पहिरोमा परी बेपत्ताको हुनेको अवस्था अझै अज्ञात
15-June-2015

ताप्लेजुङ, जेठ ३२ – ताप्लेजुङमा बुधबार राती गएको पहिरोमा परी बेपत्ता हुनेको अवस्था अझै अज्ञात रहेको छ । पहिरोमा परी बेपत्ता हुने २२ जनाको अवस्था अहिलेसम्म पनि अज्ञात रहेको हो । प्रहरीका अनुसार सबैभन्दा बढी लिबाङ गाविसका चार जना बालबालिकासहित १६ जना बेपत्ता छन् । यस्तै खोक्लिङका पाँच र लिङ्तेपका एक जना बेपत्ता छन् । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङको तथ्याङ्कअनुसार बेपत्ता हुनेहरुमा लिबाङ १ का ६२ वर्षीय मिङ्मालामु शेर्पा, २० वर्षीय प्रेम शेर्पा, १३ वर्षीया दिक्षा लिम्बू, छ वर्षीया शिक्षा लिम्बू, १३ वर्षीया ईक्शा राई, ५१ वर्षीय सञ्चबहादुर लिम्बू, ९५ वर्षीया आइतमाया लिम्बू, २० वर्षीय प्रेम लिम्बू, २० वर्षीया अञ्जु लिम्बू रहेका छन् । यस्तै लिबाङ २ का ६५ वर्षीय रामचन्द्र घिमिरे, ६० वर्षीया उमादेवी घिमिरे, ४५ वर्षीया देउमाया गिरी, १८ वर्षीय घजिन्द्र गिरी, १४ वर्षीया चन्द्रमाया गिरी, आठ वर्षीय चित्र गिरी र ४५ वर्षीय नारायण अधिकारी रहेका छन् । त्यस्तै खोक्लिङ ५ की ४० वर्षीया चन्द्रकला विश्वकर्मा, उमेर नखुलेका निता र अञ्जना विश्वकर्मा तथा खोक्लिङ ७ की ३३ वर्षीया राधिका खतिवडा र आठ वर्षीय भीम खतिवडा बेपत्ता छन् भने लिङ्तेप ५ का भीमबहादुर नाल्बो लिम्बू बेपत्ता छन् । उनीहरुको हालसम्म पनि खोजी कार्य जारी रहेको ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी डमरुप्रसाद निरौलाले बताए ।

यता पहिरोमा परी मृत्यु हुनेको संख्या ३७ जना रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मृतकमध्ये थिङ्लाबुका १५ जना, लिबाङ १२, खोक्लिङ तीन, लिङ्तेप चार र सान्थाक्राका दुई जना रहेका छन् । सबै मृतकहरुको सव आफन्तलाई बुझाइ सकिएको प्रहरीले जानकारी दिएको छ । यसैबीच पहिरो पीडितलाई आइतबारदेखि राहत वितरण गर्न सुरु गरिएको जिल्ला दैवीप्रकोप उद्दार समितिले जनाएको छ । मृतकका परिवार, बेपत्ता परिवार र अन्य पीडितको वर्गीकरणका आधारमा खाद्यान्न, लत्ता कपडा, पाल, औषधी लगायतका राहत सामग्री वितरण गरिएको समिति संयोजक तथा प्रमुख जिल्ला अधिकारी डमरुप्रसाद निरौलाले बताउनुभयो । प्रजिअ निरौलाले सोमबार पनि खोक्लिङ नजिक हान्द्रुङलाई केन्द्र बनाएर पीडित परिवारलाई राहत वितरण गर्न लागिएको जानकारी दिए । यता लिबाङका मात्रै तीन दर्जन बढी परिवार विस्थापित भएका छन् । लिबाङका विस्थापितहरु हाल खोक्लिङस्थित मोती उच्च माध्यमिक विद्यालयमा बस्दै आएका छन् । यस्तै लिङ्तेपका करिव अढाइ दर्जन परिवार विस्थापित भएका र उनीहरु हाल स्थानीय स्वास्थ्यचौकी र विद्यालय भवनमा आश्रय लिएर बस्दै आएका छन् । विस्थापितहरुमा खाद्यान्न, लत्ताकपडा, खानेपानी लगायतको समस्या रहेको बताइएको छ । जिल्लाका पश्चिमी क्षेत्रका लिबाङ्, खोक्लिङ, सान्थाक्रा, खाम्लुङ, लिङ्तेप, थिङ्लाबु तथा पूर्वी क्षेत्रका ताप्लेजुङ नगरपालिकासहित खेबाङ, मामाङ्खे, आम्बेगुदिन, पेदाङ गाविसमा गरी दर्जनौ घरहरु पहिरोले बगाएको प्रहरीले जनाएको छ ।

Events
Random Picks