स्मार्ट सिटी सरकारको अवधारणा हो, हामीले दिने आकार हो ः शोभित बस्याल
11-June-2017


  शोभित बस्याल
प्रवन्ध निर्देशक
परिचय एडभरटाइजिङ

पोखराको विज्ञापन क्षेत्रमा सबैभन्दा चर्चामा आउने नाम हो परिचय एडभरटाइजिङ र शोभिस बस्याल । शोभित जति चर्चामा आएका छन् त्यो उनको इमान्दारिता र मेहनतको फल हो । ‘विज्ञापन लगानी हो, खर्च होइन’ भन्ने शोभित कुनै बेला यहाँ चल्तीका गायक समेत थिए । कुनैबेला आफ्नै एल्बमको विज्ञापन गर्न भौतारिएर हिड्दा विज्ञापन गर्ने प्रभावकारी माध्यम नपाएका शोभित अहिले अरुको विज्ञापन गराउने माध्यम बनिरहेका छन् । विज्ञापन व्यवसायमा लागेपछि एकोहोरो हुँदै गएका शोभितलाई नयाँ थिममा आयोजना भएको जंगल फेस्टिभलले झनै चर्चाको शिखरमा पु¥यायो । युवा व्यवसायीको क्षेत्रमा हाइ प्रोफाइल बनाएर पनि चर्चामा आउन त्यती नरुचाउने शोभित व्यवसायमा एकोहोरो भएर रमाए । पोखरामा आयोेजना हुने प्राय कार्यक्रम उनको सहयोग बिना अधुरो देखिन्छ । यसै सन्दर्भमा उनको जन्म दिन (जेठ २८) को अवसरमा शोभितसँग पोखरा र पोखराको विज्ञापन बजारसँग सम्बन्धित रहेर गरिएको कुराकानीको अंश यहाँ उनकै विचारमा प्रस्तुत गरिएको छ ः

अव्यवस्थित विज्ञापनले शहर कुरुप बनाउँछ भने व्यवस्थित विज्ञापनले शहरलाई विकसित बनाउँछ । विज्ञापनले आर्थिक पाटोमा सहयोग पु¥याउँछ भने आयआर्जन गर्न सहयोग गर्छ । विज्ञापन प्रवद्र्धन गर्न सरकार सचेत हुनुपर्छ । नेपालको पैसा नेपालमा नै खर्च हुनुपर्छ । सामाजिक सञ्जालको विज्ञापनमार्फत करोडौं रुपैयाँ बाहिरिने क्रम शुरु भइसकेको छ । नेपाली विज्ञापन बजारलाई प्रवद्र्धन नगरे यो क्रम अझ बढ्नेछ, यो हाम्रो चिन्ताको विषय हो ।

पछिल्लो समय होडिङ बोर्डमार्फत व्यवसाय प्रवद्र्धन गर्ने क्रम बढेको छ । होडिङ बोर्डको विज्ञापनमार्फत धेरै ब्राण्डको प्रवद्र्धन भइरहेको छ । पछिल्लो समय स्मार्ट सिटीको कुरा भइरहदा होडिङ बोर्डलाई पनि व्यवस्थित बनाउनुपर्छ भन्ने आवाज आइरहेको छ । यसको लागि अध्ययन तथा अवलोकन गर्नुपर्छ । उचित स्थानमा तथा सर्वसाधारणलाई असर नगर्ने र शहरको सुन्दरता नबिग्रने गरी होडिङ बोर्ड राखेमा त्यसको महत्व बढ्नेछ, घट्दैन ।

ठुला तथा धेरै पैसा खर्च गर्ने कम्पनीलाई हेरेर मात्र विज्ञापनको बजारीकरण तथा विज्ञापन प्रक्रिया बनाउने काम भइरहेको छ, जुन गलत हो । सबै खाले कम्पनी र ब्राण्डलाई समेट्ने गरी विज्ञापन गर्न सक्ने अवधारणा ल्याउनुपर्छ । नेपालमा व्यवसाय गरेका व्यवसायीले पनि विज्ञापनको लागि उचित स्थान पाउनुपर्छ । महंगो विज्ञापन भएकै कारण नेपाली व्यवसायी विस्थापित हुनुपर्ने अवस्था आउन दिनुहँुदैन । स्थानीय सरकार गठन भइरहेको अवस्थामा स्थानीय उत्पादन तथा व्यवसायीलाई प्रवद्र्धन गर्नु पनि हाम्रो दायित्व हो ।

