महानगरको गेटमा फोहोर थुप्रिने क्रम वढ्दो (भिडियो)
16-July-2017


उमा आलेमगर
पोखरा, ०१ साउन

फोहोर संकलन र व्यवस्थापनमा नगरपालिकाको उचित निगरानी नहुँदा आजकल पोखरा लेखनाथ महानगरपालिका कार्यालय गेट अगाडि फोहोर थुप्रिने क्रम वढ्दै गएको छ । विगतमा पृथ्वीचोक, सिर्जनाचोक लगायका स्थानमा हप्तौसम्म फोहोर थुप्रो देखिने दृश्य आजकल महानगरपालिकाको गेटमा नै देख्न पाइन्छ । 

प्रत्येक दिन विहान न्यूरोडमा रहेको नगरपालिका कार्यालय बाहिर नै फोहोरका पोका बोकेर सर्वसाधारण पुग्ने गर्दछन् । त्यहाँ गाडीमा फोहोर पु¥याउन नभई मात्र फोहोर फ्याँक्न कै लागि उनीहरु जाने गर्दछन । एकातिर समयमा फोहोर संकलनका लागि गाडी पठाउन नसक्नु महानगरको कमजोरी हो भने यसै कमजोरीलाई आधार वनाएर जहाँ पायो त्यही फोहोर फाल्नु महानगरपालिकाका नागरिकहरुको गैरजिम्मेबारी पनि हो ।

पोखराको मुख्य बजार क्षेत्रमा हरेक विहान फोहोरका गाडी गुडेका देखिन्छन् तर महानगरपालिकाकै गेटमा नै यसरी फोहोर फालिनु र जम्मा हुनुमा नागरिकको मात्र नभई महानगरपालिकाको पनि दोष देखिन्छ । नागरिकले अधिकार खोज्दा दायित्व भुलेका छन् भने महानगरपालिकाले नागरिकबाट कर असुल्ने तर आधारभूत सेवा प्रवाह गर्न चुक्ने प्रवृत्तिको विद्यमान छ ।

स्थानीय तहको निर्वाचन सम्पन्न भएपछि जनप्रतिनिधिले महानगरको सेवा प्रवाहमा सुधारको अपेक्षा गरेपनि २ महिना वित्दा पनि सेवा प्रवाहमा सुधारको छनक देखिन सकेको छैन । 

Events
Random Picks