राउटेलाई राहत वितरणमा मनपरी कसले के–के दिन्छन् ? कुनै लेखाजोखा छैन
22-June-2015

 

दैलेख, असार ७ - विभिन्न राहत सामग्री लिएर यसै साता दुई गैरसरकारी संस्था राउटे बस्ती पुगे । ती संस्थाले प्रहरी र पत्रकारकै रोहबरमा दाल, चामलदेखि सुर्ती–चुरोटसम्म बाँडे । अझ फर्कंदा उनीहरूले केही राउटे अगुवालाई खुसी पार्न स्थानीय बजार रामागाडमा मदिरासमेत पिलाए ।

जंगलमा विशुद्ध फिरन्ते जीवनयापन बिताउने लोपोन्मुख राउटे समुदायलाई सहयोग गरेर आफू मिडियामा छाउन, उनीहरूबारे अध्ययन/अनुसन्धान गर्न र फोटो खिचाएर रहर मेटाउने उद्देश्यले राउटे बस्ती पुग्नेको दिनैपिच्छे लर्को लाग्ने गर्दछ । चकलेट, सूर्तीदेखि लुगाफाटो र चामल, खसीसम्म वितरण गर्दा उनीहरूले स्थानीय प्रशासनको अनुमति लिँदैनन् । स्थानीय निकाय अथवा प्रशासनले पनि त्यसतर्फ चासो दिन सकेका छैनन् । ‘राउटेलाई राहत बाँडेको देख्दा हामी दंग छौं । के दिन्छन् ? कति दिन्छन् ? पोकैपोका ल्याएका हुन्छन्,’ मध्यपश्चिम बस व्यवसायी समितिमा कार्यरत रामागाडका जीवन थापाले भने, मनपरी सहयोग बाँडेर राउटेको बानी बिगारिदिए । राहतका नाममा चाहिने–नचाहिने सरसामान वितरण गर्दा उनीहरूलाई परनिर्भर बनाउन थालियो ।’

बस्तीमा कोही नयाँ मानिस नपुगेको दिन विरलै हुन्छ । व्यक्तिगत स्वार्थ पूा गर्न रक्सी खुवाएर लठ्ठ पार्ने, पैसा दिने गरिन्छ । कतिपयले त कमाइ खाने भाँडो बनाएका छन् राउटेलाई । मूलको मात्र पानी पिउने राउटेलाई मिनिरल वाटर (बोतलको पानी) सम्म दिएको पाइन्छ । कारण, उनीहरूको आवश्यकता, समस्या बुझ्न नभई तस्बिर खिचाएर आफ्नो स्वार्थ पूरा गर्न । कतिपयले राउटेलाई गलत ढंगले उपयोग गरिरहेको रामागाडका नैनबहादुर शाहीले बताए । खाद्यान्न लत्ताकपडालाई स्वभाविक सहयोग मान्न सकिएला । तर, सुर्ती, पुकारदेखि नगदसम्म बाँडेर आदत बिगारिरहेका छन् ।

बस्तीमा पुग्ने व्यक्ति/संस्थाले सुर्तीदेखि नगदसम्म दिँदा राउटेको आदत बिग्रिएको छ । अर्काको सित्तैमा नखानु भनेर अर्ती दिने राउटे अचेल मागेरै खान पल्केका छन् । एक नम्बर मगन्ते जातिका रूपमा दर्ज छन् । मानिस देख्नेबित्तिकै पैसा माग्छन् । सरकारले भत्ता दिन थालेपछि काठका सामग्री बनाउन छाडेका छन् । ‘बिक्री हुँदैनन् । भत्ताले चामल किन्न पुगेकै छ,’ राउटे मुखिया सूर्यनारायण शाही भन्छन् । राउटे निकट रहेर काम गरेका पत्रकार भक्तबहादुर शाहीले राहत वितरण गर्दा स्थानीय निकायको पूर्वस्वीकृति लिनुपर्ने व्यवस्था गर्नुपर्ने बताए । ‘अनुमति लिएमा वास्तविक आवश्यकताअनुसारको राहत बाँडिन्छ,’ उनले भने, नत्र राहतमा मनपरी तरिकाले बाँडिने सम्भावना हुन्छ ।’ उनले त्यसका लागि स्थानीय निकाय (सम्बन्धित जिविस, गाविस) ले पहल गर्नुपर्ने बताए ।

केही गैरसरकारी संस्था तथा व्यक्तिले आफ्नो धन्दा चलाउन राउटेलाई पैसामुखी बनाएको आरोप लाग्ने गरेको छ । नाबालक उमेरका समेत चुरोट, सुर्ती र रक्सीका अम्मली भएका छन् । पैसा जति सबै रक्सीमा सक्ने गरेका छन् । मदिराले लठ्ठीएर केही महिनाअघि तल्लो डुंगेश्वरको भीरबाट लडेर सहायक मुखिया ऐनबहादुर शाहीको ज्यान गयो । अर्का एक युवा अत्यधिक मदिरा सेवनकै असरले खड्कवाडाको जंगलमा मृत भेटिएका थिए ।

भत्ता रकम अपारदर्शी खर्च राउटेलाई भत्तामात्रै गरी अहिलेसम्म करोडौं रकम खर्च भइसक्यो । आव ०६५/६६ देखि नेपाल सरकारले लोपोन्मुख भत्ता दिन थालेको हो । सुरुको एक वर्ष प्रतिव्यक्ति मासिक ५ सय र त्यसयता मासिक एक हजार दिन थालियो । जुन जिल्लामा बसाइँ सर्छन् त्यही जिल्लाबाट भत्ता पाउन व्यवस्था गर्‍यो सरकारले । आधिकारिक जनसंख्या नहुँदा भत्ता कति वितरण गरियो ? भन्ने तथ्य पत्ता लगाउन समस्या छ । ठीक एक वर्षअघि दैलेख प्रवेश गरेका राउटेलाई जिविसले अहिलेसम्म २ चौमासिक वितरण गरेको छ । दैलेख जिविसले पहिलो र दोस्रो चौमासिक गरी १ सय ४५ राउटेलाई सरदर ११ लाख ७० हजार रुपैयाँ गर्‍यो ।

जन्म, मृत्यु अद्यावधिक गर्दैनन् राउटे । भर्खर जन्मेको शिशुले समेत भत्ता पाउँछ । औसतमा हिसाब गर्ने हो भने पनि एक वर्षमा १७ लाख ४० हजार रकम राउटे बस्तीमा जान्छ । हालसम्म एक करोड बढी रुपैयाँ राउटेले भत्ता पाइसकेका छन् । पहिले सल्यान, सुर्खेतलगायत जिल्लामा बस्दा दुई सय, अढाइ सय जनाले भत्ता बुझेको पाइन्छ । यति मोटो रकम के खर्चिए त राउटेले ? खास देखिने प्रगति केही छैन । महामुखिया मैनबहादुर शाहीले भने, चामल, तिउन, सिकार, लत्ताकपडामा खर्चियौं । हाम्रो अरू कमाइ छैन । परिवार पाल्न भत्ताकै भर हो ।’ मासिक उपलब्ध नगराउँदा भत्ता रकम दुरुपयोग हुन पुगेको छ 

Source : ekantipur.com 

Write a Comment

Events
Random Picks