पहिलो साउने सोमबारः शिव मन्दिरमा ब्रतालुको भीड
17-July-2017


जकसन डटकम
पोखरा, ०२ साउन

आज साउनको पहिलो सोमबार । यस वर्षको साउनमा पाँच वटा सोमबार परेको छ । यसको अझ बढी धार्मिक महत्व रहेको मानिन्छ । यो महिनालाई भगवान् शिवको महिनाको रुपमा पनि लिने गरिन्छ । त्यसमाथि साउनको सोमबारमा भगवान शिवको ब्रत बस्ने चलन छ । देशभरका शिव मन्दिरमा आज महिलाको भीड लागेको छ ।

साउन महिना हिन्दु नारीहरुका लागि विशेष महत्वको महिना हो । साउन सुरु भए लगतै महिलाहरु रङ्गिन थाल्दछन् । हरियो पोते, पहेलो चुरा, हातमा मेहेन्दी र बस्त्र पनि हरियो नै देख्न पाइन्छ । साउन महिनामा खास गरी हिन्दु धर्मालम्बीहरुले भगावन शिवको पूजा आराधना र व्रत बस्ने परम्परा छ । हिमालयकी पुत्री पार्वतीले साउन महिनामा निराहर ब्रत बसेर भगान शिवलाई प्राप्त गरेको विश्वासमा महिलाहरुले साउनमा ब्रत बस्ने गर्दछ ।

त्यसैले साउन महिना साँस्कृतिक हिसाबले पवित्र महिना हो । यो महिनाभर महिलाहरु शुद्ध साकारहारी खाना खाने तथा सोमवार ब्रत बस्ने गर्दछन् । आफ्नो परिवारको सुख शान्ति र कुशल मंगलको कामना गरी सोमबार ब्रत वस्ने गरेको महिलाहरु बताउछ्न । साउनमहिना भरी माछा मासु नखाई एक छाक खाना खाने र सोमबार मन्दिर गएर पूजा गरी मनाउने गरेको उनीहरु बताउछन् । हरियो पहेंलो र रातोपोते एवं कपडा लगाउनुको पनि आफ्नै अर्थ छ । हरियोलाई प्रेम, रातोलाई शौभाग्य र पहेँलोलाइ पवित्रताको प्रतिकको रुपमा लिइन्छ ।

यद्यपी साउन महिनामा हरियो रातो पहेलो समिश्रण गरी लगाउने चलन स्थापित हुदै आएको छ । अघि पछि सुनसान रहने पसलहरु पनि अहिले चुरा पोतेले सजिएका छन् भने बजारमा त्यस्ता सामग्री खरिद गर्नेहरुको भीड बढ्न थालेको छ । ब्यापारीहरु पनि साउनमा हरियो, पहेलो रातो चुरापोते तथा बस्त्रको ब्यापार बढ्ने बताउछन् । धर्मले जहिले पनि मानिसलाई पवित्र बन्नका लागि प्रेरित गर्दछ । साउन महिना प्राकृतिक रुपमै पनि हरियाली महिना हो । यस्ता सकारात्क संस्कृतिहरुलाई जोगाउदै लानु पनि उत्तिकै आवश्यक छ ।

०२