केही वर्ष पहिले काठमाडौंमा होडिङ बोर्ड हटाउने भनेर हटाइयो । होर्डिङ बोर्ड हटाउने बजारको माग रहेनछ भन्ने अहिले प्रमाणित भएको छ । अहिले फेरी रिटेन्डरिङ गरेर व्यवस्थित तरिकाले विज्ञापन गर्न सुरु गरिएको छ । पहिला गलत भनिएपनि अहिले त्यहीँ काम दोहोरिएको छ । त्यसैले निर्णय गर्नु अगाडि दुरदर्शी भएर सोचौं भन्ने मरो मान्यता छ ।

होडिङ बोर्डले पोखरालाई कुरुप बनाएको छ भन्ने मलाई लाग्दैन । यस्ता धेरै चिज छन् जसले पोखराको सुन्दरता बिगारेको छ । विभिन्न तरिकाले विज्ञापन गरेको पनि हामी पाउँछौं । मेला, महोत्सव तथा अन्य कार्यक्रमहरुमा जथाभावी तुल व्यानर टास्ने तथा रोडक्रस गरेर व्यानर झुण्याउने पुरानो विज्ञापन शैली अझै कायम छ । यसले पोखरालाई अव्यवस्थित र कुरुप बनाइरहेको पाउँछौं । यही विज्ञापनलाई व्यवस्थित र सुन्दर बनाउन होडिङ बोर्डले सहयोग गरिरहेको छ । तुल व्यानर टाँसेर विज्ञापन कर छली भइरहेको छ भने होडिङ बोर्ड राख्दा सरकारलाई कर तिर्ने काम भइरहेको छ । यसतर्फ पनि सरकारको चासो जानुपर्छ ।


बेला बखतमा होडिङ बोर्ड हटाउने चर्चा चलिरहेको हुन्छ । पोखरामा होडिङ बोर्ड सीमित संख्यामा मात्र रहेकाले यसलाई हटाउने नभइ व्यवस्थित र संरक्षण गर्न जरुरी छ । ताकि पोखरामा भोलि ठूला ठूला कार्यक्रम हुँदा व्यवस्थित विज्ञापन गर्न यीनै होडिङ बोर्ड सहयोगी माध्यम बन्छन् । यसलाई व्यवस्थित बनाउनतर्फ भने ध्यान दिन सकिन्छ । साइजलाई व्यवस्थित गरी नम्बरिङ गर्न सकिन्छ । काठमाडौंमा पनि नम्वरिङ हुन थालेको छ । बोर्ड थपिएसँडै नम्वरिङ गरिन्छ । दर्ता गरेर मात्र बोर्ड राख्न दिन सकिन्छ । पोखरालाई स्मार्ट सिटी बनाउने अवधारणा आइरहँदा महानगरपालिकामा छुट्टै विज्ञापन शाखा हुनु आवश्यक छ । यदि कसैले विज्ञापनको लागि कुनै स्थानमा बोर्ड राख्न चाहन्छ भने त्यसको निरीक्षण तथा अनुगमन हुनुपर्छ । त्यसको मापदण्ड के हो र त्यहाँ राख्न मिल्छ वा मिल्दैन अध्ययन गर्नुपर्छ ।

विज्ञापनलाई व्यवस्थित गर्न आवश्यक छ । पसल पसलमा कम्पनीहरुले विज्ञापन गरिरहेका छन् । पसलमा पसलको नाम भन्दा अरु कुनै विज्ञापन राख्न नपाइने नियम बनाउनुपर्छ । यसो गरेमा सबै कम्पनी विज्ञापनको बजारमा आउँछन् । यो हुनु भनेको सरकारलाई फाइदा हो । अहिले बजारका मुख्य पसलहरुमा विभिन्न कम्पनीका विज्ञापन अव्यवस्थित ढंगले राखेको पाइन्छ । यसकै कारण पोखरा र विज्ञापन बजार फोहर भएको हो । यसलाई अनुगमन गर्ने निकाय आवश्यक छ ।

स्मार्ट सिटी सरकारको अवधारणा हो । हामी व्यवसायीले पनि यसमा सहयोग गर्नु आवश्यक छ । जुन संस्था जे उद्देश्यले खोलिएको छ त्यही काम गर्नुपर्छ । नयाँ अवधारणा ल्याउँदा विज्ञहरुको परामर्श र सोही क्षेत्रमा लागेका व्यवसायीसँग छलफल नगरी निर्णय लिँदा दीगो नहुन सक्छ । यसमा सरोकारवाला निकायको ध्यान जानुपर्छ ।

