गजरेघाटका बालुवा मजदुरहरु आन्दोलित
4-September-2017


जकसन डटकम
पोखरा, १९ भदौ

पोखरा लेखनाथ महानगरपालिका–२५, हेमजाको याम्दीस्थित गजरेघाटका बालुवा मजदुरहरु आन्दोलित बनेका छन्। गत साउन महिनाको एक गतेदेखि गजरेघाटमा प्रशासनले बालुवा झिक्न नदिएको भन्दै उनीहरु आन्दोलित बनेका हुन्। 

‘मजदुरलाई काम गरी खान देउ’ भन्दै उनीहरुले सोमबार पोखरा लेखनाथ महानगरपालिकाको कार्यलय घेराउ गरे। मजदुरहरुले महानगरपालिकाका प्रमूख मानबहादुर जि.सी.लाई सोमबार ज्ञापनपत्र समेत बुझाएका छन्। ज्ञापनपत्र बुझ्दै दुई दिनभित्र समस्याको समाधान गर्ने प्रतिबद्धता जनाएको मजदुरहरुले बताए।

गजरेघाटबाट बालुवा झिक्न कस्ले रोकेको हो ? मजदुरहरुले बुझ्न सकेका छैनन्। आन्दोलमा सरिक सिता गुरुङ थापाले प्रश्न गरिन्,–‘मजदुरहरुलाई बालुवा झिक्नबाट सरकारले रोकेको हो वा कुनै निकाय वा राजनीतिक दलले रोकेको हो?’

बालुवा झिक्ने काम ठप्प भएपछि आफूहरुको रोजीरोटी खोसिएको उनीहरुले बताए। बिहान बेलुकी हातमुख जोर्न र केटाकेटीहरुलाई विद्यालय पठाउनसमेत कठिनाई आएको मजदुरहरु बताउँछन्। ‘बालबालिकाहरुले स्कूलमा जाँच दिन पाएका छैनन्,’ सिताले भनिन्,–‘हामीसंग पैसा नभएका कारण केटाकेटीहरुलाई फि दिएर स्कूल पठाउन पाएका छैनौं। हाम्रा केटाकेटीहरु पढ्नबाट समेत बञ्चित छन्।’

सरकारलाई राजश्व तिरेर काम गरि खान पाउनुपर्छ भन्ने मजदुरहरुको माग छ। ‘खोलामा बगेको बालुवालाई डोकोमा बोकेर राज्यलाई राजश्व तिर्छौ भन्दापनि नपाउने?’–सिताले प्रश्न गरिन्। 

मजदुरहरुले प्रहरी प्रशासनबाट आफूहरुमाथि दमन गरेको आरोप लगाए। प्रहरीहरुले खुट्टा र अनुहारमा लाठी हानेर थुन्ने समेत गरेको उनीहरुको आरोप थियो। माथिको आदेश छ भन्दै बगरचौकीका प्रहरीले आफूहरुमाथि गोली हानेर मान्छेसमेत मार्ने धम्की दिने गरेको उनीहरुले बताए। मजदुरहरुको प्रश्न थियो,–‘यो कहाँसम्मको अन्याय हो?’ 

अपराधीहरुलाई सरकारले डोजर र भ्याकु लगाउन दिएको मजदुरहरुको आरोप छ। ‘क्रसर मेसिन चलाउने र अरुको जग्गा जमिन समेत खन्नेहरुलाई छुट छ,’ सिताले प्रश्न गरिन्,–‘खोलामा बगेको बालुवालाई हामीले सदुपयोग गर्न किन नपाउने?’

मजदुरहरुले महानगरपालिका कार्यलय, जिल्ला प्रशासन र जिल्ला समन्वय समितिमा एकैपटक ज्ञापनपत्र बुझाउने कार्यक्रम रहेपनि सोमबार महानगरपालिकाका प्रमूख जि.सी.लाई मात्र ज्ञापनपत्र बुझाएको सिताले बताइन्। महानगरपालिकाका प्रमूख जि.सी.ले समस्याको समाधान गर्ने प्रतिबद्धता जनाएपछि र अन्त ज्ञापनपत्र नबुझाउन आग्रह गरेपछि जिल्ला प्रशासन र समन्वय समितिको कार्यलयमा ज्ञापनपत्र बुझाउने कार्यलाई स्थगित गरेको सिताले प्रष्ट पारिन्।

गत असारको मसान्तसम्म टेण्डर प्रक्रियामार्फत मजदुरहरुले बालुवाका काम गर्दै आएका थिए। गजरेघाटमा ठेकेदार रमेश कार्की र ज्ञानु थापाले टेण्डर प्रक्रियामा बालुवा झिक्ने कार्य सञ्चालन गरेको मजदुरहरुले बताए। उक्त घाटमा करिव तीनसय मजदुरहरु आश्रित रहेको मजदुरहरुले बताए। 

Write a Comment

Events
Random Picks