यो वर्ष तीन जनाले आमाको नामबाट नागरिकता निकाले
25-October-2017


उमा आलेमगर
पोखरा, ०९ कात्र्तिक

पोखरा लेखनाथ वडा नं. ९ का सागर बस्नेतले आमा पूजा भण्डारीको नामबाट नागरिकता निकाले । उनलाई जिल्ला प्रशासन कार्यालय कास्कीले आमाको नामबाट नागरिकता दियो । उनकै सहोदर भाई सुमन बस्नेतले पनि आमा पूजा भण्डारीको नामबाट नागरिकता लिए । पोखरा लेखनाथ महानगरपालिका वडा नं. १६ कि प्रतिमा बस्नेतले आमा प्रेममाया बस्नेतको नामबाट नागरिकता निकालिन् । 

जिल्ला प्रशासन कार्यालय कास्कीबाट तीन जनाले आमाको नामबाट नागरिकता निकालेका छन् । २०७४ साल साउन १ गते देखि हालसम्म तीन जनाले आमाको नामबाट नागरिकता निकालेको जिल्ला प्रशासन कार्यालय कास्कीले जनाएको छ । सागर र सुमन वस्नेतका दाजु सन्तोष बस्नेतले यस भन्दा अगाडी नागरिकता लिइसकेका छन् । प्रतिमाको दिदीले यस भन्दा अगाडी नेपाली नागरिकता लिईसकेकी छिन् ।

सागर, सुमन र प्रतिमा त प्रतिनिधि पात्र मात्रै हुन् । आमाको नामबाट नागरिकता निकाल्न चाहनेले आमाको नामबाट नागरिकता निकाल्न सक्छन् तर बाबु वा वंशज नेपाली हुन् भन्ने तथ्य पुष्टि हुनु पर्ने सहायक प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले जानकारी दिए ।

जिल्ला प्रशासन कार्यालयबाट जारी हुने अधिकांश नागरिकता बाबुको नामबाट जारी भइरहेका छन् । छोराछोरीले आमाकै नामबाट नागरिकता पाउने व्यवस्था संविधानमै उल्लेख छ । तर संविधान अनुसार कानुन नआईसकेकाले त्यो कार्यान्वयन गराउन समय लागेको ढकालले बताए ।

तर सन्तानको बाबु वा वंशज नेपाली नै हुन् र उनीहरुको नेपाली नागरिकता छ भन्ने पुष्टि भएमा आमाको नामबाट पनि नागरिकता निकाल्न कुनै समस्या हुदैँन । कानुन नबनेता पनि आफुहरुले आमाको नामबाट पनि नागरिकता वितरण गरिरहेको ढकालले बताए । 

त्यस्तै आमाको नामबाट नागरिकता निकाल्ने धेरैले बाबुको पहिचान लुकाउन खोज्दा भने समस्या हुने गरेको जिल्ला प्रशासन कार्यालय कास्कीले जनाएको छ । जिल्ला प्रशासन कार्यालयका अनुसार आमाको नामबाट नागरिकता लिनेको संख्या निकै न्यून छ ।

Write a Comment

Events
Random Picks