कास्कीका एसपी सिंहले हवल्दार र प्रहरी जवान कुटे
10-October-2017


उमा आलेमगर
पोखरा, २४ असोज

कास्कीका प्रहरी प्रमुख एसपी अशोक सिंहले एक प्रहरी हवल्दार र २ प्रहरी जवानमाथि कुटपिट गरेका छन् । एसपी सिंहले लेकसाइडस्थित पामे प्रहरी चौकीमा खटिएका प्रहरी हवल्दार सुरेशराम महर तथा प्रहरी जवानद्वय अरविन्द तिवारी र लालबहादुर थापालाई शुक्रबार कुटेका हुन् । तिवारीको दाहिने हातको बुढी औंलामा चोट लागेको छ ।

एक पुरी थरकी महिलाका कारण प्रहरी हवल्दार तथा जवानहरुले कुटाइ खाएको बताइएको छ । घटनाको विवरण अनुसार चौकीका ईञ्चार्ज असई जिलबहादुर भण्डारी आमा विरामी भएर असोज २० गते शुक्रबार पर्वतस्थित घर गएका थिए ।

वडा प्रहरी कार्यालय वैदामका प्रमुख प्रहरी निरिक्षक वसन्त शर्मासँग विदा मागेर असई भण्डारी पर्वत गएपछि हवल्दार सुरेशराम महरलाई ईञ्चार्जको जिम्मेवारी दिइएको थियो । त्यही दिन बेलुका विदेशीसँग विवाह गरेकी पुरी थरकी एक महिला मादक पदार्थ सेवन गरी दाजु दीपक पुरीको घरमा तोडफोड गरेकी थिइन् ।

घटनापछि दीपकले उनलाई डोरीले बाँधेर प्रहरीलाई खबर गरे । लगत्तै गएको प्रहरीको टोलीले बाँधेकी महिलालाई फुकाई दिनुका साथै अभद्र ब्यबहार नगर्न भने । तर, दीपकले दिदीलाई एकरदुई झापड हानेर भएपनि सम्झाई दिन हवल्दार महरलाई आग्रह गरे । हवल्दार महरले महिलालाई कार्यालयमा ल्याएर एकरदुई झापड हाने ।

भोलिपल्ट आफूमाथि अभद्र व्यवहार भएको भन्दै महिलाले प्रहरीमा निवेदन दिइन् । लगतै एसपी सिंहले पामे प्रहरी चौकीमा कार्यरत सबै प्रहरीलाई जिप्रका बोलाएर कुटपिट गरेका हुन् । एसपी सिंहले काम गर्ने क्रममा गलत गरेकाले जिप्रका झिकाएको तर, नकुटेको बताएका छन् ।

घटनालगत्तै विदामा गएका असई जिलबहादुर भण्डारीलाई समेत पर्वतबाट झिकाएर जिल्ला प्रहरी कार्यालयमा हाजिर गराइएको छ । हाल असई भण्डारी, प्रहरी हवल्दार महर र प्रहरी जवानद्वय त्रिपाठी र थापा जिप्रकामै छन् । पामेमा भने जिप्रकाबाट असईको नेतृत्वमा नयाँ टिम पठाएको बुझिएको छ ।

Write a Comment