पोखरामा पहिरोले दुईको ज्यान गयो, ठाउँ÷ठाउँमा भ्वाङ
2-July-2017


उमा आलेमगर
पोखरा, १८ असार

शनिबार बेलुकादेखी अविरल बर्षासंगै आएको पहिरोले पोखरामा दुई जनाको ज्यान गएको छ । पहिरोमा परी ज्यान गुमाउनेमा  पोखरा १९ अकलाकी ३२ वर्षिया शोभा पौडेल र पोखरा १८ का १४ बर्षीय टंक क्षेत्री रहेका छन् । 

पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर १९ अकलामा पहिरोले घर नजिकै रहेको ब्लकले बनेको भान्साघर बगाउँदा पौडेलको मृत्यू भएको कास्की प्रहरीले जनाएको छ । संगै जोडिएको पक्की घरमा सुतेका शोभाका करीब १५ वर्षिय छोरा सकुशल छन् । शोभाका श्रीमान भने बैदेशिक रोजगारीको सिलसिलामा साउदी अरबमा रहेको स्थानियले बताए । 

लगातार परेको पानीले किचनमा असर पार्ने भन्दै किचनका सामान मिलाउन गएको बेला माथीबाट ढिस्को खसेर भान्सा घर सहित बगाउँदा पौडेलको ज्यान गएको वडा प्रहरी कार्यालय बगरका हवल्दार केशर गुरुङले बताए । पहिरोले भान्साघर करीब एक सय मिटर तल बगाएर लगेको स्थानियले जनाए । गएराति करिब ११ बजे भएको उक्त घटना पछि प्रहरी विहान ६ बजे पुगेको थियो । पौडेलको शव पोष्टमार्टमका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा लगिएको छ । 

राती आएको पहिरोले पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर १८ लभ्लीहिलमा तारापति अधिकारीको घर बगाउँदा पाहुना आएका अधिकारीको सालीकी छोरा १४ वर्षिय टंक क्षेत्रीको मृत्यू भएको हो ।

राती करीब साढे २ बजेतिर आएको पहिरोले घर बगाउँदा पुरिएका उनलाई प्रहरीले उद्धार गरेर पोखराको फिष्टेल हस्पिटल ल्याएको थियो । उनको उपचारको क्रममा मृत्यू भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । परिवारका अन्य सदस्य भने सकुशल रहेका छन् । २ तले ब्लकले बनेको अधिकारीको घर भने भत्किएर हाल बस्न नमिल्ने अबस्थामा रहेको छ । 

यसैबिच, शनिबार बेलुकादेखी परेको अविरल वर्षापछि आएको भलले निकास नपाउँदा पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर १६ स्थित लामाचौर बानियाथरमा जमिन भासिदा एक घर भत्किनुका साथै अर्को एक घर उच्च जोखिममा परेको छ । घर अगाडिको नाली थुनिएर निकास नपाउँदा लामाचौरबाट लांघारी जानेबाटोको बानियाथरमा जमिन भासिदा लक्ष्मी बानियाको एउटा कच्ची घर पूर्ण रुपमा भत्किएको छ । उनकै अर्को एउटा २ तले पक्की घरको एउटा कोठा चर्किएको स्थानियबासी तथा नेपाल टेलिकम पोखरा शाखाका सहायक प्रशासकीय अधिकृत महेन्द्र रिमालले जानकारी दिए ।

उनका अनुसार करीब ५ मिटर गहिराई बनाएर घर भासिएको छ । कच्ची घरमा मान्छे नबस्ने भएको मानविय क्षेति हुनबाट भने बचेको बताइएको छ । भासिएको जमिन करीब ४० मिटरसम्म फैलिएको छ । सबै ठाउँमा एउटै गहिराई नभएपनि पानीको निकास ब्यबस्थापन नगरे स्थानिय राधेश्याम रञ्जित र नारायण बानियाको पक्की घर पनि जोखिममा पर्नसक्ने खतरा रहेको बताइएको छ ।

पोखरा १७ दोबिल्लामा रहेको दोबिल्ला पुल पनि बाढीको उच्च जोखिममा परेको छ । भरतपोखरी जोड्ने पुल राती करीब २ बजेति आएको पहिरोले बिजुलीको पोल भत्काउनुका साथै पुलसमेत जोमिमा पारेको दोबिल्ला बचाऊ समितिका कोषाध्यक्ष जगतबहादुर आलेले जानकारी दिए ।

त्यस्तै पोखराको मध्यभाग भएर बग्ने सेती नदीमा बढेको बाढीले रामघाटको मुख थुनिदा ठूलो ताल बनेको छ । रामघाट थुनिएपछि नदी किनारमा बस्ने करीब ५० परिवार जोखिममा परेका छन् । पानी पर्न रोकिएकाले पानीको वहाव घट्न थालेपनि फेरी पानी पर्ने सम्भावना रहेकाले स्थानिय त्रसित बनेका छन् । सो क्षेत्रमा हरेक वर्ष रामघाट थुनिदा स्थानिय समस्यामा पर्ने गरेका छन् ।

याम्दी खोला बढ्दा पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर १ सिमपानीमा लालीमान थापाको घरमा क्षेति पुगेको छ । थापाको घरको तल्लो तलाको एउटा कोठामा बाढीको भल पस्दा त्यहाँ बस्दै आएका बिस्थापित भएका छन् भने घर अगाडि बनाएको कट्टेज पूर्ण रुपमा क्षेतिग्रस्त भएको छ । 

पोखरा लेखनाथ–१५ स्थित मितेरी पुल (सिताराम पुल)देखी दक्षिणतर्फको सेती किनारमा रहेको ढिस्को नै खसेको छ । ढिस्कोको करीब सय मिटर जतिको भाग खसेको र सोही कारण नजिकका क्षेत्र जोखिममा परेको वडा नम्बर १५ का वडाध्यक्ष प्रकाश पौडेलले जानकारी दिए । जोखिम न्यूनिकरणका लागि विज्ञ टोली लगेर अध्ययन गरिनुपर्ने वडाध्यक्ष पौडेलले बताए ।

Write a Comment

Events
Random Picks