लाप्राक सामुदायिक भवन निर्माणका लागि तीन लाख हस्तान्तरण
7-July-2017


उमा आलेमगर
पोखरा, २३ असार

२०७२ साल बैशाख १२ र २९ गतेको विनासकारी महाभुकम्प र एवं पराकम्पनहरुबाट अन्यन्तै क्षतिग्रस्त गोरखा जिल्लाको लाप्राक गाँउमा तमु धिं नेपाल र तमु समाज बेल्जियमद्धारा निर्माण भइरहेको लाप्राक सामुदायिक भवन निर्माणका लागि तेश्रो किस्ता स्वरुप शुक्रवार ३ लाख रुपैया हस्तान्तरण गरिएको छ ।

पोखरा महानगरपालिका वडा नं. ९ नयाँबजारस्थित तमु धिं नेपालमा आयोजित कार्यक्रममा तमु धिं लाप्राकका सचिव तथा लाप्राक सामुदायिक भवनको समेत सचिव रहनु भएका हरि तमु र सल्लाहकार नरमाया(निशा)तमुलाई तमु धिं नेपालका महासचिव गिरीप्रसाद तमु र भवन निर्माण संयोजक हुमबहादुर तमुले उक्त रकम हस्तान्तरण गरिएको हो ।

भुकम्पले गाँउ नै विस्थापितको अवस्थामा पुगेको लाप्राक गाँउको ऐतिहासिक स्थल मनिग्राम डाडामा तमु धिं नेपाल र तमु समाज बेल्जियमले भुकम्प पीडित गाँउका लागि सामुदायिक भवन निर्माणको अन्तिम चरणमा पुगेको हो । लाप्राकमा संरक्षित मौलिक घाँटु, चण्डी नृत्यका साथै पितृ संस्कार, पुजा, तालिम, गोष्ठी, सभा, भोज र पाहुना घरको रुपमा समेत प्रयोग गर्न र आपतकालिन अवस्थामा आश्रयका लागि आरसिसि ढलान सामुदायिक भवन निर्माण गरिएको हो । उक्त भवन निर्माण पश्चात परम्परागत मौलिक संस्कृति संरक्षणका साथै लाप्राकको पर्यटन प्रवद्र्धन र लाप्राकीको सशक्तिकरणका लागि टेवा पुग्ने तमु धिं नेपाल र तमु समाज बेल्जियमले अपेक्षा गरेको छ ।

उक्त भवन निर्माणका लागि तमु धिं नेपाल लाप्राक गाँउ शाखाका अध्यक्ष तेजराम तमुको संयोजकत्वमा निर्माण समिति जुटिरहेको छ । यस भन्दा अघि भवन निर्माणका लागि १२ लाख र १० लाख दुइ किस्ता रकम निर्माण समितिलाई हस्तान्तरण गरिसकेको छ । सभाहल, कार्यालय, स्टोरकोठासहित शौचालय रहेको लाप्राक सामुदायिक भवन ढलान सम्पन्न गरी हाल प्लाष्टरको कार्य भईरहेको निर्माण समितिका सचिव हरि तमुले जानकारी दिनुभयो । 

Write a Comment

Events
Random Picks