्रपाको अध्यक्ष कमल थापा बने ।

एकीकृत पार्टीको नाम राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) राखियो । पार्टी एकीकृत भएपछि व्यवस्थापिका संसदमा राप्रपाको सिट संख्या ३७ पुग्यो ।

राजदुत नियुक्तिमा विवाद

सरकारले यहि बर्ष भागबण्डाको आधारमा १४ मुलुकका लागि राजदूत सिफारिस गर्यो । मन्त्रिपरिषद्को फागुन नौ गतेको बैठकले सत्तासाझेदार प्रमुख चार दलबीच भागबण्डा गरेर राजदूत सिफारिस गरेपछि त्यसको चौतर्फि विरोध भयो । भागबण्डा अनुसार काग्रेसका ६, माओवादी केन्द्रका ४, राप्रपाका ३ र फोरम लोकतान्त्रिकका १ जना राजदुत सिफारिस गरेपनि दुइजनाको नाम सरकारले फिर्ता लियो ।

स्थानीय तह निर्वाचन

यहि बर्ष स्थानीय तहको निर्वाचन घोषणा भयो । २० वर्ष पछि संघीय ढाँचामा हुने स्थानीय चुनावको मिति घोषणा भयो भने नेपालमा ४ महानगर, १३ उपमहानगर, २ सय ४६ नगर तथा ४ सय ८१ गाउँपालिका कायम गरियो । यद्यपी यो घटबड हुने सम्भावना अझे रहेको छ । पछिल्लो पटक निर्धारण गरिएका यी स्थानीय निकायमा सरकारले वैशाख ३१ गते निर्वाचन गरी स्थानीय सरकार तथा स्थानीय जनप्रतिनिधिलाई हस्तान्तरण गर्ने तयारी पनि भइरहेको छ ।

स्ववियु चुनाव

यसैबर्ष विद्यार्थीहरुका लागि महत्वपुर्ण मानिने स्ववियु चुनाव भयो । फागुन १४ गते सरकारले विद्यार्थी युनियनको निर्वाचन सम्पन्न गरायो । उक्त निर्वाचन समानुपातिक प्रणालीमा आधारित थियो ।

परिक्षामा परिवर्तन

२०७३ सालबाटै प्रवेशिका परीक्षा पनि भनिने एसएलसी परीक्षा प्रणालीमा व्यापक परिवर्तन गरियो । विगतका वर्षहरूमा आधाभन्दा बढी परीक्षार्थी अनुत्तीर्ण रहँदै आएको एसएलसी परीक्षालाई खारेज गरेर सरकारले यसै वर्षदेखि कुनै पनि परीक्षार्थी अनुत्तीर्ण नहुने गरी प्रवेशिका परीक्षाको परीक्षाफल अक्षरांकन पद्धतिमा लाने निर्णय भयो ।

सप्तरी र कञ्चनपुर गोली काण्ड

एमालेले गरेको मेची महाकाली अभियानका क्रममा मधेसी मोर्चाले विरोध गर्दा फागुन २३ गते सप्तरीमा भएको गोली काण्डमा ६ जनाले ज्यान गुमाउनु पर्यो ।

उता, कञ्चनपुर जिल्लाको आनन्द बजारमा भारतीय सशस्त्र प्रहरी बल (सीमा सुरक्षा बल) ले दसगजासम्बन्धी विवादमा गोली चलाउँदा स्थानीय गोविन्द गौतमको निधन भयो ।

उक्त घटनापछि नेपाल र भारत सम्बन्धबारे निकै चासो र चर्चा भएन मात्रै भरातविरोधी सेन्टीमेन्ट नेपालमा धेरे देखियो । अन्तत भारतले समेत गल्ती स्वीकार गर्न बाध्य भयो र दोषीलाई सजाय तथा पीडितलाई क्षतिपूर्ति दिने निर्णय गर्यो भने मृतक गोविन्द गौतमलाई नेपाल सरकारले शहिद घोषणा गर्यो ।

अरु केके भयो ?

– २०७३ को सुरुमै बैशाख १२ गते थिन्ले डेन्डुपको दुर्घटनामा ज्यान गयो । डोल्पा जिल्लाको परिवेशमा निर्माण भएको चलचित्र ‘क्याराभान’का नायक थिन्लेको डोल्पा सदरमुकामबाट आफ्नो गाउँ फर्किदा घोडाबाट भीरमा खसेर मृत्यु भयो ।

– जेठ २५ मा बरिष्ठ संगीतकार अमर गुरुङले देहत्याग गरे । नौलाखा तारा उदाए गीतबाट संगीत यात्रा सुरु गरेका गुरुङका सयौं सिर्जना कालजयी छन् । ‘सयौ थुंगा फुलका हामी …’ राष्ट्रिय गानको सर्जक पनि थिए गुरुङ ।

– भदौं ९ मा चर्चित गीत ‘वारी जमुना पारी जमुना पारी जमुना’ का गायक खेमबहादुर गुरुङको काठमाडौंमा मृत्यु भयो ।

– भाद्र ११ मा जनजाति आन्दोलनमा अग्रणी एवं पूर्बमन्त्री गोरेबहादुर खपाङ्गीको मृत्यु भयो । खपाङगी तत्कालीन राजा ज्ञानेन्द्र शाहकालमा महिला तथा बालबालिका मन्त्री बनेका थिए ।

–भदौ २८ मा गायक, एरेन्जर तथा गिटारिष्ट सुनिल बर्देवाको निधन भयो । कुनै समय ‘गोरेटो अनि उस्तै छ गल्ली’ बोलको गीतबाट चर्चा पाएका बर्देवाले हजार भन्दाबढी गीतमा ‘एरेन्जर’को रुपमा काम गरेका थिए ।

 


– असोज ९ मा पूर्वगृहमन्त्री तथा मुख्य मुख्यसचिव माधव घिमिरेले दुर्घटनामा ज्यान गुमाए । दोस्रो संविधानसभाको निर्वाचन गराउन खिलराज रेग्मी नेतृत्वको गठित सरकारमा घिमिरे गृहमन्त्री थिए ।

–मंसिर २४ मा बिभिन्न टेलिश्रृखलामा हास्य कलाकारका रुपमा चर्चित ‘लाजाराम’ नामले परिचित आरपी भट्टराईको निधन भयो ।

– पुस १ मा मुस्ताङका ३४ औं पूर्वराजा जिग्मे पलवर बिष्टको ८६ बर्षको उमेरमा निधन भयो ।

– पुस १४ मा साहित्यकार कमलमणि दीक्षितको निधन भयो । दीक्षित मदन पुरुस्कार पुस्तकालय र मदन गुठीका संस्थापक तथा अध्यक्षसमेत भएका थिए ।


–माघ १ गते युवा जगतमा पछिल्लो समय निकै चर्चामा रहेका ¥यापर यूवा गायक अनिल अधिकारी (यमबुद्ध) ले ३० बर्षको कलिलै उमेरमै मृत्युबरण गरे । उनको मृत्यु आत्महत्याका कारण भएको थियो ।

– वर्ष २०७३ मै नेकपा एमालेकी सांसद दुलारीदेवी र माओवादी केन्द्रका सांसद भक्ति पाण्डेको निधन भयो ।

राटोपाटी बाट 

Write a Comment

Events
Random Picks