तमु (गुरुङ)ले पोखरामा आफ्नो मौलिक तथा सांस्कृतिक पर्व ट्होटें उल्लासपूर्ण रुपमा मनाए
17-August-2017

जकसन डटकम
पोखरा, ०१ भदौँ

साउन महिनाको अन्तिम मंगलबार, तमु (गुरुङ)ले पोखरामा आफ्नो मौलिक तथा सांस्कृतिक पर्व ट्होटें उल्लासपूर्ण रुपमा मनाएका छन्। तमु जातिले विगतमा आफ्नो ट्हो वा राज्य सुरक्षाका लागि साउन र चैत महिनाको २ वटा मंगलबारमा ट्होटें मनाउँदै आएको छ। पोखराका तमुहरुले आइतबार सामूहिक रुपमा ट्होटें मनाउने कार्यक्रममा सयौं सहभागी बने। तमु (गुरुङ) भाषामा ट्हो को अर्थ तमु भाषामा राज्य वा गाउँबस्ती हुन्छ भने टें को अर्थ राज्यबाट बैरी वा शत्रु धपाउने भन्ने हुन्छ। राज्यभित्र देखिएका बैरी वा शत्रुहरुलाई राज्यको सीमा कटाउँदै ट्हो संरक्षण गरेको परम्परागत इतिहास भएको तमु धिँ नेपालकी वरिष्ठ उपाध्यक्ष सरस्वती गुरुङले बताइन्। ‘हामीले यो पर्व वर्षको दुई पटक मनाउँदै आएका छौं। यो पर्वले हाम्रा शत्रुहरु भगाओस्। अहिले बाढीबाट प्रभावित सबैको उद्धार र सहयोग होस् भन्ने हामीले ट्होटें मनाउँदै कामना गरेका छौं’, उनले भनिन्। ट्होटें तमुहरुको मात्र पर्व नभएर सबै समुदायको पर्व भएको गुरुङको भनाइ थियो। तमु धिँ नेपालको आह्वानमा पोखरा तथा आसपासका सबै तमु समुदायले उत्साहजनक रुपमा सामूहिक ट्होटें पर्व मनाएका हुन्।पोखरा–१ बगरस्थित पुरानो टुँडिखेलबाट मौलिक पोशाक, झाँकी, बाजागाजा, साँस्कृतिक प्रस्तुतिसहित मुख्य कार्यक्रमस्थल नयाँबजार तमु धिँ नेपालसम्म ¥याली निकालिएको थियो। ¥याली तथा कार्यक्रममा तमु जातिको मौलिक सँस्कृतिहरु ट्होटें, घाँटु, सोरठी, झोडा, चुट्का, कृष्ण चरित्र प्रदर्शन गरिएको थियो। तमु गाँउ बस्ती, राज्य सुरक्षाका लागि मनाईँदै आएको ट्होटें अहिले गुरुङ पहिचान, संस्कृति संरक्षण र अधिकारका लागि सामूहिक रुपमा मनाइएको तमु धिं नेपालकी अध्यक्ष कर्म तमुले जानकारी दिइन्।

गाउँघरमा सामान्य हिसाबले मनाईँदै आएको ट्होटेंले बृहद रुप लिएको लेखनाथका दानबहादुर गुरुङ बताउँछन्। ट्होटें देशमामात्रै नभएर गुरुङ समुदाय रहेका विभिन्न देशमा अहिले भव्य रुपमा मनाइएको कार्यक्रम संयोजक मेनकाजी गुरुङले बताए। ट्होटेंले तमुहरुको संस्कृति संरक्षण र आत्मीयता बाँड्ने काम गरेको उनले बताए। ट्होटें पर्व तमु धिं नेपालले सामूहिक रुपमा २०५२ सालदेखि मनाउदै आएको हो। कार्यक्रममा सगरमाथा आरोहण गर्ने गुरुङ चेली भूमिका गुरुङ र नानुमाया गुरुङलाई सम्मान गरिएको छ। कार्यक्रममा सहभागीले टहोटेंको उत्सवमात्रै मनाएनन् बाढी प्रभावितप्रति शोक व्यक्त गर्दै बेलैमा राहत र उद्दार गर्न सरकारलाई आग्रहसमेत गरे। तमुहरुबाट देशले धेरै कुरा सिक्नुपर्छ: उपप्रधानमन्त्री श्रेष्ठ उपप्रधानमन्त्री तथा शिक्षा गोपालमान श्रेष्ठले तमु समुदायबाट देशले धेरै कुरा सिक्नुपर्ने बताएका छन्। मंगलबार ट्होटें कार्यक्रमलाई सम्बोधन गर्दै श्रेष्ठले प्रजातन्त्र र परिवर्तका लागि विशेष योगदान पु¥याएका तुमहरुबाट देशले धेरै कुरा सिक्नुपर्ने बताएका हुन्।

‘देशका हरेक परिवर्तनमा तमुहरुको विशेष योगदान छ। एकता र सद्भाव कायम गर्न तमुहरुको देन छ। तपाईँहरुबाट देशले धेरै कुरा सिक्नुपर्छ,’ श्रेष्ठले भने, ‘म आदिवासी हुँ । आदिवासीमात्रै होइन जनजाति पनि हुँ। त्यसैले पनि म तपाईँहरुको नजिक छु। तपाईँहरुको स्वागतले म गोपाल श्रेष्ठबाट गोपाल गुरुङ भएको छु।’ नेपाली कांग्रेसले पोखराको उपमेयरमा पनि तमु समुदायबाटै टिकट दिएको र यसअघि पोखराका महादेव गुरुङ, प्रकाश गुरुङ लगायत मन्त्री पनि भइसकेकाले कांग्रेसले तुमसमुदायलाई समेटेको बताए। आफूँ पोखरासँग नजिक रहेको बताउँदै पोखरा फिर्केखोलादेखि आँधीखोलासम्म सुरुङमार्ग खोल्ने आफ्नो सपना रहेकोसमेत सुनाए। शिक्षामन्त्री श्रेष्ठले अब व्यावसायिक शिक्षाको खाँचो रहेको बताए। ५० लाख युवा विदेशिएको बताउँदै व्यावसायिक शिक्षा प्रदान गर्दै दक्ष बनाउन सकिएमात्रै देश विकास हुने उनको भनाइ थियो।

Write a Comment

Events