पोखरामा पुराना व्यवसायीलाई संरक्षण गरेको पाइँदैन । लामो समय संघर्ष गरेका पुराना व्यवसायीलाई संरक्षण गर्नतर्फ पनि हामीले चासो दिनुपर्छ । नयाँलाई पनि प्रोत्साहन गर्नुपर्छ । हामीले पनि आफूले संचालन गरेको व्यवसाय सम्बन्धी तालिम दिनुपर्छ । हरेक ठाउँमा अहिले कामदारको खडेरी छ । हामी एउटा क्षेत्रमा छौं तर अर्को क्षेत्रको सोच बनाउँछौं । धेरै काम गर्न गाह्रो छ, त्यसैले एक संस्था एक काम रोज्न जरुरी छ ।

मैले आफ्नै देशलाई विदेश बनाउनुपर्छ भन्ने मिसन लिएर काम गरिरहेको छु । बिगत ७ वर्षदेखि मैले बिहान ८ बजेदेखि बेलुका ६ बजेसम्म अफिस खोल्दै आएको छु । हामी सबैले आफ्नो ठाउँबाट राम्रो काम गर्नु जरुरी छ । यहाँको कार्यालय समय १० देखि ५ बजेसम्म हो, जुन कुरामा म सहमत छैन । आफ्नो काममा लगनशील भएर लाग्नुपर्छ । सकेसम्म धेरै काम गर्न प्रोत्साहन गर्नुपर्छ । समय नै पैसा हो भन्ने मेरो मान्यता हो । विदेश जाने होइन, यहीँ समयको महत्व बुझेर अगाडि बढौं र काम गरौं ।

समयको माग अनुसार अगाडि बढ्न नसके व्यवसायमा सफल हुन सकिँदैन । पोखरालाई स्मार्ट सिटी बनाउने चर्चा भइरहँदा हाम्रो व्यवसाय पनि स्मार्ट नै हुनुपर्छ भन्ने लागेको छ । मैले पनि आफ्नै व्यावसायिक क्षेत्रलाई कसरी स्मार्ट बनाउन सकिन्छ भनेर अध्ययन गरिरहेको छु । समयको माग अनुसार हामी बदलिन तयार छौं । जो जे गरिहेका छौं सोही व्यवसायलाई छिटो, छरितो र स्मार्ट बनाउनुपर्छ भन्ने मेरो मान्यता हो ।
पोखराका पर्यटकीय हरेक ठाउँमा पर्यटनमैत्री विज्ञापन गरेर पोखरालाई प्रवद्र्धन गर्न आवश्यक छ । फेवाताल क्षेत्रमा बेगनासतालको विज्ञापन गर्न सकिन्छ । यस्ता स्थानमा कुनै पनि कम्पनीको विज्ञापन नगरी सार्वजनिक तथा जनहितको लागि आवश्यक विज्ञापन गर्नुपर्छ । विज्ञापन मार्फत पर्यटन प्रवद्र्धनात्मक काम गर्नु आवश्यक छ । हरेक चिजलाई व्यवस्थित तरिकाले संचालन गर्नुपर्छ । अहिले बस, डुङगादेखि ढुंगासम्म विज्ञापन देखिन्छ । हरेक ठाउँमा विज्ञापन गरिँदा पनि त्यसको महत्व घट्ने तर्फ व्यवसायी, कम्पनी र सरोकारवाला सबै सचेत हुनुपर्छ । जे आवश्यक छ सोही अनुसार काम गर्नुपर्छ । सबै क्षेत्रले आफ्नो उद्देश्य अनुसार काम गरेमा हामीले राम्रो र स्मार्ट पोखरा बनाउन सक्छौं ।

हामीले पोखरालाई संसारभर चिनाउन अझै बाँकी छ । पोखराको पहिचान पर्यटनसँग जोडिएको छ । पोखराको सुन्दरतालाई संसारभर चिनाउन विज्ञापनको खाँचो छ । यसका लागि पोखराको भिजुअल एड बनाएर राष्ट्रिय तथा अन्तर्रा्ष्ट्रिय क्षेत्रमा प्रचारप्रसार गर्न सकेमा यहाँ पर्यटकको भिड लाग्नेछ । पोखरालाई प्रवद्र्धन गर्न विज्ञापनको क्षेत्रमा सकेको योगदान गर्न म तयार छु ।

Write a Comment

Events
Random Picks