पोखरामा जथाभावी पार्किङ शुल्क उठाउँदा नागरिकलाई सास्ती
23-June-2015

कमल पौडेल

पोखरा, असार ८ – पोखराको सार्वजनिक स्थलमा सवारी साधन पार्किङ गर्ने बित्तिकै भर्खरका कलिला युवा–युवती र बालवालिका मुखमा माक्स लगाएर पार्किङ शुल्क दिनुस् भन्दै आउँछन् । न त उनीहरुले सडकमा पार्किङ शुल्क उठाउन छोड्छन् न त अस्पताल, सार्वजनिक कार्यालय जस्ता संवेदनशील क्षेत्रमा नै छोड्ने गरेका छन् । विद्यालय पढ्ने उमेरका कलिला बालवालिकालाई पार्किङ ठेकेदारले भरपूर उपयोग गरेर पार्किङ शुल्क उठाउँदै आएका छन् ।

पोखराका अत्यन्तै संवेदनशील क्षेत्रमासमेत पार्किङ शुल्क उठाइएको भन्दै नागरिकहरुले त्यसको विरोध गरेपनि सम्बन्धित निकाय भने मौन रहेको छ । पोखरा उपमहानगरपालिका कार्यालयले निजी क्षेत्रलाई पार्किङ शुल्क उठाउन ठेक्का दिएको छ । ठेक्का पाएको नाईस नेपाल कम्पनीले पोखराका झण्डै २ सय बढी स्थानबाट पार्किङ शुल्क उठाउँदै आएको छ ।ठेक्का लिनेहरुले पोखराका सडकका साथै अस्पताल क्षेत्रभित्र पनि पार्किङ शुल्क लिँदै आएका छन् । तर, नियमअनुसार सडकका दायाँ–बायाँ पार्किङ गराएर पैसा असुल्नु गैर कानुनी मानिन्छ ।

पोखरामा छुट्टै पार्किङ स्थल तोकिएको छैन । हरेक सवारी चालकहरुको पार्किङ स्थल अहिले सडक नै बनेको छ । तर, नागरिकहरुले भने संवेदनशील क्षेत्रमा उठाइने पार्किङको चर्को विरोध गरेका छन् । अन्यत्र पार्किङ शुल्क लिएपनि अस्पताल र सरकारी कार्यालय हाताको पार्किङले निकै समस्या पारेको पोखरा नागरिकको भनाई छ ।यति मात्र होइन स्वयं पोखरा उपमहानगरपालिका कार्यालयमा काम लिएर जाने सेवाग्राहीले नगरपालिकाको अगाडि पार्किङ गरेको सवारी साधनको पनि पार्किङ शुल्क उठाउने गरिएको छ । सेवाग्राहीले नगरपालिकाको काममा नगरपालिकाको आँगनमा पार्किङ गर्दा पनि पैसा लाग्ने भन्छन् तर, उठाउनेले पैसा उठाउन छाडेका छैनन् ।यस्तै पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको हातामा समेत पार्किङ शुल्क उठाउने गरिएको छ । यो पार्किङ शुल्कले बिरामी लिएर जाने र बिरामी भेट्न साधन लिएर अस्पताल पुग्नेहरुले पार्किङ शुल्कले निकै सास्ती दिएको बताउँदै आएका छन् ।

पोखराका व्यवसायी सुवर्ण कोइराला पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा आफन्त भेट्न गएका थिए । उनले अस्पताल परिसरमा गाडी राखेर आफन्तलाई भेट्न अस्पताल भित्र गए । आफन्त बिरामी भेटेर फर्किन लाग्दा उनको गाडी नजिकै एक जना कलिलो उमेरका युवा आएर पार्किङ शुल्क मागे ।तव, कोइरालाले २० रुपैयाँ झिकेर दिए । मानवीय संवेदनायुक्त अस्पताल परिसरमा पार्किङ शुल्क लिएको भने कोइरालालाई ठिक लागेन । उनले भने, ‘२० रुपैयाँ मेरो लागि ठूलो होइन तर, संवेदनशील क्षेत्र अस्पताल परिसरमा समेत पार्किङ शुल्क लिनु त हदै भयो ।’ कोइराला त प्रतिनिधी पात्र मात्र हुन् ।

हिजो आज गण्डकी अस्पताल हातामा सवारी साधन लिएर छिर्ने जो कोहीले पनि पार्किङ शुल्क तिर्नुपर्ने बनाइएको छ । त्यहाँ पुग्ने सवैले यो त हदै भयो भन्न छाडेका छैनन् । तर, प्रशासनिक निकाय र उपभोक्ता अधिकारकर्मीहरु समेत यसमा मौन बसेका छन् ।कास्कीका प्रमुख जिल्ला अधिकारी कृष्णवहादुर राउतले आफूलाई पनि अस्पताल परिसरमा पार्किङ शुल्क उठाउने धन्दा ठिक नलागेको बताउँछन् । उनले सो बारे बैठकमा कुरा उठाएको तर, त्यहाँको विकास समितिले पार्किङ शुल्क उठाउने निर्णय गरेको बताए । उनले यस्ता सार्वजनिक स्थलमा पार्किङ शुल्क उठाउनेबारेमा बेलैमा सोच्न जरुरी रहेको बताए । पोखराको पार्किङ ठेक्का लगाउने अड्डा पोखरा उपमहानगरपालिका कार्यालयका कार्यकारी अधिकृत उदयवहादुर रानाले पार्किङ शुल्कवारे जताततैबाट गुनासो आइरहेको स्वीकार गर्दै २० महिनासम्मको लागि दिएको ठेक्का सम्झौतालाई केही गर्न नसकिने बताए । उनले ठेक्का दिएको समय चार महिना वितिसकेकोले अर्को पटकको ठेक्का सम्झौता गर्दा सोच्न सकिने बताए ।

Source :  http://www.ratopati.com

Write a Comment

Events
Random Picks