शुक गुरुङलाई गीतकार संघको सहयोग
12-October-2017


जकसन डटकम
पोखरा, २६ असोज

छेक्यो छेक्यो देउराली डाँडा हुस्सु र कुहिरोले, आँखैमा झलझली, दोष कसैलाई दिन चाहन्न जस्ता कालजयी गीतका गीतकार तथा संगीतकार शुक गुरुङको स्वास्थ्य उपचारका लागि गीतकार संघले आर्थिक सहयोग गरेको छ । 

गीतकार संघ नेपाल र साधना संगीत नै जीवन हो को सहकार्यमा आर्थिक संकलन गरी १ लाख ३६ हजार ६४५ रुपैयाँ गीतकार संघ नेपालका उपाध्यक्ष भरत बमजन, सचिव वसन्त वित्यासी थापाले संयुक्त रुपमा गुरुङको निवास पोखरा लेखनाथ महानगरपालिका डाँडाकोनाकमा पुगी उनलाई हस्तान्तरण गरेका हुन् । रकम हस्तान्तरणकै लागि गीतकार संघको टोली काठमाडौबाट पोखरा आएको थियो ।

रकम हस्तान्तरण क्रममा गीतकार संघका आजीवन सदस्य सुमन श्रापितले स्रष्टा अप्ठ्यारोमा पर्दा सहयोग गर्ने कार्य सह्राहनीय भएको बताए । शुक गुरुङले स्वास्थ्यको ख्याल गर्दै संघले गरेको सहयोगप्रति आभार प्रकट गरे । उनले आफ्नो जीवनको ठेगान नभएको पनि निरन्तर साधनामा लागेको र अझै ३ वटा गीत रेकर्डिङको क्रममा रहेको जानकारी दिए । 

कार्यक्रममा संघका उपाध्यक्ष बमजन, सचिव वित्यासीले गीतकार संघ स्रष्टाको हितमा लागिपरेको उल्लेख गर्दै सुखदुःखमा साथ दिने बताए । कार्यक्रममा पोखरेली गीतकार तथा पत्रकार सुरज उपाध्यायको समेत उपस्थिति थियो । ३ वर्षअघि मृगौला समस्याबाट पीडित ५६ वर्षे गुरुङको रोगका कारण दृष्टिसमेत गुमेको छ ।