नेपाल मगर महिला संघको २० औँ स्थापना दिवस ; मगर समुदायको अस्तित्वको लागि सम्पूर्ण मगर एक हुनुपर्नेमा जोड
19-September-2017

उमा आलेमगर
पोखरा, ०४ असोज

मगर समुदायको अस्तित्व जोगाई राख्न सम्पूर्ण मगरहरु एक हुनुपर्नेमा एक कार्यक्रमका वक्ताहरुले जोड दिएका छन् । नेपाल मगर महिला संघको २० औँ स्थापना दिवसको अवसरमा मंगलबार पोखरामा आयोजित मगर महिला हस्तकला प्रदर्शनी तथा विविध साँस्कृति कार्यक्रममा बोल्दै वक्ताहरुले मगरको समुदायको पहिचानको लागि सम्पूर्ण मगर एक हुनुपर्ने आवश्यकता औँल्याएका हुन् ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा नेपाल मगर संघकी पश्चिमाञ्चल उपाध्यक्ष मन्दरी आलेले महिला घरमा मात्र सिमित नभएर समाज तथा देशको नेतृत् वगर्न सक्ने हुनुपर्नेमा जोड दिईन् । महिला बाहिरी विकास र राजनीतिक क्षेत्रमा आउनुपर्ने उनको भनाई थियो । उनले मगर समुदायले अरुको होईन्, आफ्नो संस्कृतिमा रमाउनु सक्नु पर्ने बताईन् । आफ्नो भेषभूषा र कला संस्कृतिको संरक्षण आफैले गर्नुपर्नेमा उनको जोड थियो । त्यसको लोगि नयाँ पुस्ताले त्यसको जिम्मा लिनुपर्ने उनले बताईन् ।

कार्यक्रममा नेपाल मगर संघ कास्कीका अध्यक्ष पूर्णबहादुर रानामगर, पत्रकार रुद्रश्रीस मगर, नेपाल आदिवासी जनजाति कास्कीका कोषाध्यक्ष बुद्धिमाया थापामगर, पुन समाजका केन्द्रिय अध्यक्ष हर्क पुन,  मौलिक कौडा संरक्षण समितिका केन्द्रिय उपाध्यक्ष तारामाया थापामगर, चलचित्र निर्देशक सन्तोष पिठाकोटी मगर, मगर संघ रामबजार इकाई समितिका अध्यक्ष ढालबहादुर सारुमगर, हिमाला आमा समुहका सचिव शिवमाया शेरबुजा पुनमगर लगायतले बोलेका थिए ।

सोही अवसरमा मगर महिलाहरुले निर्माण गरेका हस्तकलाका सामाग्रीहरु प्रदर्शन गरिएको थियो ।

नेपाल मगर महिला संघका अध्यक्ष फुलकुमारी थापामगरको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य वरिष्ठ उपाध्यक्ष नुनु रानाले राखेकि थिईन् ।