राहतमा १०० मोटरसाइकल
15-June-2015

काठमाडौ, जेष्ठ ३२ - भारतबाट राहत स्वरूप आएका मोटरसाइकल वीरगन्ज भन्सारमा अलपत्र परेका छन् । भारतको हिरो मोटरसाइकल उत्पादकले युनिसेफ नेपालका नाममा सय थान मोटरसाइकल राहतका लागि दिएको थियो ।

तर, राहतका लागि छुट दिइने वस्तुको सूचीमा मोटरसाइकल नरहेका कारण भन्सारले छुट दिन इन्कार गरेको छ । युनिसेफ पनि सरकार आफैंले छुटाएर प्रयोग गरे हुने भन्नेमा पुगेको मोटरसाइकल छुटाउन प्रयास गरिरहेका पूर्वसचिव उद्धव बाँस्कोटाले बताए ।

अर्थको राजस्व महाशाखा प्रमुख लक्ष्मण अर्यालले उक्त मोटरसाइकल फिर्ता वा आधिकारिक विक्रेतालाई भन्सार तिरेर पैठारी गर्न भन्नुपर्ने बताए । ‘सरकारले राहतका नाममा जे पनि ल्याउने छुट दिँदा बजारमा पर्ने नकारात्मक प्रभाव पनि विचार गर्नुपर्छ,’ उनले थपे । सरकारले भित्र्याएर राहतका काममा प्रयोग गरे दाता पनि खुसी नै हुन्छन् भने ल्याउन केही आपत्ति नहुनुपर्ने बाँस्कोटाले बताए ।

दैवी प्रकोप उद्धार तथा राहत सामग्रीमा लाग्ने महसुल छुटसम्बन्धी कार्यविधिअनुसार अर्थ वा गृह मन्त्रालयको पूर्वस्वीकृति लिई वा अन्य पक्षले दातृ पक्षसँग गरेको सम्झौताअनुसार पैठारी भएका मालवस्तुमा महसुल छुट दिन सकिने प्रावधान छ ।

सरकारी निकायसँग सम्झौता नभई पैठारी भएका मालवस्तु र राहत सामग्रीको स्वीकृत सूचीमा नपरेका वस्तुको हकमा आवश्यकता र औचित्य हेरी राहत वर्गीकरणमा सिफारिस गर्न गृह, अर्थ, वाणिज्य तथा आपूर्ति, सहरी विकास, कृषि विकास र परराष्ट्र सचिव सम्मिलित सिफारिस समिति छ । सरकारले जेठ २० देखि राहतमा दिइँदै आएको महसुल छुट हटाइसकेको छ । तर, जेठ २० गते नेपालतर्फ हिँडाइएका सामान असार ७ गतेभित्र भन्सारमा आइपुगे छुटको सुविधा छ ।

वीरगन्ज भन्सार प्रमुख मित्रलाल रेग्मीका अनुसार स्वीकृत सूचीमा नपरेका धेरैथरी सामान ल्याउने गरिएको छ । तर, राहतमा प्रत्यक्ष सरोकार राख्ने भाँडाकुँडालगायतका सामान भन्सार महानिर्देशकले निर्णय गरी छुट दिने गरेको उनले बताए । ‘तर मोटरसाइलकजस्तो राहतमा अनावश्यक देखिने सामान त सचिवहरू सम्मिलित सिफारिस समितिले निर्णय नगरी हुन्न,’ उनले थपे । 

Write a Comment

Events
Random Picks