कास्कीमा सचेतनामुलक कार्यक्रम गरि १७ औं दुग्ध दिवस मनाइयो
1-June-2017


उमा आलेमगर
पोखरा, १८ जेठ

कास्कीमा विविध कार्यक्रमको आयोजना गरि १७ औं विश्व दुग्ध दिवस मनाइएको छ । जिल्ला पशु सेवा कार्यालय कास्कीको आयोजनामा पशु सेवा कार्यालय शिशुवामा दुग्ध उत्पादक किसानहरुसँग अन्तरक्रिया गरी दिवस मनाइएको हो । ‘दुग्ध क्षेत्रको प्रवद्र्धन र सामाजिक रुपान्तरण’ नाराका साथ यस वर्ष दुग्ध दिवस मनाइएको छ ।

उक्त अवसरमा बोल्दै जिल्ला पशु सेवा कार्यालय कास्कीका निमित्त कार्यालय प्रमुख पशु चिकित्सक डा. गणेश केसीले पशुपालन व्यवसायको महत्वपूर्ण उत्पादन दूध भएको बताए । ‘पशुपालक किसानलाई लक्षित गरी सरकारले विभिन्न अनुदानका कार्यक्रम सञ्चालन गरिरहेको छ,’ उनले भने, ‘दूधमा नेपाललाई आत्मनिर्भर बनाउने क्रम अन्तिम चरणमा पुगेको छ ।’ दूधको उत्पादन, बजारीकरण र विविधीकरणका लागि सरकारले किसानलाई साथ दिइरहेको उनले बताए ।

कार्यक्रममा सेवा केन्द्रका प्रमुख पशु चिकित्सक हुमराज तिमिल्सिना, पशु स्वास्थ्य प्राविधिक झलककृष्ण भण्डारी लगायतले बोलेका थिए । किसानहरुले पशुपालन व्यवसाय सञ्चालन गर्दाका समस्याहरु बताएका थिए । घाँस र चरणको समस्या बढेको, पशुपालन गर्ने जमिनमा प्लटिङ बढेको, विचौलियाले बढी नाफा लिने गरेको लगायतका समस्या किसानलाई रहेको उनीहरुले बताए । गौलोचन बृहत्तर गाईपालन समितिका अध्यक्ष सर्जु अधिकारीको अध्यक्षतामा कार्यक्रम भएको हो ।

Write a Comment