कालीखोलामा गएको पहिरोले प्रहरीको भ्यान पुरियो, २ जनाको मृत्यु, २ वेपत्ता
22-June-2017


जकसन डटकम
पोखरा, ०९ असार

मुग्लिन–नारायणगढ सडकखण्डको कालीखोलामा गएको पहिरोले प्रहरीको भ्यान पुरिँदा दुई जनाको मृत्यु भएको छ । अरु दुई प्रहरीहरु वेपत्ता छन् । सोही स्थानमा ना ५ ख ७८२७ नम्बरको ट्रकलाई पनि पहिरोले पुरेको हो । मुग्लिन–नारायणगढ सडकखण्ड गएराति ११ बजेदेखि नै पहिरोले राजमार्ग अवरुद्ध छ ।

पहिरोले सडक बन्द भएको सूचना पाएपछि इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी असईको नेतृत्वमा पहिरोको अवस्था बुझ्न कालीखोला पुगेको थियो । ठूलो पहिरो झरेकोले ट्रक समेत पुरेको रिपोर्टिङ गरेर फर्किएका प्रहरीहरुले जनाएका छन् । 

सोही क्रममा माथिबाट झरेको पहिरोले ना १ झ ९३ नम्बरको भ्यानलाई पुरेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख दीपक थापाले जानकारी दिए । भ्यानमा इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी सहायक निरीक्षक (असई) निश्चल तामाङ, प्रहरी जवान दीपककुमार मास्के, सन्दीप कार्की र लीलबहादुर चेपाङ थिए ।

घटनास्थलबाट दुई जनाको शव निकालिएको छ । मृतकको सनाखत भएको छैन । अन्य दुई जनाको खोजी भइरहेको छ । पहिरो पन्छाउने र प्रहरीलाई खोज्ने काम सँगसँगै अघि बढाइएको चितवन प्रहरीले जनाएको छ ।

Write a Comment