तेश्रो पोर्क महोत्सवको तयारी पुरा
14-June-2017


उमा आलेमगर
पोखरा, ०१ असार

भोलि देखि पोखरामा सुरु लागेको तेश्रो पोर्क फेस्टिभलको तयारी पुरा भएको छ । पोखरामा निर्माण हुन लागेको नेपालकै एकमात्र पिग पार्क तथा बंगुर ब्यवशायको प्रवद्र्धन तथा बंगुरको मासुको निर्यातको थालनी गर्ने उद्देश्यका साथ आयोजना हुन लागेको तेश्रो पोर्क महोत्सवको सम्पूर्ण तयारी पुरा भएको आयोजकले जनाएको छ । महोत्सवको भोलि नेपाल सरकार पशुपंक्षी बिकास मन्त्रालयका सचिव युवकध्वज जिसीले उद्घाटन गर्नुहुने छ । 

बंगुर ब्रिडर कृषक सहकारी संस्था लिमिटेड पोखरा, जिल्ला बंगुर ब्यवशायी संघ कास्की, क्षेत्रिय बंगुर ब्रिडर कृषक समुह कास्की र बंगुर ब्यवशाय समन्वय समिती कास्कीको  संयुक्त आयोजनामा आगामी असारको २ देखि ४ गते सम्म पोखराको प्रदर्शनी केन्द्रमा पोखरामा दोश्रो र राष्ट्रिय स्तरमा तेश्रो पटक पोर्क महोत्सवको आयोजना हुन लागेको हो । 

बंगुर ब्रिडर कृषक सहकारी संस्था लिमिटेड पोखराका अध्यक्ष योगबहादुर आचार्यले  नेपालमा एकमात्र पिग पार्कको प्रवद्र्धन संगै बंगुर पालक किसान र बंगुरको मासुको निर्यातको थालनीका लागी महोत्सवको आयोजना गर्न लागेको वताए । बंगुर ब्यवशायी किसान संगै बंगुरको मासुबाट बन्ने परिकारको प्रवद्र्धन गर्ने उद्देश्यका साथ पोखराको प्रदर्शनी केन्द्रमा सञ्चालन हुने महोत्सवमा बंगुर ब्यवशायलाई प्रवद्र्धन गर्ने खालका २५ वटा स्टल रहने वताउदै आचार्यले स्टलमा विशेष गरी बंगुरको मासुबाट बन्ने परिकारहरुलाई प्राथमिकता दिने उद्देश्यका साथ ६ वटा रेष्टुरेन्टहरु रहने वताए ।  बंगुर ब्यवशाय र बंगुरको मासुलाई आम जनमानसले हेर्ने दृष्टीकोण अझैपनि नकारात्मक रहेको र नेपालका रेष्टुरेन्टहरुमा बंगुरको मासुका परिकारलाई समेटन नसकिरहेको अवस्थामा महोत्सवमा रहने रेष्टुरेण्टमा बनेका बिभिन्न परिकारहरुले बंगुरको मासुको प्रवद्र्धन गर्नका लागी महोत्सव कोसेढुङगा सावित हुने उनको भनाइ रहेको थियो । महोत्सवमा पशु चिकित्सक ( मासु निरीक्षणको प्रमाणपत्र प्राप्त ) डाक्टरद्धारा प्रमाणित गरिएको बंगुरको मासुको बिक्री बितरणका साथै बगुरका परिकारमा समेत प्रमाणित गरिएको मासुको प्रयोग गरिने भएको छ । महोत्सवमा बंगुरको मासुबाट बन्ने विभिन्न परिकारहरु बंगुरको मःमः, चाउमिन, सेकुवा, ससेज, अचार विभिन्न विदेशी परिकारहरु चाइनिज र कोरियन परिकारहरुलाई प्राथमिकता दिने लक्ष्य राखिएको छ ।

महोत्सवमा विशेष गरी बंगुर उत्पादनका लागि ब्रिडर फार्म, उपकरण, दाना, औषधि, वित्तिय संस्थाको बारे जानकारी तथा प्राविधिक परामर्श, बंगुरको बधशाला तथा प्रशोधनका वारेमा जानकारीमुलक स्टलहरु, पोर्कका विभिन्न परिकारका स्टलहरु, सेफद्वारा परिकारहरुको तयारीको प्रदर्शन, बंगुर उत्पादन देखि बजारी करणमा प्रयोग हुने विभिन्न औजारहरुको प्रदर्शनी तथा बिक्री, बंगुरको मासुको प्रशोधन तथा परिकार बनाउने सम्बन्धी तालिम, बंगुरपालक किसानहरु बीच अन्तरक्रिया, मासु उत्पादनमा प्रयोग हुने औजारहरुको प्रदर्शनी तथा बिक्री, बंगुरको दाना सम्बन्धी जानकारी, बंगुरपालनमा देखिएका संभावना तथा चुनौतीहरुको बारेमा परामर्श तथा छलफल, विभिन्न जातजातिका झाँकी तथा ¥याली प्रतियोगिता विभिन्न जातजातिका नृत्य तथा झाँकीहरु, ख्यातिप्राप्त राष्ट्रिय तथा स्थानिय स्तरका कलाकारहरुद्धारा लोक तथा दोहोरी गीत, नृत्य, संगित तथा विभिन्न प्रतियोगिताहरु हुनेछन ।

त्यस बाहेक महोत्सवले बंगुरपालन क्षेत्र तथा बंगुरजन्य व्यवसायको प्रबद्र्धन र विकास गर्ने, लिन पोर्कको बजारीकरणलाई प्रोत्साहन गर्ने, उपभोक्तालाई स्वच्छ तथा स्वस्थ्य वंगुरको मासु उपलब्ध गराउनको लागि  बंगुर काट्न अघि र काटि सकेपछि पशु चिकित्सकद्धारा निरिक्षण गर्ने परिपाटिको बिकास गर्ने, बंगुर उत्पादनका लागि आहाराको विकास, गोठ सुधार तथा यान्त्रीकरणका लागि प्रोत्साहन गर्न, पोर्कका विभिन्न परिकारहरु रेष्टुरेन्ट तथा होटेलहरुमा समावेस गर्न प्रोत्साहन गर्नका लागी महोत्सवले उल्लेख्य भुमिका खेल्ने अपेक्षा गरिएको छ । 

क्लासिक ह्वील्स प्रालि पोखराको मूख्य प्रायोजन तथा बंगुर ब्यवशायी संघ नेपालको संयोजनमा हुने महोत्स्वमा नेपाल सरकार, पशुपंक्षी बिकास मन्त्रालय पशु सेवा विभाग, पशु उत्पादन निर्देशनालय, केन्द्रिय बंगुर तथा कुखुरा प्रवद्र्धन कार्यालय, पशुपंक्षी बजार प्रबद्र्धन निर्देशनालय, क्षेत्रिय पशु सेवा निर्देशनालय, पशु बिकास फार्म लामपाटन पोखरा , जिल्ला पशु सेवा कार्यालय कास्की, जिल्ला सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालय कास्की, जिल्ला सहकारी संघ कास्की, जिल्ला कृषि सहकारी संघ कास्कीको सहयोग रहेको छभने पोखरा उद्योग वाणिज्य संघ र नेपाल पर्यटन वोर्ड क्षेत्रिय कार्यालय पोखरा प्रवद्र्धकको रुपमा रहेका छन । त्यसैगरी जिल्ला बिकास समन्वय समिती र पोखरा लेखनाथ महानगरपालिकाको विशेष सहयोग रहेको छ । 

Write a Comment

Events
Random Picks