'कोशीमा रहेका प्राय सबै डल्फिन घाइते'
19-April-2017

वैशाख ६, २०७४- कोशी नदीमा भएका डल्फिन घाइते रहेको पाइएको छ । क्यालिफोर्नियाको युनिभर्सिटी अफ एरिजोनाबाट नेपालका डल्फिनबारे विद्यावारिधी गरिरहेका शम्भु पौडेलको अध्ययनले कोशीका डल्फिन घाइते अवस्थामा रहेको देखिएको हो । 

‘कोशी ब्यारेजभन्दा दक्षिणतिरका डल्फिनको स्वास्थ्य नाजुक अवस्थामा रहेको पाइएको छ,’ पौडेलले कान्तिपुरसंग भने, ‘धेरैजसो डल्फिनको छालामा दाग भेटिएको छ, छालाको रंग खुइलिएको छ ।’ 

 

कोशीब्यारेजदेखि दक्षिणतिर ६ किलोमिटरसम्म २०१३ देखि पौडेलको टीमले डल्फिनबारे अध्ययन गरिरहेको छ । गत चैतमा पनि पौडेल र उनका सहयोगी ग्रान्ट एबेलले डल्फिनबारे स्थलगत अध्ययन गरेका थिए । उनीहरुले २०१३ र २०१४ मा अध्ययनका क्रममा ब्यारेजभन्दा तल १४ वटा डल्फिन भेटेका थिए । 

उनीहरुको अध्ययनले केही डल्फिनका चुच्चो (जअ) समेत भाँचिएको पाइएको छ । ‘तलमाथि बराबर हुनुपर्ने डल्फिनका चुच्चो भाँचिएका छन्,’ उनले भने, ‘केहीका शरीरमा सेतो घाउ र कालो धब्बाहरु देखिन्छन्, धेरैजसो डल्फिन निरोगी छैनन् ।’ 

बढ्दो तापक्रम, पानीको स्वाद बदलिनु र पानीको बहाबका साथै माछा मार्न हालिएको महाजालको असर कोशीका फ्रेस वाटर डल्फिनले झेलिरहेको पौडेलेको निष्कर्ष छ । 

‘नदीमा डल्फिनको मुख्य आहार माछा प्रशस्त छन्, पानी पनि स्वच्छ छ,’ उनले भने, ‘मानवीय गतिविधिले तिनको परम्परागत वासस्थान खलबलिएको छ, बाँच्नका लागि बढी संघर्ष गर्नुपर्ने देखिन्छ ।’ 

पौडेलका अध्ययन अनुसार विगतमा मानिसको नजिक नआउने डल्फिन अहिले मानिस र वस्तीको छेउछाउमै देखिन थालेका छन् । ‘माछा मार्न नदीमा हालिएको जाल वरिपरि नै डल्फिन देखिएका छन् । डल्फिनको आनिबानी बदलिएको देखिन्छ,’ उनले सुनाए, ‘डल्फिन स्वार्थी र अल्छि भएका छन् । मान्छेले थापेको जालमा परेका माछा खान त्यस वरिपरि नै घुम्ने गरेको हामीले तस्वीर खिच्यौं ।’ 

उनका अनुसार नदीमा बाँधजन्य समस्या र मानवीय गतिविधि बढेपछि डल्फिनलाई आहार खोज्नसमेत सकस परेको छ । ‘ठूला महाजाल हालेर माछा मार्न थालेपछि आहारका लागि डल्फिनले गर्नुपर्ने संघर्ष बढेको छ,’ पौडेलले भने, ‘धेरै मिहिनेत गर्न नसक्ने भएका छन्, सफाचट देखिनुपर्ने डल्फिनको शरीरभरी घाउ नै घाउ देखिन्छ ।’
 
विगतमा कोशीटप्पु वन्यजन्तु आरक्ष अर्ना र डल्फिनका लागि विख्यात भए पनि अहिले डल्फिन संकटमा पर्दै गएको उनको बुझाई छ । आरक्षाई उत्तरतिर भन्दा दक्षिणतिर विस्तार गर्न सकिए नदीजन्य गतिविधि रोकिन गई डल्फिन सुरक्षित बन्न सक्ने उनको तर्क छ । फ्रेसवाटर डल्फिन नदीको इकोसिस्टमको अवस्थाबारे जानकारी दिने सूचक पनि हुन् । नदी फोहोर भयो भने डल्फिन लोप भएको मान्न सकिने विशेषज्ञहरुको भनाई छ । पौडेलले डल्फिनको आनीबानीबारे पनि अध्ययन गरिरहेका छन् ।

आइयूसिएनको रातो सूचीमा सूचिकृत डल्फिन नेपालको कानुनमा संरिक्षत सूचीमा छन् । पौडेलले कोशीबाहेक कर्णाली, नारायणी र महाकाली नदीमा पनि डल्फिनबारे अध्ययन गरेका छन् । महाकाली नदीमा भने सन् २००० पछि देखिएको छैन । कर्णालीमा ९ देखि १२, मोहनामा मनसुन समयमा १४ र नारायणीमा एक डल्फिन भेटिएको थियो । ७ वर्षपछि वयस्क हुने स्तनधारी डल्फिनले एकदेखि दुईवटासम्म बच्चा जन्माउँछ ।  

तस्बिर सौजन्य: ग्रान्ट एबेल

 


 

Write a Comment

Events
Random Picks