बाँचेर बचाउनेहरु
15-June-2015

‘जान मिल्दैन’ डिलमुनिबाट प्रहरी कराए । बाँस तेस्र्याएर सडक रोकिएको थियो । हामी उँधै झरेर प्रहरी पोस्टमा छिर्‍यौं । ठूलो पहिरो अझै झरिरहेकाले जान रोकेको उनीहरूले प्रस्ट्याए । हामीले जोगिँदै जान मिल्ने भए पाउँथ्यौं कि भन्ने आग्रह गर्‍यौं । प्रहरी जवानले भने, ‘सई साबलाई सोध्नुहोस् न ।’
उनले इसारा गरेका व्यक्ति नजिक हामी गयौं । थोत्रे टिसर्ट र हाफ पाइन्ट लगाएका उनी सरसफाइ गर्दै थिए । हामीले परिचय दिएपछि उनले हौसिँदै भने, ‘एक महिनाभन्दा बढी भयो, रसुवागढीमै जाने भन्दै पत्रकार पहिलोपल्ट आउनुभयो ।’ हामीलाई कुनै पल्ट भन्दा पनि जानुसँग चासो थियो । बिहानै धुन्चेस्थित नारायणदल गणका गणपति लक्ष्मण थापाले हौस्याएका थिए, ‘पहिरोको फोटै खिच्ने भए रसुवागढी जसरी पनि पुग्नुहोला । बाटामा धेरै ठाउँ ढुंगा झर्छन्, जोगिँदै जानुहोला ।’

साथीहरू किरण, प्रकाश र कृष्ण जान तम्सिइहाले । मलाई पनि जोखिम मोल्ने रहर जाग्यो । पहिरो छल्दै जब टिमुरे कट्यौं, अनि आयो अन्तिम प्रहरी बिट । ‘त्यसो भए मसँग जाऊँ’, सई पदमबहादुर श्रेष्ठ जोस्सिए, ‘म तपाईंहरूलाई सुरक्षित रूपमा पुर्‍याउँछु ।’ तैपनि मेरो मन दोधार भयो । नजिकै पहिरो झरिहेकै थियो । रसुवागढी पुग्न नजिकै देखिने एउटा डाँडाको विशाल पहिरो छिचोल्नुपर्ने उनले औँलाले देखाए । जब उनले बिनाहेलमेट मोटरसाइकल गुडाए, मेरो हिम्मत बढ्यो । उनकै पछाडि हेलमेट लाएर बसें ।

‘हेलमेट चाहिँदैन ?’ मैले सोधें । ‘बोनसको जिन्दगी बाँचिरहेको छु सर’, मूल पहिरोको बीचमा पुगेपछि उनले भने, ‘अब त डरै लाग्दैन ।’ तैपनि मेरो मनले भन्यो, ‘तिमीलाई नलागे पनि मलाई त लाग्छ नि, अलि छिटो गुडाऊ मोटरसाइकल ।’ महाभूकम्पमा अजङ्गको पहिरो झरेर नेपालतिरका सम्पूर्ण कार्यालयहरू पुर्‍यो । उनीसहित पाँच जना प्रहरी दौडिएर खोला छेउ गए । ‘सुरुमा त खोलामै हामफाल्न मन लाग्यो’, उनले सुनाए, ‘तर, पारिबाट पहिरो आएर झन् पुर्छ भन्ने डर लाग्यो ।’ संयोगवश गढीमाईको मन्दिर भएको सानो ढिस्को मात्र पहिरोले पुरेन । भाग्यवश त्यहीँ बसेका हुनाले उनीहरू बाँचे । भूकम्प रोकिएको मात्र के थियो, नजिकै भन्सार गोदाममा राखिएका ग्यासका सिलिन्डर ठूलो आवाज निकाल्दै विस्फोट भए । युद्ध भूमिभन्दा भयानक बन्यो त्यो स्थल । दुई घण्टा त्यस्तैमा बिताए उनीहरूले । स्थिति केही नियन्त्रणमा आएपछि जे परोस् भनेर भत्किएको पुलबाट चीनतिर तरे । चीनले सुरक्षित साथ राखेर भोलिपल्ट एक बजे फर्काइदियो ।

