‘छोरी हामी मर्ने बेला भयो मुख हेर्न आउँदिनौ ?’
25-June-2015

 

माधव भुषाल । यात्रा गोरखाको थियो । दुर्इ दिनदेखी मेरो कोठामा रेडियो निरन्तर बजिरहेथ्यो । बाटोमा हिँड्दा होस् या अन्य कुनै बेला निरन्तर अपडेट सुनिरहेको थिएँ । मैले स्वयं काम गर्ने रेडियोमा २४ सै घण्टा अपडेट आइरहेको थियो । म पनि रातभर लाइभ अपडेट गरेर बिहान गोरखा जाने तरखरमा थिएँ । बैशाख १२ को भूकम्पले सबै त्रसित थिए ।

एक संस्थाले गोरखाको घ्याचोकमा राहात लैजाने भएपछि त्यो संस्थाकै केही व्यक्तिहरुसँग म पनि त्यहाँको स्थिती बुझ्न उनिहरुसँगै बाटो तताएँ । करिब ८ घण्टाको निरन्तर यात्रा पछि घ्याचोक पुगियो ।

आफूले निरन्तर अपडेट गरिरहँदा क्षती यति भयो, यति जनाको ज्यान गयो भन्ने थाहा पाएपनि त्यो क्षतिग्रस्त ठाउँमा पुगेपछि प्रत्यक्ष देखेँ, क्षति कति भएको रहेछ भनेर। हामी त्यहाँ राती मात्र पुगेका थियौं । स्थानीयहरु खेतको गरामा मकै फाँडेर पाल टाँगेर बसिरहेका थिए ।

जब घामले घ्याचोकलार्इ प्रस्ट देखाउन थाल्यो अनि त्यहाँको अवस्था देखेर एकछिन टोलाएँ, ति दृश्य हेरेर बसेँ । घर ढलेर खेतको गरामा बसेकाहरु राहात ल्याएको छ रे भनेर राहात पर्खिरहेका थिए । बिहान करिब ८ बजेबाट राहात वितरणको काम सुरु भयो । राहात पनि एउटा खेतको गरामा नै बाँडिदै थियो । राहात लिनेहरु लाइन लाग्न थाले । उनीहरु के कुरा गर्छन् त्यो म सुन्दै थिएँ ।

IMG_2500

त्यही खेतको कुनामा एकजना बुढी आमा रोर्इरहेको देखेँ । उनको सामु गएँ म । उनी फोनमा बोल्दै थिईन् । ‘छोरी हामी मर्ने बेला भयो, हाम्रो मुख हेर्न आउँदिनौ’ उनि छोरीसँग फोनमा रुँदै थिइन् । सँगसँगै बुढा भैसकेका बा पनि छोरी सँग आलोपालो गर्दै बोल्दै थिए । ‘हामी बुढाबुढीलार्इ हेर्न आउँँदैनौ त छोरी । मर्नेबेला भयो, घर पनि छैन अब त ।’ त्यती बोल्दासम्म दुवै जनाको आँखा आँशुले भरिए ।

म केही बोल्न सक्ने अवस्थामा थिईन, त्यतिबेला । हुन त पत्रकारको नाताले उनको बारेमा सोध्नुपर्ने हो मैले । तर पनि त्यो अवस्थामा उनीहरुलार्इ मैले केही प्रश्न सोध्ने आँट नै गर्न सकिन । मात्रै उनीहरुलार्इ हेरेर बसेँ ।

एकछिन पछि ति वृद्ध दम्पत्तिको पनि राहात लिने पालो आयो । राहात लिइरहँदा पनि आखाँका आँशु ओभाएका थिएनन् । उनिहरुलार्इ हेरिरहेँ । राहात लिएर घरतर्फ लागे दुवैजना । घरतर्फ पनि के भनौं, पालतर्फ गए । त्यही पाललार्इ पनि एकछिन हेरिरहे ।

राहात बाँडेर हामी फर्कियौं तर ति वृद्ध दम्पत्तिले फोनमा आफ्नी छोरीसँग गरेको संवाद मेरो कानमा गुन्जीरह्यो । मैले रेकर्ड पनि गरेको थिएँ, उनीहरुको आवाज। कहिलेकाहीँ त्यो रेकर्ड सुन्छु अनि सोच्छु छोराछारीहरु आफ्ना बाबुआमा प्रति यत्तिसम्म कठोर बन्न पनि सक्दा रैछन् ।

उनिहरु पनि त भोली बुढा हुन्छन्, भोली छोराछारीले उनिहरुलार्इ यस्तै व्यवहार गरे भने तिनिहरु के गर्लान् ?

Write a Comment