छैटौ सिटी रेबान फुड फेस्टिबल सुरु, तोकिएको निर्वाचन कुनै हालतमा रोकिदैँन ः कानुनमन्त्री थापा
18-September-2017


उमा आलेमगर
पोखरा, ०२ असोज


कानुन, न्याय संसदीय मामिला मन्त्री यज्ञबहादुर थापाले तोकिएको निर्वाचन कुनै हालतमा नरोकिने बताएका छन् । सोमबार देखि पोखरामा सुरु भएको छैटौं संस्करणको सिटी रेबान महोत्सव तथा फुड फेस्टिभलको उद्घाटन समारोहमा बोल्दै थापाले प्रदेशसभा र प्रतिनिधिसभालाई चाहिने कानुन आफुले निर्माण गरेर दिईसकेकाले तोकिएको निर्वाचन कुनै हालतमा नरोकिने दाबी गरे । उनले अब राष्ट्रिसभाको निर्वाचनको चर्चा हुनुपर्ने भन्दै राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनमा जुटेको जनाए । 

उनले सबैको प्रयत्नले पोखरा चाक्लिदैँ भएको बताए । पोखरा पर्यटनको राजधानी भएकोले यसको भविष्य उज्जवल रहेको बताउँदै थापाले अबको पर्यटन व्यवसायलाई सिमित एरियाका बाँधिएको ठाउँले थेग्न नसक्ने बताए । आफ्नो वर्गिय हकअधिकारको लागि सिटी रेवान स्थापित भएकोले सिटी रेवानले आफ्नो दायरा फराकिलो बनाउँदै लैजानुपर्ने थापाको सुझाव छ । व्यवसायको भविष्य पोखरामा उज्जवल रहेको जनाउँदै थापाले पोखराको पर्यटनको विकासको लागि जनप्रतिनिधिको हिसाबले आफुले सक्दो प्रयास गर्ने प्रतिपद्धता थापाले जनाए । त्यसको लागि एकदिन पोखरामै बसेर छलफल गर्ने समेत उनले बताए ।

कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी झलकराम सुवेदी, नेपाली काँग्रेस कास्कीका सभापति कृष्ण केसी, नेकपा एमाले कास्कीका सचिव दमोदर वैरागी, पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विश्वशंकर पालिखे, वस्तुगत संघका शिव वास्तोला, वरिष्ठ लोकगायक पुरुषोत्तम न्यौपाने उपभोक्ता मञ्चका अध्यक्ष कपीलनाथ कोइराला, पोखरा सिटी रेबानका सल्लाहकार समितिका संयोजक चिरञ्जिवी श्रेष्ठ लगायतले बोलेका थिए । 

पोखरा सिटी रेबानका कार्यवहाक अध्यक्ष दिपक तिमिल्सिनाको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत निवर्तमान अध्यक्ष केपी शर्मा पाठक र सञ्चालन महासचिव जीवन दाहालले गरेका थिए ।

यसैबिच सोमबार देखि पोखरामा छैटौं संस्करणको सिटी रेबान महोत्सव तथा फुड फेस्टिभल सुरु भएको छ ।  सोमबार बाट सुरु भएको महोत्सव असोज ११ गतेसम्म नयाँबजार स्थित प्रदर्शनी केन्द्रमा जारी रहने छ ।  महोत्सवमा लोक दोहोरी तर्फ प्रजापती पराजुली, पुरुषोत्तम न्योपाने, कोमल वली, बद्री पंगेनी र सुगम संगीत तर्फ हेमन्त शर्मा लगायतका कलाकारको प्रस्तुती रहने आयोजकले जनाएको छ । पोखराका स्थानीय ब्याण्डको लाइभ प्रस्तुती सँगै विभिन्न हास्य कलाकारको प्रस्तुती रहने छ । 

साथै राष्ट्रिय तथा स्थानीय लोकदोहोरी कलाकारको दैनिक प्रस्तुति, पप कन्सर्ट, हास्य कलाकारको प्रस्तुति, २५ देखि ४० वर्ष उमेर समूहका गृहिणी एकल नृत्य प्रतियोगिता, कृषि प्रदर्शनी र दसैंको अवसरमा च्यांग्राको बिक्री वितरण एवं प्रदर्शनी महोत्सवको आकर्षणका रुपमा रहनेछन् । महोत्सवमा व्यवसायिक प्रयोजनका ९५, रेस्टुरेन्टका १०, सामाजिक संघसंस्था र सुरक्षा तथा स्वास्थ्य सम्बन्धी २० गरी १ सय २५ स्टल रहेका छन् । पहिलोपटक महोत्सवमा भाले छोप्ने र ढिँडो खाने प्रतियोगिता समावेश गरिएको छ । 

करिब १० करोडको कारोबार हुने अपेक्षा गरिएको महोत्सवमा ४१ लाख ९५ हजार रुपैयाँ खर्च र ४८ लाख ४० हजार रुपैयाँ आम्दानी गर्ने अनुमान छ । बचत रकमबाट ५ प्रतिशत पर्यटन प्रवद्र्धनका लागि, ५ प्रतिशत दैवी प्रकोपका लागि र ५ प्रतिशत असहाय बालबालिकाका लागि खर्चिने आयोजकले जनाएका छन् । महोत्सवको प्रवेश शुल्क ७० रुपैयाँ राखिएको छ । विद्यार्थी, अशक्त, वृद्धवृद्धा, बालबालिकाका लागि परिचयपत्रको आधारमा छुटसहित ४५ रुपैयाँ कायम गरिएको छ । 

Write a Comment

Events
Random Picks