धमाधम बन्दै लाप्राक नमूना बस्ती
14-June-2017

गैरआवासिय नेपाली संघ (एनआरएनए) ले गोरखाको धार्चे गाउँपालिका ४ लाप्राकमा एकीकृत नमूना बस्ती निर्माणलाई तीब्रता दिएको छ। एनआरएनएले एकै प्रकृतिका ५ सय ७३ ओटा भूकम्पप्रतिरोधी घर निर्माणको काम धमाधम अघि बढाएको हो। ०७२ बैशाखमा बारपाक केन्द्र रहेर गएको ‘गोरखा भूकम्प’ ले लाप्राकका करिब ६०० घर भत्किएपछि गाउँलेहरु गुप्सीपाखामा अस्थायी टहरो बनाएर बस्दै आएका थिए।

सरकारले भूमे सामुदायिक बनको स्वामित्वमा रहेको गुप्सीपाखा लाप्राकीहरुलाई घर बनाउन घडेरीको रुपमा भोगचलनको अधिकारसहित दिएपछि एनआरएनएले सोही ठाउँमा घडेरीहरु खार्दै घर निर्माणको काम अघि बढाएका हुन्। भूकम्प गएको डेढ बर्षपछि एनआरएनएले घर बनाउने काम अघि बढाउँदा पुनर्निर्माणमा केही ढिलाइ भएको स्थानीयहरु गुनासो गर्छन्। नयाँ घर पाउने पर्खाइमा लाप्राकीहरु रिनजुलुङलगायत ठाउँमा अस्थायी टहरो बनाएर बस्दै आएका छन्। केही गाउँलेहरु पूरानै गाउँतर्फ फर्केका छन्।

पुनर्निर्माणमा सेना र स्वयमसेवक सक्रिय
लाप्राक नमूना बस्ती पुनर्निर्माणमा नेपाली सेना र रोजगारीका क्रममाः बिभिन्न देशमा काम गर्दै आएका स्वयमसेवक खटिएका छन्। घडेरी सम्याउने, खार्ने, जग खन्ने, डिपिसी गर्ने र घरको गारो लगाउने काम कामदारहरुले गर्दै आएका छन्। 
स्थानीयस्तरबाटै इट्टा बनाउने गरी गुप्सीपाखामै तयार गरिएको करिब २० हजार थान इट्टा पानीले भिजेपछि बिग्रिएको छ। यसको बिकल्पमा नयाँ प्रबिधिअनुसार इट्टा बनाउने काम भइरहेको छ। नेपाली सेना र अन्य कामदार गरी दिनमा १२० जनाले घर बनाउने काम गर्दै आएका छन्।

निर्माण सामग्री अभाव
लाप्राकमा घर बनाउनका लागि निर्माण सामग्री (ढुङ्गा, गिटी, काठ) को अभाव भएको छ। यी सामग्रीहरु भूकम्प प्रभावित लाप्राकी आफैले खोज्नुपर्ने एनआरएनएले बताएपछि सामग्री जोहो गर्न नसक्दा निर्माण कार्य केही प्रभावित बनेको छ।
स्थानीय मणिकामदेबी माध्यामिक बिद्यालयका प्रधानाध्यापक भबिराज गुरुङका अनुसार सामुदायिक बनले नयाँ काठ काट्न दिएको छैन भने पूराना काठको प्रयोगमा स्थानीयहरु अन्यौलमा छन्। कुन घर आफ्नो हो भन्ने टुंगो नहुँदा मौजुदा काठ उपलब्ध गराइएको छैन। एउटा घर निर्माण गर्न कम्तिमा ४० बोरा गिटी, सात ट्रक ढुङ्गा र ४५ क्युफिट काठ आवश्यक पर्छ।

अर्का स्थानीय मार्सिङ गुरुङका अनुसार एनआरएनएले निर्माण सुरु गरेका घरको जग बलियो छैन भन्ने स्थानीयबासीको गुनासो छ। जगको खाल्डो गहिरो नखनेको, जगमा स–साना ढुङ्गा प्रयोग गरिएको, चार सुरमा राखेका छड साना भएकोलगायत गुनासो स्थानीयहरुको छ । लाप्राकसम्म पुग्ने बाटो कच्ची छ। सदरमुकामदेखि करिब ७५ किलोमिटर टाढा लाप्राक पर्छ । बर्खामा कच्ची बाटो हिलो हुँदा झन् निर्माण सामग्री अभाव हुने देखिन्छ।

काठको जोहो गर्दैछौं: प्रजिअ बस्नेत
लाप्राकलगायत गोरखाका गाउँ, बस्ती पुनर्निर्माणमा काठको अभाव हुन नदिने प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले बताएका छन्। लाप्राक पुनर्निर्माणमा करिब २७ हजार क्युफिट काठ आवश्यक पर्छ । लाप्राकका सामुदायिक बनमा सल्ला, धुपी र उतिस जातका कु–काठ मात्रै पाइन्छ। घरका झ्याल, ढोका निर्माणमा प्रायः सालको काठ आवश्यक पर्छ।

९० प्रतिशत सरकारी अनुदान र १० प्रतिशत स्थानीय भूकम्प प्रभावितले स्रोत जुटाएर काठ ल्याउन सकिने प्रजिअ बस्नेत बताउँछन्। तर दश प्रतिशत स्रोत जुटाउने पक्षमा लाप्राकीहरु छैनन्। सरकारले जसरी भएपनि काठ उपलब्ध गराउनुपर्ने, स्थानीय बनका काठ प्रयोग गर्न पाउनुपर्ने तर्क गर्दै आएका छन्।

जिल्ला बन अधिकृत जीबनाथ पौडेलले चितवनबाट सालका काठ ढुवानी गरी ल्याउनुपर्ने भएपनि काठ कटान तथा ढुवानीका लागि आवश्यक बजेट नहुँदा समस्या आइपरेको छ। चितवनका काठ गोरखा ल्याउन पटक–पटक ढुवानी ठेक्का आब्हान गरेपनि ठेक्का लागेको छैन । काठ कटानी र ढुवानी बजेटको माग गरिएको पौडेलले बताए।

गोरखाका करिब ७० हजार ओटा निजी घर, सरकारी र सार्वजानिक संरचना निर्माणलाई १५ लाख क्युफिट काठ आवश्यकता देखिन्छ। तल्काल काठलगायत निर्माण सामग्री परिपूर्ति गर्न सकिएमा लाप्राक पुनर्निर्माणले अझै गति लिने देखिन्छ। आउँदो एक बर्षभित्र लाप्राक नमूना बस्तीको पुनर्निर्माण सक्ने योजनासाथ काम गरिएको एनआरएनएले जनाएको छ।

नेपालखबर बाट 

Write a Comment