निर्वाचनको एक दिन अघि विभिन्न ठाउमा बम फेला
13-May-2017


उमा आलेमगर
पोखरा, ३० वैशाख


स्थानिय तहको निर्वाचनको एक अघि विभिन्न ठाउँमा बम र शंकास्पद वस्तुहरु फेला पर्न थालेको छ । देशका विभिन्न ठाउँमा बम र शंकासपद वस्तु फेला पर्न थालेको हो । केही ठाउँमा त बम विस्फोट समेत भएको छ भने केही ठाउँको बम डिस्पोज गर्न प्रहरी सफल भएको छ ।

यसैबिच पोखराको मध्य क्षेत्रमा पर्ने ब्यस्त चोक मध्येको एक सभागृहचोकमा भेटिएको शंकास्पद बस्तु बम नभएको पुष्टी भएको छ । कुकरमा तार जोडेर सभागृहचोकको करीब २० मिटर तल रोडको पूर्व पट्टीको एउटा बिरुवाको फेदमा राखिएको अवस्थामा भेटिएको बस्तु नक्कली बम (फोक्स) मात्र भएको कास्की प्रहरीले जनाएको छ ।

पूर्वाह्न करीब ९ बजे भेटिएको सो बस्तु नेपाली सेनाको कालिभञ्ज्याङ गणबाट आएको पाँच जनाको टोलीले २ घण्टा लगाएर डिस्पोज गरेको हो । पहिलो प्रयासमा बिष्फोट नभएपछि दोश्रो पटक पुनः प्रयास गरिएको थियो । तर दोश्रो पटकमा पनि बिष्फोटको आवाज नआएपछि नजिक गएर हेर्दा कुकरमा फलामका टुक्राहरु मात्र राखेको पाइएको कास्कीका प्रहरी प्रवक्ता एवम् प्रहरी नायव उपरिक्षक खड्गबहादुर खत्रीले जानकारी दिए । शंकास्पद बस्तु भेटिएपछि प्रहरीले सो क्षेत्र घेरा हालेर प्रवेशमा रोक लगाएको थियो ।

यता पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर ६ स्थित तालवराही मावि मतदान केन्द्र नजिकै गएराती सुतली बम बिष्फोट भएको छ । राती करीब साढे ९ बजे बम बिष्फोट भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

मतदान केन्द्रको सुरक्षार्थ सुरक्षाकर्मी खटिएकै समयमा बम बिष्फोट भएको हो । बम बिष्फोट हुँदा ठूलो आवाज आएको भएपनि क्षेति भने नभएको कास्कीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक खड्गबहादुर खत्रीले जानकारी दिए । 

आजै धनगढीका दुई स्थानमा, धादिङ, चितवनको भरतपुर बम भेटिएको थियो । भेटिएको बम प्रहरीले डिस्पोज गरिसकेको छ ।

Write a Comment