काठमाण्डौ–पोखरा भीआइपी पर्यटकीय बस सेवा शुरु
22-September-2017

जकसन डटकम

पोखरा, ०७ असोज

पोखरा–काठमाण्डौंका लागि अति विशिष्ट पर्यटकीय एसी डिलक्स बस सेवा सञ्चालनमा आएको छ । पृथ्वी राजमार्ग बस सञ्चालक समितिद्धारा सञ्चालित जगदम्बा प्रतिष्ठानले सुविधा सम्पन्न बस सेवा शुरु गरेको हो । पोखरा लेखनाथ महानगरपालिकाका प्रमूख मानबहादुर जिसीले एक कार्यक्रमवीच परेवा उडाएर शुक्रावर पोखरामा उक्त बस सेवाको उद्घाटन गर्नुभएको हो ।

पोखरादेखि काठमाण्डौको रुटमा भीआइपी मिनि बारसहितको उच्चस्तरिय एसी बस सेवा सञ्चालनमा ल्याएको पोखरा जगदम्बा प्रा.लि.का सञ्चालक केशवराज अधिकारीले जानकारी दिनुभयो र यसअघि, एशियामा उत्कृष्ठ बस सेवा प्रदान गर्दै आएको बताउँदै अधिकारीले यस पटक भने बिश्वकै उत्कृष्ठ बस सेवा सञ्चालनमा ल्याएको दावी गर्नुभएको छ ।   

बसको प्रत्येक सिटमा टिभि भएकाले यात्रुहरुले आफ्नो चाहना अनुसारको टेलिभिजन हेर्न पाउने सुविधा छ । बसमै ब्रेकफास्ट तथा लन्च सुविधा छ । बसको एकतर्फी भाँडादर २२ सय रुपैयाँ कायम गरिएको छ । जसमध्ये ६ सय ५० रुपैयाँ भाडा, बफेटसहितको खाना ५ सय ५० रुपैयाँ, काउज सिटको चार्ज दुईसय रुपैयाँ, मनोरञ्जन चार्ज दुईसय ५० रुपैयाँ, चिया कफी चक्लेटको दुई सय रुपैयाँ, खाजाको एकसय ५० रुपैयाँ, दुई बोटल मिनरल वाटरको ५० रुपैयाँ र रेस्टरुम चार्ज ५० रुपैयाँ कायम गरिएको छ ।

कार्यक्रममा वोल्दै प्रमूख अतिथि पोखरा लेखनाथ महानगरपालिकाका प्रमूख मानबहादुर जिसीले यातायातको क्षेत्रलाई व्यवस्थित बनाउनुपर्नेमा जोड दिनुभयो । प्रहरी नायव महानिरीक्षक पुष्पचन्द्र रञ्जितले यातायातको क्षेत्रमा नयाँ आयामहरु भित्रिएको वताउनुभयो । 

काठमाण्डौमा भने विकास समितिका अध्यक्ष रबिन्द्र अधिकारीले शनिबार बस सेवाको उद्घाटन गर्ने कार्यक्रम छ ।