‘जताततै पहिरै पहिरो थियो’, उनले त्यो क्षण सम्झे, ‘पाँच मिनेटको बाटो पार गर्न एक घण्टा लाग्यो ।’ हो, त्यसरी पार गरेर पुगेको पहिरोसँगै जोडिएको ठाउँमा छ अहिले उनले कमान्ड गर्ने अस्थायी पोस्ट । त्यसको छेवैबाट पहिरो गइरहन्छ । कुन दिन त्यहीमाथि पहरो खस्ने हो, टुंगो छैन । तर, उनलाई त्यसको मतलब छैन । बरु भन्छन्, ‘अब सानोतिनो घटनामा मरिँदैन । जति बेहोर्नु बेहोरियो ।’

भोलिपल्टैबाट उनीहरू उद्धारमा खटिए । भन्सार इलाकामा यति ठूलो पहिरो गएको थियो, बाटो खुलाउन मात्र २१ वटा एक्जाभेटरले लगातार सात दिन काम गर्नुपर्‍यो । त्यस क्रममा पाँच वटा शव निकालिए । ती सबै क्षणमा उनीहरू भिडे । पन्ध्र जना व्यक्ति र ७ वटा कन्टेनर अझै पुरिएकै छन् । निकाल्ने कल्पनै गर्न सक्ने अवस्था छैन । त्यही भूभागमा ड्युटी छ पदमबहादुर टोलीको । सिन्धुली घर भएका उनलाई बिदामा जान कुनै हतार छैन । सरुवा वा काज मिलाएर अलि सुरक्षित ठाउँमा सर्न सकसक छैन । बरु भन्छन्, ‘काम गर्न यस्तैमा मज्जा आउँछ ।’

सीमा क्षेत्र भएकाले अनेक अवैध गतिविधि हुन सक्छन् । त्यसको निगरानीसमेत गर्नुछ । मान्छेहरू आएर जबर्जस्ती निषेधित क्षेत्रमा जान खोज्छन्, रोक्नु छ । अझै उद्धार सकिएको छैन, लागिपर्नु छ । असुरक्षित छ भनेर पोस्ट सार्न भएन । बरु मन बुझाउन ‘बोनसको जिन्दगी’ भन्नुपरेको छ । पटक–पटक आउने परकम्पमा हालत के छ भनेर घरतिरबाट बुझ्न फोन हतपती टिप्दैन । नेपाली सिममा बढीजसो चीनतिरको टावर समाउँछ । डायल गर्‍यो, चिनियाँ भाषामा नबुझिने कुरा बोल्छ । बाहिरबाट गर्दा खालि ‘सम्पर्क हुन सकेन’ भनिदिन्छ । तर पनि सई साब हाँसेकै छन् । खुसीसाथ काममा खटेकै छन् ।

 

महाभूकम्पमा सुरक्षाकर्मीको भूमिका प्रशंसनीय रह्यो । सरकारका अन्य संयन्त्रभन्दा नेपाली सेना, सशस्त्र/नेपाल प्रहरीका उद्धार कार्य प्रभावकारी रहे । उनीभन्दा खट्ने सुरक्षाकर्मी धेरै होलान् । उनीभन्दा दु:खले बाँचेका पनि होलान् । अरूको उद्धारमा दिनभर आएर राति उनीजस्तै पहिरोमुनि सुत्ने अरू पनि होलान् । अरूलाई खाना र छाना पुर्‍याउन घण्टौं घण्टा भोकै हिँड्ने धेरै होलान् । ठूलो जोखिममा ज्यान जोगाएको अनुहार यति लामो समयसम्म परिवारलाई देखाउन अधैर्य नहुने अरू पनि होलान् । संयोग मिले अरूसँग पनि भेट हुँदै जाला ।

पदमबहादुर एउटा प्रतिनिधि पात्र हुन् । जब उनी भेट्टिए, अर्कै ऊर्जा जाग्यो । पदमबहादुरहरू देश बनाउने/जोगाउने सिपाही मात्र होइन रहेछन्, दु:खमा हाँसेर बाँच्ने प्रेरणासमेत रहेछन् । ती सबैलाई मनभित्रैबाट सलाम ।

Write a Comment